सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भए पनि कार्यादेश नटुङ्गिँदा आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय २ बजेलाई सारिएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झन्डै तीन घण्टा लामो छलफलपछि सत्ता पक्ष र प्रतिपक्ष संसदीय छानबिन तयार भएका थिए । समितिको कार्यादेश के हुने भन्ने विषयमा एमाले नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वको कार्यादेश समितिले काम गरिरहेको बताइएको छ ।
कार्यदलमा रास्वपाका तर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्यका रूपमा रहेका छन् । कार्यादेश कति फराकिलो बनाउने रास्वपा सभापति रवि लामिछानेको नाम जोड्ने कि नजोड्ने भन्दै काम गरिरहेको कानुन मन्त्रालय स्रोतले बताएको छ ।
तर, समितिको क्षेत्राधिकार विषय पेचिलो बन्ने देखिएको छ । समितिको टिओआर (कार्यादेश) बनाउन बनेको कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक आज पनि अन्योलमा पर्ने देखिएको छ ।
कार्यादेश तयार नहुँदासम्म बैठक सञ्चालन नगर्न आग्रह
विपक्षी दलहरूले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद् बैठक सञ्चालन नगर्न सभामुखलाई आग्रह गरेका छन् ।
सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरू बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए । कार्यदलको बैठक कानुन मन्त्रालय सिंहदरबारमा बसेको छ ।
रवि लामिछानेलाई सुन्न तयार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् ।
आइतबार बिहान नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले संसद् बैठकमा गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । यद्यपि, समिति गठन नभएसम्म नियमित कामकाज अगाडि बढ्न नदिने निर्णय गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।