न्युरोड क्षेत्रको सडक साँघुरो गरेर फुटपाथ बढाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन् । सोमबार महानगरपालिकाको सडक साँघुरो बनाउने काम राम्रो नभएको भन्दै न्यूरोडबासीले आन्दोलन गरेका हुन् ।
उनीहरूले न्युरोड गेटबाट भित्रतर्फ न्युरोड साँघुरो गर्न मिल्दैँन, नयाँ सडक बचाउ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरे । आन्दोलनमा सहभागी स्थानीय सुवोदमान श्रेष्ठले काठमाडौं महानगरका मेयर वालेन्द्र शाह(बालेन)को यो कदम ठिक नभएको बताए । उनले साथ दिनुपर्ने ठाउँमा दिने हो तर स्थानीयहरूको इच्छा र भावना विपरीतको कार्यमा महानगर अघि बढेकाले विरोध गरेको जानकारी दिए ।
उनले भने, ‘सडकलाई साँघुरो बनाउने हो भने त्यसको परिणाम कस्तो हुन्छ भनेर हामीले देखाउन खोजेका हौं । मापदण्ड अनुसार हेर्दा पनि न्यूरोडको बाटो भनेको गाडी गुड्ने बाटो हो । यो काठमाडौंको मात्र होइन । नेपालको नै सबैभन्दा पहिले गाडी गुड्ने बाटो हो । नेपालको इतिहास मेटाएर, गाडी नै नचल्ने हो भने हामीले विरोध गर्नैपर्छ । साथ दिनुपर्ने कुरामा साथ दिन्छौ । तर स्थानीयहरूको इच्छा विपरीतको कार्यमा विरोध गर्नैपर्छ ।’
यस्तै, स्थानीय मंगलादेवी महर्जनले पनि महानगरपालिकाको प्रमुख भएपछि सबैको राय सुझावमा काम गर्नुपर्ने भन्दै एकलौटी पूर्ण कदम अन्याय भएको बताइन् ।
उनले भनिन्, ‘बालेनलाई नराम्रो भन्ने होइन । मेयर भएका नाताले राम्रो काम पनि गर्नुभएको छ । देश बनाउनु पर्छ भनेर हामी पनि लागि रहेका छौँ । तर यो न्यूरोडको सडक यसै सानो छ यसलाई सानो बनाएर के गर्न खोजेको हो ? प्रमुख भएपछि सबैको राय सुझावमा काम गर्नुपर्नेमा एकलौटी गर्न पाइन्छ ?’
महानगरले न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक क्षेत्रको दुवैतर्फ काटेर फुटपाथ बढाउन लागिएको छ । तीन लेनको उक्त सडक बिना प्राविधिक जाँच काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौंले डोजरसहितका मेसिन नियन्त्रणमा लिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।