logo-img

इनर्जी ड्रिंक : मुखलाई काइदा, स्वास्थ्यलाई बेफाइदा

घटना–१ : करिब ४ वर्षअघि बेलायतका २१ वर्षीय युवकको उपचारपछि डाक्टर ले खुलासा गरे– ‘शरीरलाई राम्रो हुन्छ भन्दै पिएको इनर्जी ड्रिंकले उल्टै मुटुमा गम्भीर असर पुर्‍याउन सक्छ ।’  

बेलायतको प्रतिष्ठित पत्रिका बिएमजेको केस रिपोर्टअनुसार ती युवकले दुई वर्षदेखि नियमित दुई लिटर इनर्जी ड्रिंक पिउँथे । त्यसको अत्यधिक प्रयोगकै कारण उनले मुटुसम्बन्धी जटिल समस्याको सामना गर्नुपर्‍यो । उनी चार महिना बिरामी भए । पछि उनमा साससम्बन्धी समस्या बढ्यो । यस्तै, उनको तौल घट्दै गयो । अन्ततः युवक अस्पताल भर्ना भए । 

रगत जाँच, स्क्यान,इसिजीपछि थाहा भयो– उनको मुटु र किड्नी दुवै फेल हुने चरणमा रहेछ । बिएमजे केस रिपोर्टमा डाक्टरले बताएअनुसार इनर्जी ड्रिंकबाट पैदा हुने कार्डियोटोक्सिसिटी नै ती युवकको मुटु फेल हुनुको मुख्य कारण थियो । उनलाई अरू कुनै रोग पनि थिएन । तर, पेय पदार्थको अत्यधिक सेवनले उनको ज्यान नै गयो ।  

घटना–२ : मेडिकल न्युज टुडेको एउटा रिपोर्टअनुसार सन् २००० मा चार क्यान रेडबुल पिएर बास्केटबल खेल्न छिरेका आयरल्याण्डका १८ वर्षीय खेलाडी रस कुनेको केही घण्टामै मृत्यु भयो । मृत्युअघि उनी स्वस्थ देखिन्थे ।  

घटनापछि आयरल्याण्डसँगै फ्रान्सले पनि रेडबुलमा प्रतिबन्ध लगायो । एक क्यान रेडबुलमा ८० मिलिग्रामसम्म क्याफिन हुन्छ । जुन एक कप कफी बराबर हो । त्यसमाथि यसमा चिनी पनि हुन्छ । फ्रेन्च साइन्टिफिक कमिटीले रेडबुलमा अत्यधिक क्याफिन भएको निष्कर्ष निकालेको थियो । नर्वे र डेनमार्कले पनि केही वर्ष रेडबुलमा प्रतिबन्ध लगाए । 

विषाक्तताबारे जाँच गर्ने बेलायतको कमिटीले सन् २००१ मा रेडबुलबारे अनुसन्धान गर्‍यो । गर्भवतीले रेडबुल पिउन नहुने चेतावनी उक्त कमिटीले दिएको थियो । किनकी धेरै क्याफिन लिँदा गर्भपतनको जोखिम उच्च हुन्छ । क्याफिनको बढी सेवन गर्दा बच्चा जन्माउन गाह्रो हुने र कम तौलको बच्चा जन्मिने खतरा रहेको विशेषज्ञ औंल्याए ।



सन् २००९ मा बेलायतका कतिपय स्कुल नजिकका स्थानीय पसललाई आग्रह गरिएको थियो– ‘विद्यार्थीलाई इनर्जी ड्रिंक नबेच्नू ।’ यसो गरिनुको पछाडि विद्यार्थीको ध्यान केन्द्रित गर्ने क्षमतामा इनर्जी ड्रिंकले विचलन ल्याउने तर्क थियो । कतिपय पसलमा त ‘इनर्जी ड्रिंक नमाग्नुहोला’ भनी लेखिएका पोस्टरसमेत टाँसिए । 

बेलायतमा अहिले पनि केही स्कुलले विद्यार्थीलाई इनर्जी ड्रिंक पिउन रोक नै लगाएका छन् । पुरुषमा बाझोपन आउने भन्दै फिलिपिन्सले पनि कतिपय इनर्जी ड्रिंकको बिक्रीमा प्रतिबन्ध लगाएको थियो । यस्तै, अमेरिकाको वासिङ्टन तथा मिचिगन राज्यले १० नोभेम्बर २०१० मा क्याफिन तथा अल्कोहल भएका इनर्जी ड्रिंक बेच्न प्रतिबन्ध नै लगाएका थिए । पछि न्युयोर्क र ओकलोहामामा पनि आयात तथा बिक्रीमा प्रतिबन्ध लगाइयो । 



कलेजका विद्यार्थी यस्ता इनर्जी ड्रिंक पिएपछि बिरामी भएका तथा दुर्घटना भई अस्पताल भर्ना हुनु परेका घटना बढेकाले रोक लगाउनु परेको अधिकारीहरूको तर्क थियो । नेपालमा पनि इनर्जी ड्रिंक पिउने जमात ठूलो छ ।

रक्सी पिइरहेको कोही साथीलाई साथ दिनुपर्दा रक्सी नपिउनेको रोजाइमा अक्सर इनर्जी ड्रिंक पर्छ । फुटबल, क्रिकेटलगायत खेल खेल्नुअघि वा खेलेर थाकेका बेला प्रायः खेलाडी इनर्जी ड्रिंक नै बढी पिउँछन् ।

रक्सीको लाभदायक विकल्प मानेर होस् वा शारीरिक तागत बढाउने प्रयासमा युवाले इनर्जी ड्रिंक लिने गरेका छन् । 

के भन्छन् विज्ञ ?

आममानिसले इनर्जी ड्रिंकलाई लाभदायक पेय मानेर निर्धक्क पिइरहेका देख्न सकिन्छ । तर, यसको सिधा असर मुटुसँग जोडिएको कुराप्रति थोरैलाई मात्र थाहा हुन सक्छ । विशेषज्ञका अनुसार इनर्जी ड्रिंक मुख्यतः क्याफिन, चिनी र अन्य केही वस्तु मिसाएर तयार गरिएको हुन्छ । 

यी पेयमा प्रशस्त चिनी राखिएको हुन्छ, त्यसमाथि कृत्रिम रङ, घोलंक तत्व, फिज ल्याउने, अम्लियपना कायम राख्ने, रङ उड्न नदिने तत्व पनि हुन्छन् । क्याफिन, भिटामिन बी, इनिसिटोल, पानी, चिनी, गोअरन, जिङ्क, एकाइबेरी बिलोवाजस्ता मिश्रणबाट इनर्जी ड्रिंक बनाइएको हुन्छ । 

क्याफिन र चिनीको मात्रा बढी हुने यस्तो पेयको रेसिपी कम्पनी अनुसार फरक पर्छ । रेड बुल, रेड इगल, म्याक्स टाइगर, एक्स्ट्रिम इनर्जी ड्रिंक, बज र स्टिंग लगायतका इनर्जी ड्रिंक नेपाली बजारमा पाइन्छ ।

विज्ञका अनुसार, एक लिटरको पेयमा एक सय २५ मिलीग्रामभन्दा बढी क्याफिन राख्न हुँदैन । तर, कथित शक्तिवर्द्धक झोलमा क्याफिनको मात्रा तीन गुणा बढी पाइएको छ । कुनै–कुनै इनर्जी ड्रिंकमा अल्कोहलको मात्रा पनि मिसाइएको हुन्छ । उत्पादक कम्पनीले यसमा मानिसलाई थप शक्ति दिने विशेष तत्व हुने दाबी गरिरहेका छन् । तर, यसको गुणस्तर नियन्त्रणसम्बन्धी चासो राख्ने विकसित देशका संस्थाले यसलाई मान्यता दिएका छैनन् । 

अमेरिकाको खाद्य तथा औषधि प्रशासन र कृषि विभागले इनर्जी डिंकमा थप इनर्जी हुन्छ भन्ने उत्पादक कम्पनीको दाबीलाई इन्कार गरेको छ । जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती यस्ता पेयमा प्रशस्त चिनी हुने भएकाले यसमा कुनै इनर्जी हुँदै नहुने बताउँछिन् । 

उनका अनुसार उत्पादकले दाबी गरेजस्तो विशेष शक्ति पनि हुँदैन । हल्का थाकेको बेला र मानसिक थकान भएका बेला यस्तो पेय पदार्थ पिउँदा केही क्षण परिवर्तनको महसुस हुन्छ ।

‘कुनै–कुनै इनर्जी ड्रिंकमा अल्कोहलको समेत मिश्रण हुन्छ । त्यसैले त यस्ता इनर्जी ड्रिंक पिएर सवारी साधन चलाउनेहरू मापसे कारबाहीमा पर्ने गरेका छन्,’ पोषणविद् उप्रेती भन्छन्, ‘कुनै इनर्जी ड्रिंकमा क्याफिन बढी हुने भएकाले कडा हुन्छ । तपाईंले कति याद गर्नुभएको छ, केही  इनर्जी ड्रिंकहरूमा फलफूलको बास्ना आउँछ । तर, त्यसमा फलफूलको रस भने मिसाइएको हुँदैन । फलफूलको बास्नाकै कारण यस्ता इनर्जी ड्रिंक युवामाझ प्रिय छन् ।’

कति मात्राको इनर्जी ड्रिंकको सेवन गर्नु स्वास्थ्यको लागि लाभदायक भन्ने कतै पनि समेटिएको छैन । त्यसैले यसले स्वास्थ्यमा हानि मात्र गर्ने भएकाले नपिउनु नै उत्तम हुने डा. उप्रेती बताउँछिन् ।

  • प्रकाशित मिति : जेठ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया