अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको छ । यसअघि पनि आयोगले पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो ।
आयोगले पौडेलविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६ सय ८४ बराबर रुपैयाँको बिगो दाबी गरिएको छ । गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ ।
पौडेलले सिङ्गापुरस्थित युनाइटेड ओभरसिज बैंक र संयुक्त राज्य अमेरिकास्थित बैंक अफ अमेरिकामा २८ करोड ९५ लाख ७५ हजार ६ सय ८९ रुपैयाँ बराबरको रकम जम्मा गरेको पाइएको छ ।
यस्तै, विभिन्न सामान आपूर्तिकर्तासँग कसिमन लिई विदेशी बैंकमा रकम जम्मा गरेको समेत आयोगको अध्ययनमा खुलेको छ । ६२ करोड १९ लाख १८ हजार छ सय ८४ बराबरको रकमको कुनै पनि स्रोत नखुलेको पाइएकाले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको जनाएको छ ।
त्यस्तै, पौडेलकी श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल, आमा शीतल पौडेलको नामा समेत नगद जिन्सी, सवारीसाधन, घरजग्गा खरिद गर राखेको पाइएकाले उनीहरूलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।
आयोगले मिहिन अध्ययन गरी बिगोबमोजिम कारबाहीको माग र कैद सजायको समेत माग गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।