logo-img

आर्थिकमन्दीको प्रभाव : रूपन्देहीमा १० महिनामा २०७ उद्योग बन्द

रूपन्देहीमा चालू आर्थिक वर्ष २०८०/८१ मा २ सय ७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालू आवको वैशाखसम्ममा रूपन्देहीमा २ सय ७ उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् । 

गत आवमा यसरी लगत कट्टा गराउने उद्योगको संख्या २ सय १७ रहेको थियो । कार्यालय प्रमुख भुसालले आर्थिकमन्दीको असर रूपन्देहीमा पनि देखिएको बताए । 



उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उनले बताए । ‘उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता गराउने क्रम पनि घट्दै गएको छ’, उनले भने, ‘आव २०७९/८० मा १ हजार १ सय ३० उद्योग दर्ता भएकामा चालू आवमा सात सय २९ मात्र दर्ता भएका छन् ।’ 

उद्योगमात्र हैन वाणिज्यतर्फको अवस्था पनि उस्तै छ । गत आवमा १ हजार ३ सय ४ व्यवसाय दर्ता भएकामा चालू आवमा हालसम्म १ हजार १ सय ७५ वटा मात्र दर्ता भएका छन् । 

आव २०७९/८० मा व्यवसाय बन्द गराउनेको संख्या १९ वटा रहेको थियो भने चालू आवमा हालसम्म २६ वटा व्यवसाय बन्द भएको प्रमुख भुसालले जानकारी दिए ।  

आर्थिकमन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउँछन् । ‘रूपन्देही औद्योगिक केन्द्रको रुपमा रहेको छ, यहाँ ठूला–ठूला उद्योग छन्,’ उनले भने, ‘कतिपय बन्द भइसके भने सञ्चालनमा रहेका पनि ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा छन् ।’ 



रूपन्देहीमा रहेका १० सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन् । व्यवसाय र अन्य निर्माणजन्य उद्योगको अवस्था पनि नाजुक रहेको श्रेष्ठको भनाइ छ । 

सरकारले उद्योगी व्यापारीले राखेका सुझाव समयमै कार्यान्वयन गर्नुपर्ने उनको धारणा छ । अब आउने बजेटमा निजी क्षेत्रले उठाएका कुरा सम्बोधन हुनुपर्नेमा श्रेष्ठले जोड दिए । रासस



  • प्रकाशित मिति : जेठ १४, २०८१ साेमबार १०:२४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया