जनता समाजवादी नेपालका उपमहासचिव प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल जसपाबाट फुटेर बनेको जनता समाजवादी पार्टीका सांसद प्रदीपले सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर शपथ लिएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रदीप स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दबाबमा उपेन्द्रलाई स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन सन्देश पठाएका थिए । त्यसको २४ घण्टाभित्रै उपेन्द्रले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका छन् भने प्रदीप नयाँ स्वास्थ्यमन्त्री बनेका हुन् ।
शपथलगत्तै नवनियुक्त स्वास्थ्यमन्त्री यादवले सरकारी अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा पदबहाली गर्दै उनले ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका हुन् ।
उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, क्षयरोग केन्द्रलगायत संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार जनशक्ति थप गर्ने निर्णय गरेका छन् ।
राजनीतिको चपेटामा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव ६५ दिनपछि सरकारबाट बाहिरिए । उपप्रधानमन्त्रीसहितको बरीयतामा मन्त्रालयका गत फागुन २७ गते प्रवेश गरेका यादव ६५औँ दिनमा सोमबार सरकारबाट बाहिरिएका हुन् ।
मन्त्री यादवले मन्त्रालयमा जिम्मेवारी सम्हालेपछि जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर काम गर्ने बताएका थिए । उनी स्वास्थ्य मन्त्रालयमा दोस्रोपटक मन्त्री भएर आएका थिए । यसका साथै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्यको बजेट बढाउन पहल गर्ने बताएका थिए । तर, आगामी आर्थिक वर्षको बजेट नआउँदै उनी सरकारबाट बाहिरिएसँगै उनका योजना पनि विफल नै भए भन्दा अनुपयुक्त नहोला ।
यसरी हेर्दा स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्यमन्त्री आउने जाने क्रम चलि नै रहेको छ । अघिल्ला वर्षहरूमा झैँ राजनीतिक भागबन्डा र दाउपेचबाट स्वास्थ्य मन्त्रालय यसवर्ष पनि अछुत रहनै सकेन । राजनीतिक अस्थिरताको परिणामस्वरूप स्वास्थ्य मन्त्रालयमा आगन्तुक मन्त्रीका कारण स्वास्थ्य क्षेत्रमा खासै प्रगति नदेखिएको सरोकारवाला बताइरहेका छन् ।
सरकारैपिच्छे फेरिएका मन्त्रीका कारण रोगी बन्दै मन्त्रालय
देशमा राजनीतिक अस्थिरताले चरम रूप लिइरहँदा सरकारको कार्यसम्पादनले गति लिन सकेको छैन । दलहरूको स्वार्थकेन्द्रित भागबण्डाको राजनीतिको असरले आमजनताको दैनिक जीवनलाई नै अस्तव्यस्त बनाएको छ ।
अझ स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र राजनीतिक दलहरूको उपेक्षामा परेका कारण नागरिकले आधारभूत स्वास्थ्यसेवा पाउन पनि मुस्किल परेको छ । वर्षैपिच्छे सरकार, सरकारैपिच्छे फेरिएका मन्त्री र तिनले बनाउने नीतिका कारण स्वास्थ्यक्षेत्र स्वयं झन्–झन् रोगी बन्दै गएको जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन् ।
‘नीतिगत रूपमा स्वास्थ्यमा धेरै कुरालाई सम्बोधन गरिएको छ । तर, कार्यन्वयनको पाटो भने फितलो छ । नीतिगत कुरा सकारात्मक हुँदाहुँदै पनि व्यवस्थापन भने एकदमै फितलो छ,’ जनस्वास्थ्यविद् डा. वन्त भन्छन्, ‘आधारभूत स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा कसरी पुर्याउने त्यो अहिलेका स्वास्थ्यमन्त्रीसामु चुनौती रहेको छ । यसका साथै स्वास्थ्य बिमा कार्यक्रममा केही सैद्धान्तिक त्रुटि छन् । ती त्रुटि भनेको स्वास्थ्य बिमा कार्यक्रम लोक कल्याणकारी हुन नसक्नु हो । स्वास्थ्यमन्त्रीले यसबारेमा पनि गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।’
उनका अनुसार सरकारले सामाजिक सुरक्षाका रूपमा स्वास्थ्य बिमालाई अगाडि सारे पनि त्यसको कार्यान्वयनको पाटो फितलो छ । स्वास्थ्य बिमामा धेरै बेथिति भयो । जनताले आधारभूत स्वास्थ्य सेवा त निःशुल्क पाउँछन् भनेर संविधानले नै भनेको छ । स्वास्थ्य बिमाबाट प्राप्त गर्ने सकिने सेवा त्यही आधारभूत तहको उपचारभन्दा फरक नभएको उनले जानकारी दिए ।
डा. वन्तका अनुसार हामीसँग स्रोतको कमीका कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको होइन । हामीसँग भएको स्रोत, साधनको सही ठाउँमा सही तरिकाले प्रयोग गर्न नजान्दा स्वास्थ्य क्षेत्रमा समस्या थपिएको हो । प्रभावकारी ढंगबाट हामीसँग भएका स्रोतको उपयोग गर्न नसक्दा आमनागरिकले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ ।
यस्तै ‘पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निजी क्षेत्र हावी भइरहेको छ । सरकारी स्वास्थ्य संस्था व्यवस्थित गर्न नसकेको अवस्थामा निजी क्षेत्र हावी हुँदा गरिब जनता मारमा परिरहेका छन्,’ डा. वन्त भन्छन्, ‘अहिलेको सरकारले निजी क्षेत्रलाई व्यवस्थापन गर्नुपर्छ । अहिलेको मन्त्रीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने एउटा यो पाटो हो । यस्तै चिकित्सा शिक्षा अध्ययन, अध्यापनबारे पनि सोच्नुपर्ने बेला भएको छ ।’
नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भए पनि स्वास्थ्य मन्त्रालय र यसअन्तर्गत निकायमा ठाडो राजनीतिक हस्तक्षेप हुँदै आइरहेको कुरा कसैसामु लुकेको छैन । सरकार फेरिएसँगै बिमा बोर्ड, अस्पताल र विभागहरूमा आफ्नो मान्छे ल्याउने प्रतिस्पर्धा नै चल्छ । अहिलेका स्वास्थ्यमन्त्रीले पनि फेरि यस्तै गल्ती दोहोर्याए स्वास्थ्य क्षेत्रको सुधार कागजमा मात्रै सीमित हुने स्वास्थ्य सेवा विभागका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीको भनाइ छ ।
उनी भन्छन्, ‘अहिलेको सरकार, स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यमन्त्रीले गम्भीर, इमानदार र बफादार भएर स्वास्थ्य क्षेत्रमा भएका, देखिएका विभिन्न चुनौतीलाई समाधान गरेर अगाडि बढ्ने बेला आएको छ ।’
उनको भनाइअनुसार कोभिडका बेलामा देशमा भित्रिएका थुप्रै उपकरणलाई स्टोरमा नथन्क्याएर आवश्यक परेका स्थानमा पुर्याई सेवा सञ्चालन गर्नुपर्छ । कति स्थानमा उपकरण नै नभएर सेवा रोकिएका छन् । कति स्थानमा भने उपकरण भए पनि जनशक्ति नभएर सञ्चालन गर्ने अवस्था छैन । स्वास्थ्यमन्त्री यादवले कहाँ के समस्या छ, त्यसलाई पत्ता लगाएर व्यवस्थापन गरेर अगाडि बढ्नुपर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।