काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले धुलोबाट हुने प्रदूषण नियन्त्रणमा ध्यान दिन नसकेकामा असन्तुष्टि व्यक्त गरेका छन् ।
मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले मन्त्री महासेठलाई शनिबार एक ट्रक धुलोसमेत उपहार पठाएका छन् । १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको भन्दै मेयर शाहले मन्त्री महासेठलाई धुलो उपहार पठाएका हुन् ।
‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको छ,’ मेयर शाहले फेसबुकमा लेखेका छन्, ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धूलोको हात छ, जसले गर्दा महानगरवासीले धूलोधूवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ ।’
उनले काम अगाडि नबढेसम्म पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने बताएका छन् । मेयर शाहले सामाजिक सञ्जालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धुलो खन्याएको भिडियो पोस्ट गर्दै धुलो नियन्त्रणका लागि मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु, माया सम्झेर स्वीकार्नुहोला,’ मेयर शाहले लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।