नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्झाएका छन् ।
प्रमुख विपक्षी दलका नेतासमेत रहेका देउवाले कसैको बारेमा लेखेकै आधारमा मिडियालाई नै नियन्त्रण गर्नेतर्फ नलाग्न सुझाब दिए । कांग्रेस महामन्त्री गगन थापाले आइतबार प्रेस युनियनको कार्यक्रममा यसबारे जानकारी गराएका हुन् ।
दुई दिनअघि देउवाले प्रधानमन्त्री दाहाललाई प्रश्न गर्दै कान्तिपुरको इतिहासमा सबैभन्दा बढी मेरो आलोचना छ, तर लेख्यो भन्दैमा मिडिया नियन्त्रण गर्दा कहाँ पुगिन्छ ? भनेर सम्झाएका थिए । अहिले कसैको मुख थुन्दै गर्दा कुनै दिन प्रश्न सोध्न पाउने अधिकार नै कुण्ठित हुने उनकाे दाबी थियाे ।
देउवाले प्रधानमन्त्रीसँग भने, 'तपाईंले कान्तिपुर स्थापनादेखि आजसम्मको हेर्नुभयो भने कान्तिपुरबाट सबैभन्दा बढी गाली गरिएको, आलोचना गरिएको, सबैभन्दा लखेटिएकोमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला । तर, म लखेटिएको छु, मैले गाली खाएको छु, लखेटिएको गाली खाएको कुराको म आफ्नो ठाउँमा जवाफ दिउँला । तर मलाई लखेट्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न खोजियो भन्ने भने कहाँ पुग्छ ?'
कुनै मिडियाकर्मी अनुसन्धानभन्दा माथि नहुनेमा कांग्रेस प्रष्ट रहेकाे, तर अहिलेकाे प्रवृत्ति ज्ञानेन्द्र शाहको पालामा पनि थाहा नपाएको उनले महामन्त्री थापाले बताए । 'यो कुनै एउटै मिडियाको विषय होइन, यहाँ मान्छे मर्यो भन्ने होइन काल पल्क्यो भन्ने चिन्ता हो' महामन्त्री थापाले भने,'केही समयपछि सत्ताले भनेको विषयवस्तुलाई उसले चाहे जस्तो नियन्तरण गर्ने कानुन आउनसक्छ ।'
अहिलेको सत्ता निरंकुशताउन्मुख र अनुदारवादी रहेको उल्लेख गर्दै उनले कांग्रेस लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाका लागि अहिले सडकमा आएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।