किव– युक्रेनी राष्ट्रपति पेत्रो पोरोसेन्को एक स्टेडियममा खाली पोडियमछेउ उभिएर आफ्नो सरकारका उपलब्धिको फेहरिस्त सुनाइरहेका थिए । छेवैको पोडियमतर्फ फर्केर तर्क–वितर्क गर्दै थिए, एक ‘काल्पनिक’ प्रतिस्पर्धीसँग । समय थियो विपक्षी उम्मेदवारसँगको बहसको । तर, कार्यक्रममा भने राष्ट्रपति पोरोसेन्को एक्ला बहसकर्ता थिए ।
यसपटक चुनावमा उनका प्रतिद्वन्द्वीका रुपमा हास्यकलाकार बोलोदिमिर जेलेन्स्की भिड्दै छन् । रिपोर्टअनुसार, पोरोसेन्को देखाउन चाहन्थे कि एक हास्यकलाकार उनको टक्करमा छैनन् । यसैले उनले जनतालाई ‘काल्पनिक उम्मेदवार’लाई नचुन्न आग्रह गर्दै खाली पोडियमसँग डिबेट गरेका हुन् ।
४१ वर्षे हास्यकलाकार जेलेन्स्की यसअघि कुनै पनि सरकारी पदमा रहेका छैनन् । तर, चुनाव लड्ने घोषणा गरेदेखि नै उनको पक्षमा राम्रो माहोल छ । प्री–पोल सर्भेहरुले त उनको स्पष्ट जितको संकेत गरिसकेका छन् । सर्भेहरुमा उनलाई राष्ट्रपति पोरोसेन्कोलाई भन्दा निकै बढी भोट मिल्ने देखाएका छन् ।
गत महिना भएको पहिलो चरणको चुनावमा जेलेन्स्कीले पोरोसेन्कोले भन्दा दोब्बर मत पाएका थिए ।
युक्रेनमा बढ्दो भ्रष्टाचार र गरिबीका साथै रुस समर्थित पृथकतावादीहरुसँगको लडाइँमा सरकारको सुस्तताका कारण यहाँका जनता मूलधारका राजनीतिक शक्तिसँग निकै रुष्ट छन् ।
राजधानी किवको स्टेडियममा जनतालाई सम्बोधन गर्दै राष्ट्रपति पोरोसेन्कोले एक काल्पनिक उम्मेदवारलाई चुन्न नहुने बताए । जेलेन्स्कीको अनुपस्थितिमै उनले जेलेन्स्कीमाथि अनुभवहीनताका लागि कटाक्ष गरे । राष्ट्रपति पोरोसेन्को खाली पोडियमतर्फ फर्केर सबाल–जबाफ गरिरहेका थिए ।
उनले आरोप लगाए कि एक कोमेडियन चुनावका दौरान पनि सिधै जनतासँग कुराकानी गर्नुको साटो सामाजिक सञ्जालमा ज्यादा निर्भर छ ।
कलाकार जेलेन्सकी आफूले अभिनय गरेको टिभी सोमा जस्तै एकाएक राष्ट्रपति बन्ने लाइनमा छन् । निकै चर्चित टिभी सो ‘सर्भेन्ट अफ दी पिपुल’मा जेलेन्स्कीले एक इमानदार इतिहास शिक्षकको भूमिका निभाएका थिए, जहाँ उनले भ्रष्टाचारको विरुद्धमा दिएको भाषण भाइरल हुन्छ, र उनी एकाएक राष्ट्रपति बन्छन् ।
यो काल्पनिक कथा युक्रेनमा सत्य सावित हुँदै छ, र वास्तविक कहानीका नायक बन्दै छन्, उही काल्पनिक कथाका अभिनेता जेलेन्स्की ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।