logo-img

दमौली आगलागीपीडितलाई राहतका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

तनहुँको व्यास नगरपालिका–३ स्थित फलफूल लाइनमा भएको आगलागीपीडितलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ ।

राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले) का प्रमुख सचेतक भगवती न्यौपानेले आज प्रधानमन्त्री दाहाललाई भेटेर पीडितलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न ध्यानाकर्षण गराएका हुन् । त्यसक्रममा प्रधानमन्त्री दाहालले पीडितलाई राहत दिने विषयमा सरकार गम्भीर रहेको आश्वासन दिएको न्यौपानेले जानकारी दिए । उनले भने, 'आगलागीका कारण २१ जनाको रोजीरोटी गुमेको छ, व्यापार व्यवसाय बन्द भएको छ । सरकारका तर्फबाट के गर्न सकिन्छ त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छु । उहाँबाट सकारात्मक जवाफ आएको छ ।'



न्यौपानेले शनिबार मात्रै दमौलीमा पीडितसँग भेटेर सरकारसमक्ष कुरा पुर्याउने प्रतिबद्धता जनाएका थिए । गत सोमबार बिहान १२ः४५ बजे आगलागी हुँदा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका यहाँका २१ व्यवसायिक सटर पूर्ण रूपमा जलेका थिए । यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए । 

त्यसक्रममा छ करोड ९९ लाख ५१ हजार छ सय ७० को क्षति भएको व्यास नगरपालिकाले गठन गरेको समितिले जनाएको छ । आगलागीका क्रममा थोरै तीन लाख १० हजारदेखि एक करोड १५ लाखसम्मको क्षति भएको छ । 

सबैभन्दा बढी इमेज मोबाइलको एक करोड १५ लाख र रक्सी बिक्रेताको एक करोड १५ लाख क्षति भएको नगरपालिकाले गठन गरेको समितिका संयोजक एवं वडाध्यक्ष अनुप रानाले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया