logo-img

चित्रबहादुर केसी भन्छन्- ‘सबैले गणतन्त्र फलाउन, फुलाउन र जोगाउन नलागेमा खतरा छ’
फाइल फाेटाे

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै लोकतन्त्रवादी पक्षको सामूहिक जिम्मेवारी रहेको बताएका छन् । 

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धि रहेको बताउँदै गणतन्त्र र लोकतन्त्र नहुँदो हो त समाज र सत्ताबारे यति धेरै कुरा जनतालाई थाहा नहुन सक्थ्यो भने । 

विसं २०१४ मा नेकपाको सदस्यता ग्रहण गरी २०२१ मा बागलुङमा पार्टी गठन गरेका नेता केसी नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य भए । राजनीतिक यात्राका क्रममा २०२८ मा नौ महिना कारागार जीवन बिताएका अध्यक्ष केसी लामो समयसम्म अध्यापनमा पनि संलग्न थिए । विसं २०४० मा दलको महामन्त्री भएका उनी पाँचौँ महाधिवेशनबाट पोलिटब्युरो सदस्य भए ।

नेता केसी २०५६, २०६४, २०७० र २०७९ सालमा बागलुङबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भए । राजमो गठनपछि हालसम्म निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका केसी विसं २०७२/७३ मा करिब १० महिना उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारणमन्त्री थिए । 

मुलुकको राष्ट्रिय राजनीतिमा निष्ठावान् र स्पष्ट वक्ताको परिचय बनाएका केसी हाल प्रतिनिधिसभा, राज्य व्यवस्था समितिका सदस्यसमेत छन् । प्रस्तुत छ, केसीसँग १७औँ गणतन्त्र दिवस–२०८१ का सन्दर्भमा राष्ट्रिय गरिएको कुराकानी :

 मुलुकमा गणतन्त्र स्थापना भएको डेढ दशकको यस अवधिलाई उपलब्धिका हिसाबले तपाईंले कसरी लिनुभएको छ ?



नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त यो गणतन्त्र नै हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धि हो । गणतन्त्र पक्षधरले लोकतन्त्रको स्थापनापछि आर्थिक, सांंस्कृतिक र सामाजिक क्षेत्रसँग यसका उपलब्धिलाई जोडेर जानुपर्नेमा नभएकाले विरोधीले गणतन्त्रको औचित्यमाथि प्रश्न गर्दै आक्रमण गरिरहेका छन् । सयौँ वर्षदेखि लडेर, जेलनेल खाएर ल्याएको गणतन्त्र कसरी नराम्रो हुन सक्छ ? गणतन्त्र प्राप्तिपछि आर्थिक र कृषि क्रान्तिसँगै औद्योगिकीकरणमा मुलुकलाई लैजानुपथ्र्यो, त्यो गर्न सकेनौँ । 

मैले बारम्बार भन्दैआएको छु कि गणतन्त्रलाई खतरा अरूबाट नभई परिवर्तनकारीबाटै भयो भनेर । गणतन्त्रमा राष्ट्र र जनतालाई जे–जति सेवा, सुविधा, विकास र परिवर्तन दिन सकिन्थ्यो, त्यो भएन । नहुनाको कारण गणतन्त्रको दोष होइन, यसलाई हाँक्नेको कमजोरी हो । गणतान्त्रिक व्यवस्थालाई विशुद्ध गुटगत स्वार्थ र व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्ने माध्यमका रूपमा प्रयोग गरियो । त्यसले लोकतन्त्रमाथि खतरा निम्त्यायो । यद्यपि, गणतन्त्रको स्थापनापछि जनतामा ठूलो जागरण र चेतना आएको छ । लोकतन्त्र हुँदैनथ्यो भने सत्ताधारीका कमजोरीका कुरा जनतालाई थाहा हुन्थेन । त्यसकारण पनि गणतन्त्रको ठूलो महत्त्व छ । यसलाई जोगाउन सबै लोकतान्त्रिक शक्तिको साझा जिम्मेवारी हुनुपर्छ ।



जनआन्दोलनको उपलब्धिका रूपमा निर्माण भएको संविधान, लोकतन्त्र र गणतन्त्रको सुदृढीकरणका लागि अब कसरी अघि बढ्न उपयुक्त होला जस्तो लाग्छ यहाँलाई ?

अहिले एकातिर लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भएको छ भने अर्कातिर जनतामा वितृष्णा छ । गणतन्त्र ल्याएका साथीहरूले आफैँले महसुस गरी कमसेकम आफू प्रजातान्त्रिक सीमाभित्र रहेर यसलाई बचाउनुपर्छ । विशुद्ध सत्ता र शक्तिका लागि मात्रै केन्द्रमा राखेर गुटबन्दी र दलबदल गर्ने कार्य गर्नुभएन । आज एउटा दलमा छ, भोलि अर्कामा छ, आज एउटा गठबन्धनमा छ, भोलि अर्कामा जाँदा दुनियाले के भन्लान् भन्ने चेत राजनीतिकर्मीमा हुनुपर्छ । 

गणतन्त्रको डेढ दशकका अभ्यासमा तपाईँ सत्तामा पनि सहभागी हुनुभयो, वास्तवमा जनअपेक्षा र सरकारको काम गराइबीच कत्तिको तालमेल पाउनुभयो ?

सत्तामा जाने भनेको राष्ट्र र जनतालाई केन्द्रमा राखेर नीति बनाउने र त्यसको व्यवहारिक कार्यान्वयन गर्ने हो भन्ने मेरो बुझाइ र सिद्धान्त हो । राजनीतिक व्यक्ति सत्ता र शक्तिकै लागि मात्र हुने हो भने लोकतन्त्र र गणतन्त्र किन चाहियो ? निरङ्कुश व्यवस्थामा पनि सबै खाले सत्ताधारी रसास्वादन गरी सधैँ हराभरा नै थिए । राजनीति भनेको निष्ठा र आदर्शमा रहनुपर्छ भन्ने लाग्थ्यो, सत्तामा गएपछि मैले त्यो अनुभव गर्न पाइन । अधिकांश सबै राजनेता र राजनीतिकर्मीमा राज्यसत्तामा हालिमुहाली गर्ने प्रवृत्तिको विकास भएको पाएँ । मलाई त्यहाँ अप्ठेरो लाग्यो । 

मलाई सहकारीमन्त्री बनाइयो । त्यस विषयमा मलाई जानकारी नै थिएन । अर्कातिर सहकारीबाट ठगिएका छौँ, हाम्रो बचत हिनामिना भएको छ, चित्रबहादुर मन्त्री भएको छ, हाम्रो रकम अब डुब्ने भएन, तुरुन्तै उठाइदिन्छ भनेर नियुक्त भएदेखि नै धेरैले भन्न थाले । मन्त्रालयमा पीडितको ओइरो लाग्यो । त्यस बेलादेखि नै सहकारीको रकम हिनामिना गर्नमा उपल्लो तहका व्यक्तिको हात रहेछ भन्ने कुरा मलाई थाहा भयो ।

तपार्इँले कुनै बेला जिम्मेवारी सम्हालेको मन्त्रालय मातहतकै विषयमा अहिले सडकदेखि सदनसम्म सहकारीकै विषय कुरा सुन्नुपर्दा कस्तो अनुभूति भएको छ ?

मलाई अहिले अत्यन्तै दुःख र चिन्ता लागेको छ । राजनीति गर्दा जनतालाई आदर्श र सिद्धान्तका कुरासँगै नैतिकताको पाठ पढाइयो, त्यो अहिले कृत्रिम रहेछ भन्ने जस्तो भान भएको छ । अहिले सहकारीमा बदनाम भएका व्यक्तिलाई जोगाउने प्रयास देख्दा आश्चर्य लागेको छ । अधिकांश उपल्लो तहका कर्मचारी, मन्त्री र सांसदलगायतको सहकारीमा रजाइँ रहेछ भन्ने थाहा पाएपछि उनीहरूसँग सम्बन्ध बिगँ्रदै गयो । अरूले त्यसलाई आँखा चिम्लने चलन रहेछ ।

विसं २०४८ को सहकारी ऐनलाई संशोधन नगरी विचलन अन्त्य गर्न सकिन्न भन्ने भएपछि म ऐन संशोधन गर्न लागेँ । तर कतिपयले कालो धनलाई सेतो बनाउन पनि सहकारीमा जम्मा गर्ने चलन छ । जम्मा गरेका रकम सहकारीको सिद्धान्त र नीतिभन्दा पनि टाठाबाठाले चर्को ब्याजको लोभलालचा देखाएर दुनियाँका पैसा अपचलन गर्ने प्रवृत्ति छ । सहकारीको क्षेत्र, नीति र विधि विपरीत यावत् कुरा छाडेर कारोबार हुने गरेकाले ऐन बनाउनै दिइएन । ऐन संशोधन गर्न विज्ञ कर्मचारी छनोट गरी जिम्मेवारी दिएकामा उनको नै सरुवा गरियो । नेपालमा राजनीति कमाउन र कमाउन प्रयोग गरेको बाटो ढाकछोप गर्न प्रयोग भएको छ । 

सहकारी आफैँमा समाजवादको अभिन्न अङ्ग र जग हो । देशको तीनखम्बे अर्थनीतिको एउटा खम्बाका रूपमा सहकारी छ । एउटा अङ्गलाई अहिले क्षत्विक्षत पारिएको छ । दिनभर सुनेको सहकारी हिनामिनाको विषयको दृश्यले रातभर निद्रै पर्न छाडेको छ । प्रतिपक्षकै पङ्क्तिमा रहेकाले हामीले छानबिन समिति बनाउन गरेको मागलाई बेवास्ता गरिएको छ । अहिले नेपालका राजनीतिक दल पुरेत र गाईजस्ता भएकाले को, कहाँ, कतिखेर मिसिने र प्रयोग हुने हो, टुङ्गो छैन, निष्ठा र आदर्श हराएको छ ।

 कतिपय एक वर्षभित्र बनाइसक्नुपर्ने कानुन १७ वर्षसम्म पनि बनेनन्, यसका कारणमा विधायकको कार्यसम्पादन कमजोर भयो भन्ने आरोप छ नि ?

हो, यो एकदम ठीक भनाइ हो । ‘म लागेँ रमितामा, लौरी हरायो’ भन्ने उखानजस्तै भएको छ । सहकारीका मुद्दामा अहिले संसद् चलाउनुपर्छ र खोल्नुपर्छ भन्ने होडबाजी चलेको छ । विधेयक ल्याउने, छलफल गर्ने र पारित गर्ने मुख्य जिम्मेवारी कहाँ पुगेको छ, कसैलाई अत्तोपत्तो छैन । यो अवस्थाको अन्त्य हुनुपर्छ । कानुन निर्माणकै लागि हामी चुनिएर आएका हौँ । अर्कातिर आवश्यकता र औचित्यका आधारमा सन्तुलित रूपमा बजेट विनियोजन नहुँदा मन्त्रालयमा गएर ‘लौ मलाई योजना पार्दिन पर्यो’ भनी कर्मचारीका अगाडि कपाल कन्याउने अवस्था बन्यो । 

विधेयक पारित गर्नुपर्ने मूल जिम्मेवारीमा रहेका सांसद मन्त्रालय धाउन थालेपछि कोरम (सङ्ख्या) नपुगेर कतिपय अवस्थामा हाउस (सदन) समेत बन्द हुन पुग्यो । यी सबै कुरा शक्ति र प्रभाव हुनेले बजेट लैजान थालेको परिणामको उपज हो । बजेटमा सबै जनताको समान पहुँच र अधिकारसहितको इन्साफ हुने भए सुगमले भन्दा दुर्गमकाले बढी पाउनुपर्ने हो । हामी त न्यायका लागि कानुन बनाउन आएका हौँ नि ! बजेटमा भेद्भाव रहेकाले विधायक कानुनमा नभई मन्त्रालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । आफूले त्यो नगरेकाले मेरा विरोधीले ‘चित्रबहादुरले केही विकास ल्याउन्न अनि भोट दिनको औचित्य छैन’, भन्दै आएका छन् । हाम्रो मुख्य काम भनेको दर्जनौँ विधेयक थाती रहेकामा अघिल्लामा एउटा विधेयक पारित भयो भने अहिले सहकारीका मुद्दामा अडकिएको छ ।

मुलुकमा राजनीतिक स्थायित्वका लागि तपाईँ र तपाईंको दलको आगामी कार्ययोजना के छ ?

राष्ट्रिय जनमोर्चाले पद र फाइदाका लागि राजनीतिलाई बार्गेनिङ गर्नेहरूलाई पार्टीमा टिक्नै दिँदैन । अरू दलमा सत्ता र शक्तिका लागि पदको दुरुपयोग गरेको सबैले देखेका छन् । यो पार्टी २०५१ सालदेखि निरन्तर संसद्मा छ । म आफैँ पनि सत्तामा गएको हो नि ! मेरा अरू कमीकमजोरी होलान् तर नौ महिना सत्तामा रहँदा जस्तो गएको त्यस्तै फर्केको हो नि । म १० महिना सार्वजनिक लेखा समितिका सभापति पनि भएँ । त्यहाँ पनि ‘चाँदीकटाइ’ हुँदोरहेछ । देश बनाउन सबैभन्दा पहिले राजनीतिक पार्टीका नीति, सिद्धान्त र नेताको चरित्र जनपक्षीय हुनुपर्छ, निष्ठावान् र कर्तव्यपरायण हुनुपर्छ । 

राजनीतिबाट पद प्राप्त गर्ने र पदको दुरुपयोग गरी सम्पत्ति कमाउने हो भने जनताको पार्टी र नेताप्रति वितृष्णा भइहाल्छ, त्यो बेठीक भन्नै सकिन्न । जसले राम्रो गर्छ, चरित्र स्वच्छ छ, त्यसलाई आरोप लगाइँदैन नि ! नत्र भ्रष्टाचार नगर्ने र राज्यको दोहन नगर्नेलाई पनि भ्रष्टाचारी भन्थे नि जनताले ! राजनीतिप्रति वितृष्णा आउनु जनताले देखेर र थाहा पाएर नै हो । यसलाई राजनीतिक पार्टीले सच्याउनुपर्छ नत्र राष्ट्रलाई सङ्कट ल्याउँछ ।

परिवर्तनका लागि एउटै मोर्चामा रहेर लडेका ठूला र पूराना राजनीतिक शक्तिबीचमा किन हार्दिकता बढ्न सकेन भन्ने लाग्छ ?

यो सबै सत्तास्वार्थबाट भएको छ, भ्रष्टाचारबाट कोही मुक्त छैनन्, आश्चर्यको कुरा त्यो छ । कोही चोखो भए जनताले पनि विचार गर्छ । राजनीति सम्पत्ति कमाउने र निजी स्वार्थ पूरा गर्ने हतियार बनेको छ । यसलाई राष्ट्र र जनताका लागि प्रयोग गरेका कारणले नै कतिपय देश विकास र समृद्धिका शिखरमा पुगेका हुन् । जुनसुकै दुःखकष्ट भोग्नु परे पनि नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ, ‘सत्ता र शक्ति मात्रै ठूलो कुरा हो, अरू केही होइन’, भन्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । आफू र आफ्नालाई जोगाउने र सहुलियत दिने सोच हट्नुपर्छ । अहिलेसम्म जे जति कमजोरी भए, त्यसबाट पाठ सिक्दै मूल्याङ्कन गर्दै सच्चिनुपर्छ ।

 मुलुकमा गणतन्त्रपछि स्वास्थ्य, सूचना प्रविधि, सडक, सिँचाइ, खानेपानी, शिक्षालगायत भौतिक पूर्वाधारका क्षेत्रमा ठूलै परिवर्तन आएको छ नि, होइन ?

काठमाडौंलाई पहिले नेपाल भन्ने चलन थियो । हामी बागलुङबाट १३ दिन हिँडेर यहाँ आउनुपथ्र्यो पहिले । अहिले म एक दिनमै घर पुग्छु । यो त एक उदाहरण मात्र हो । प्राकृतिक साधनस्रोत र सम्भावना प्रशस्त भएर पनि जति विकास हुनुपर्ने थियो, त्यो भएन भन्ने साँचो हो तर ठ्याप्पै केही भएन भन्ने होइन । सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, सडकलगायत भौतिक पूर्वाधार निर्माणमा धेरै प्रगति भएको छ, निराशा मात्रै छर्न पनि भएन । 

हामीकहाँ शिक्षा प्रणाली भने राम्रो भएन, अनुशासन हरायो । पहिले शिक्षक र विद्यार्थीबीच निकै हार्दिकता हुन्थ्यो, अहिले द्वन्द्व देखिन्छ । नैतिक शिक्षाको पढाइ नहुँदा पश्चिमको छाडा र विकृति मौलायो । हाम्रा मौलिक आहारविहार, विचार, चरित्र र व्यवहार भने खुम्चन र खस्कन पुग्यो ।

अन्त्यमा, गणतन्त्र प्रवर्द्धन गर्ने र जनतामा आशा भर्ने केही सन्देश छ ? 

अहिले नेपालमा ‘अब यहाँ केही हुन्न’ भन्ने भाष्य खडा गरिएको छ । रु एक करोडसम्म खर्च गरेर विदेश जाने होड चलेको छ । त्यतिका रकम खर्च गरेपछि त यहाँ पनि केही हुँदो हो नि ! विदेशमा पढ्न जाने बेग्लै कुरा हो । यहाँ अहिले शिक्षा र स्वास्थ्य निजीकरण भयो । नेपालमा गरे के हुन्न ? लसुन, खुर्सानी, धान, मकै के खेती हुन्न ? तर सबै विदेशबाट ल्याइन्छ । 

मानिस जीवनमा विभिन्न हन्डर खान्छ र त्यसबाट शिक्षा लिएर अघि बढ्छ । एउटा व्यक्तिको कुरा गर्दा चाहे राजनीतिमा होस् वा अरू विधामा नै किन नहोस्, ठक्कर खाएर आफ्नो विकास गर्छ । ठीक त्यस्तै, राष्ट्रको जीवनमा पनि हुन्छ । अहिले विकास भएका मुलुकले पनि एकाएक रातारात गरेका होइनन् । त्यस कारण निराशा मात्रै भरेर हुन्न । हामीले सम्भावना र सपना देख्नुपर्छ र मुलुकलाई परिवर्तन गर्न सकिन्छ । अहिलेको निराशाको प्रतिकूल स्थितिलाई अनुकूल तुल्याउन आफू चरित्रवान्, निष्ठावान् र इमान्दार हुनुपर्छ । केही कमजोरी हुनुमा गणतन्त्र र लोकतन्त्रको दोष होइन, नकारात्मक परिस्थितिलाई बदल्नका निम्ति जनता नै जागरुक हुनुपर्छ, आशावादी भएर अघि बढ्नुपर्छ । रासस

  • प्रकाशित मिति : जेठ १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया