इन्डियन प्रिमियर लिग आइपीएलको यो सिजनको उपाधि भिडन्त सनराइजर्स हैदरावाद र कोलकाता नाइटराइडर्सबीच हुने भएको छ । कोलकाता पहिलो क्वालीफायरमा जित निकाल्दै फाइनलमा पुग्दा हैदरावादले दोस्रो क्वालीफायरमा राजस्थान रोयल्समाथि ३६ रनको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।
शुक्रबार राती भएको खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा राजस्थानको टोलीले पूरा ओभर खेलेर ९ विकेट गुमाएर १३९ रनमा रोकिन पुग्यो ।
राजस्थान रोयल्सले टस जितेर सनराइजर्स हैदरावादलाई पहिले ब्याटिङ गर्ने मौका दिएको थियो । पावर प्लेमा धेरै रन बनाउने टोली राजस्थानले शुक्रबार पावरप्लेमा नै अभिषेक शर्मा (१२), राहुल त्रिपाठी (३७) र एडेन मार्कराम (१) को विकेट गुमाएको थियो । ट्रेन्ट बोल्टले सबैलाई आफ्नो शिकार बनाएका थिए । त्यहाँबाट ट्राभिस हेड (३४) र हेनरिक क्लासेन (५०) ले स्कोर ९९ मा पुर्याए । १०औँ ओभरमा हेड आउट हुनेबित्तिकै लगातार थप दुई विकेट खसेपछि स्कोर ६–१२० पुगेको थियो ।
क्लासेनले शाहबाज अहमदसँग साझेदारीमा स्कोरलाई १५० भन्दा माथि पुर्याए र आफ्नो अर्धशतक पूरा गरे । उनको विकेट १९ औँ ओभरमा खसेको थियो । त्यस्तै अन्तिम ओभरमा शाहबाज १८ रन बनाएर आउट भए । जयदेव उनाडकटले ५ रन बनाए । योसँगै प्याट कमिन्स पनि अविजित ५ रन जोडे । राजस्थान रोयल्सका लागि बोल्ट र सन्दीप शर्माले सर्वाधिक ३–३ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सलाई चौथो ओभरमा पहिलो झट्का लागेको थियो । टम कोहलर क्याडमोर १० रन बनाएर प्याट कमिन्सको शिकार बने । यशस्वी जैसवालले केही उत्कृष्ट शट खेले तर २१ बलमा ४२ रन बनाएपछि उनी पनि आठौं ओभरमा ६५ रनको स्कोरमा आउट भए । राजस्थानको यहाँबाट विकेट पतन सुरु भयो र केही समयमै स्कोर ९२÷६ बन्यो । यस क्रममा कप्तान सञ्जु सामसन (१०) रियान पराग (६) र रविचन्द्रन अश्विन (०) रन बनाएर आउट भए ।
प्रभावशाली खेलाडी सिमरोन हेटमायरले मात्र ४ रन बनाउन सके । झर्दै गएको विकेटको बीचमा ध्रुव जुरेलले एक छेउबाट जिम्मेवारी सम्हाल्दै आक्रामक ब्याटिङ गरे । तर, यो अवधिमा राजस्थानलाई १८ औँ ओभरमा रोभम्यान पावेल (६) को रूपले अर्को ठूलो झटका लागेको थियो । तर, जुरेलले आफ्नो अर्धशतक पूरा गर्न सफल भए ।
खेल अन्तिम ओभरमा पुग्दा आरआरलाई ६ बलमा ४२ रन चाहिएको थियो । तर ५ रन मात्रै आयो र राजस्थानले खेल हार्न पुग्यो । जुरेलले ३५ बलमा अविजित ५६ रन बनाए ।सनराइजर्स हैदरावादका लागि शाहबाज अहमदले सर्वाधिक तीन तथा अभिषेक शर्माले दुई विकेट लिए ।कप्तान कमिन्सले पनि एक विकेट आफ्नो नाम गराए । फाइनल खेल अब आइतबार चेन्नाइमा हुने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।