logo-img

गीत चलाउन धेरै नखरेबाजी गर्नुपर्ने जमाना आयो : अन्जु पन्त
'भाइरल गीतहरू ‘परालको आगो’जस्तै हुन सक्छन्'

अन्जु पन्त चर्चित र व्यस्त गायिका हुन् । भजनमा स्वर दिएर सांगीतिक क्षेत्रमा उदाएकी अन्जु ‘न विर्से तिमीलाई’गीतबाट सांगीतिक क्षेत्रमा उकालो लागेकी हुन् । कुनै समय दैनिक सातवटासम्म गीत रेकर्ड गराउन दौडधुपमा रहने उनी पछिल्लो समय स्टेज कार्यक्रममा व्यस्त छिन् ।

व्यक्तिगत जीवनमा अनेक हन्डर ठक्कर खाँदै नेपाली संगीतलाई नयाँ धारमा डोहोर्याउन सक्रिय अन्जु पछिल्लो समय नेपाल–अमेरिका बसाइलाई बराबर बनाइरहकी छिन् । थिर कोइरालासँग दोस्रो विवाह गरेपछि नेपाल–अमेरिका ओहोरदोहोर गरिरहनुपर्ने बाध्यताका कारण उनले धेरै शुभेच्छुकबाट ‘अब अमेरिका भासिने हो ?’ भन्ने प्रश्नको सामना गरिरहनुपरेको छ । यसै सन्दर्भमा उनको पछिल्ला दैनिकीबारे गरिएकाे कुराकानी : 

तपाईं कता र के काममा व्यस्त हुनुहुन्छ ?

धेरैले मेरो व्यस्तताका बारेमा सोधिरहनुभएको छ । वास्तवमा म यतिबेला विगतका दिनभन्दा थप व्यस्त भएको छु । व्यस्तता घट्दो होइन बढ्दो छ । मेरो बानी मिडियामा गइहाल्ने, बोलीहाल्ने किसिमको छैन । त्यही भएर व्यस्तताका बारेमा प्रश्नहरुको सामना गरिरहेको छु । तर सामाजिक सञ्जालका पेजहरुमार्फत मसँग जोडिनुहुने श्रोता–दर्शकहरुले मेरोबारे अपडेट हुनुहुन्छ । यतिबेला मैले दिनमै तीन चारवटा गीत रेकर्ड गराइरहनुपरेको छ । 

कार्यक्रमहरुमा पनि व्यस्त हुनु परेको छ । पाँच महिना यता नेपालमै बसेर काम गरिहेको छु । तपाइँसँग भेट हुनुअघि(सोमबार) आजै मात्र पनि तीन–चारवटा कार्यक्रममा थिएँ । आजभोलि नै तीनवटा गीतको रेकर्डिङ छ । दिनदिनै यस्तै व्यस्तता छ । 

धेरे शुभेच्छुकहरुको मुखबाट तपाईंका बारेमा एउटा सवाल गज्जबले उठिरहेको छ –‘अञ्जु पन्त अब नेपाल आउनु भनेको माइत आउनुसरह हो ।’ वास्तवमा यस्तै भइरहेको हो ? अमेरिका बसाइ बाक्लिएको हो ?



त्यस्तो होइन । अमेरिका वर्षमा एकपटक कार्यक्रम हुँदा जानैपर्छ । मेरो पारिवारिक बाध्यता पनि छ । तर अहिले जतिपनि कुराहरु आइरहेका छन्, म नेपाल आएको चाहिँ थाहा नै नभएको जस्तो गर्नुहुन्छ । मैले सामाजिक सञ्जालमा कत्ति धेरै स्टाटस लेखिरहेको हुन्छु । जानकारी गराइरहेको हुन्छु । गीत रेकर्डबारे भनिरहेको हुन्छु । लाइभ गरिरहेको हुन्छु । धेरै ठाउँमा कार्यक्रमका विषयमा भनिरहेको हुन्छु र पनि खाली अमेरिकामा बसिरहेको छ, अमेरिका भासियो भन्ने कुराले खुबै पीडा दिइरहेको छ । नेपाली माटो र नेपाली मनहरुबाट टाढा हुन सकिदैन । जहाँ रहे पनि नेपाली संगीतबाट टाढा हुन सकिँदैन । संगीत भनेको मेरो जीवन हो । 



अहिले स्टेज कार्यक्रम तथा अन्य कार्यक्रमको सिजन नै चलिरहेको छ । तर तपाईंलाई अलिक कम मात्र देख्न पाइन्छ । त्यस्तो केही कारण छ ?

सांगीतिक यात्राको कुरा गर्दा म नेपालका कार्यक्रममा उत्तिकै व्यस्त छु । केही समय अघि पूर्वदेखि पश्चिमसम्मका कार्यक्रममा व्यस्त थिए । भर्खरै पनि जापान पुगेर आएँ । हेटौडा, चितवन, बुटवल, दाङ नेपालगञ्जलगायतका ठाउँहरुमा पुगेर आएँ । तर अहिले २४ घण्टा आफ्ना बारेमा जानकारी गराउनुपर्ने हो कि ? यस्तो खाएँ, उस्तो लाँए भनेर जानकारी गराउनुपर्ने हो कि । जमाना नै त्यस्तै आएको हो कि ? किन मान्छेलाई थाहा नभएको होला । म चकित छु ।

हिजोआजको माहोल परिवर्तन भएको छ । असल किसिमले र असल सर्जकहरुलाई असल गीतहरुले भन्दा पनि भाइरलको जमाना आएकाले यस्तो भइरहेको छ, म अचम्ममा परेको छु । मानिसहरुले बुझ्नुपर्ने कुरा के छ भने भाइरल गीतहरु परालको आगो जस्तो हो । यही भनेर बुझाउनुपर्ने परिस्थिति आयो । यस्ता गीतहरु क्षणभरमै जल्छ एकैछिनमा सेलाउँछ । जल्छ जल्न त तर दाउराले जस्तो रातभरि जल्दा पनि आनन्दको ताप दिँदैन । दाउराको जमाना त गएको होइन होला । फेरि आउँछ त्यो जमाना । 

मेरो विषयमा कुरा गर्नुहुन्छ भने हिजो मात्र चारवटा गीत रिलिज भयो । त्यसअघि पनि गीतहरु रिलिज भएका छन् । तर, युट्बमा बुष्ट नगरी नहुने जमाना आयो । त्यस्तो हामीले सक्दैनौँ । मेरो हकमा कुरा गर्नुहुन्छ भने म गीत मात्र गाउँछु । प्रमोशनमा धेरै गर्न सक्दिनँ । गीत रेकर्ड भएकै छन्, रिलिज भएकै छन तर भाइरल नभएर चर्चा नभएको भन्ने कुरामा चाहीं विश्वास लाग्दैन । चलचित्रका गीतहरुमा पनि उत्तिकै स्वर दिइरहेको छु । तर सीधा भन्नुपर्दा धेरै नखरेबाज गर्नुपर्ने जमाना आयो । 

यतिबेलाको अवस्थालाई हेर्दा कला क्षेत्रका व्यक्तिहरु सामाजिक सञ्जाल वा अन्य डिजिटल प्लेटफर्ममार्फत उच्छृंखल क्रियाकलाप गरेर भाइरल हुने होड चलिरहेको देखिन्छ । जसका कारण सदावहार र स्थापित कलाकारहरु चाहिँ विस्थापित हुने अवस्था आएको हो कि जस्तो लाग्दैन ?

एक हिसाबाले सोच्दा त भाइरल हुनु पनि राम्रै हो । भाइरल भए पछि राम्रो चिजको महत्व हुन्छ । त्यसैले भाइरल हुनु राम्रै हो । यसलाई नकरात्मक रुपमा पनि लिन हुँदैन । तर मिडिया प्लेटफर्महरु बढेसँगै राम्रो आवाज, अभिनय र नृत्यमार्फत कलाकारले पनि ठाउँ पाउन थालेका छन् । यसलाई राम्रो पक्ष मान्नुपर्छ । तर नराम्रो पक्ष भनेको चाहिँ भाइरलका पछाडि दौडिँदा असल र सृजनात्मक कामहरु ओझेल पर्नुहुँदैन । जसका कारण दिग्गज सर्जकहरुलाई धक्का परिरहेको छ कि भन्ने कुरा मनन गर्नुपर्छ । भोलि गएर पर्ने असरका बारेमा बुझ्नपर्छ । 

नेपाली कला क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा जानुपर्नेमा झन झन खस्किँदै जाने हो कि भन्ने चिन्ता छ । त्यसैले नेपाली गीत संगीत र कलाको महत्व बुझेका हामी श्रोता–सर्जकहरु सबै सजग हुनुपर्छ कि भन्ने लाग्छ । 

तपाईं संगीत कर्मसँगै सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । अञ्जु पन्त फाउन्डेसन पनि स्थापना गर्नुभएको छ । फाउन्डेसनको भूमिका कस्तो छ ?

अन्जु पन्त फाउनडेसनले बच्चाहरुको पढाइको लागि र पश्चिम नेपालमा एचआइभी एड्सबाट पीडित हुनुभएको परिवारलाइ सहयोग गरिरहेको छ । श्रम क्षेत्रहरुमा पढाइको खर्च, लत्ता कपडा, कम्प्युटर सहयोग स्वरुप जुटाउने गर्छौं । एक हप्ताको प्याकेज लिएर केही समयअघि मात्र फिल्डमा गएका थियौं । धेरै हल्ला गर्ने र देखाउने बानी छैन मेरो ।

सांगीतिक यात्रासँगै सामाजिक कार्यमा लागिरहँदा सरकारबाट केही सहयोग प्राप्त गर्नुभएको छ ?

केही सहयोग पाएको छैन । मैले पहिला पनि आफ्नै खुसीले आफुले गीत गाएको पैसाले धेरै ठाउँमा सहयोग गरेको हो । त्यही हृद्यलाई देखेर मेरो श्रीमान्ले संस्था स्थापना गर्नुपर्छ भनेर हौसला दिनुभयो । एउटा हातले दिँदा समस्या हुन्छ, कैयौँ हातहरुले सहयोग गर्नुपर्छ, पाउनेले पनि धेरै पाउनुहुन्छ भनेर काम सुरु गरेको हुँ । तर पछिल्लो समय फाउन्डेसन नकरात्मक कुराहरु आउन थाले । फाउन्डेसन खोलेर करोडौँ कमायो भन्ने कुराहरु आयो । गल्ती केही गरेको छैन, तर अनावश्यक आरोपहरु आउने रहेछ । संकलित पैसाले नपुगेर आफ्नै खल्तीबाट हाल्नुपर्ने अवस्था आउँछ । संस्था भनेको म नगएको बाटो रहेछ । यसमा धेरै प्रक्रिया हुँदो रहेछ । आफ्नो खुसीले हृदयले हातले दिएको मात्र हो ।

त्यसो भए समाजसेवामा कसरी, कोबाट प्रेरित हुनुभएको हो त ?

समाजसेवी बन्नुपर्छ भन्ने मेरो सानैदेखिको बानी हो । सोच हो । स्कुल पढ्दा पढ्दै पनि दुःख पाएका बच्चाहरुका लागि, साग बेचेर दुःख गरिरहनु भएका आमाहरुका लागि सहयोग गर्थें । उहाँहरुलाई मैले आफ्नो खाजा कटौती गरेर र पैसा जुटाएर सहयोग गर्ने बानी थियो । तर संस्थागत कुराको मेसो मैंले पाइन । यति कुरा हो चोखो हृदयले सहयोग गर्न पाए हुन्थ्यो भन्ने मात्र लाग्छ । 

समाजसेवाको दायरा बढाउनुपर्छ । सरकारको पनि सहयोग लिएर काम गर्नुपर्छ भन्ने सोच आएको छैन ?

साँचो कुरा गर्दा केही मानिसको नजरमा अन्जु पन्त स्वार्थी जस्तो देखिएला । तर त्यस्तो होइन । किनभने म गीत गाउँछु । सीधा हिसाब हुन्छ मेरो । गीत गाएको पारिश्रमिक लिन्छु । यही पारिश्रमिक बचाएर काम गर्न मन लाग्छ । पारिश्रमिक घटाउन कतिपय उच्च पदकै प्रियजनहरुले पनि भन्नुहुन्छ । तपाईंको फाउन्डेसन छ, सहयोग गरौँला भन्नुहुन्छ । तर, सहयोग माग्दा दिनुहुन्न । त्यस्तो घटना धेरै भोगियो । किनकि यो संसार स्वार्थी छ । यो संसारमा स्वार्थ बिक्छ । त्यसकारणले गर्दा कसैलाई भन्न पनि मन लाग्दैन । 

गीतहरुको प्रचार प्रसार गर्दा धेरै फन्डा गर्न आउँदैन । फन्डा गर्ने जमानाको मान्छे परिनँ । त्यसैले सहयोगका लागि धेरै कसरत गर्दिनँ । धेरै समय लिएर गुरुजनहरुको आशीर्वाद लिँदैँ अगाडि बढेको मान्छे हुँ । पुराना दिनहरुको खुबै मिस गर्छु हिजोआज । अहिले जमाना अर्कै आइसक्यो । एकले अर्काको मतलब नै गर्दैन । यस्तो अवस्थामा आउँदा भने सुन्ने सुनाउने पुरानो माहोल अहिले याद आउँछ । आधुनिक मानिसको जस्तो स्वभाव छैन् मेरो । तर यति धेरै काम गरिरहेको छु, कामै भएन कि जस्तो लाग्छ । भाइरल भयो भने मात्र चर्चा हुनुपर्ने जमानाको परिनँ । 

तपाईंले गाउनु भएका गीतहरु प्रायः तपाईंकै जीवनसँग मेल खान गएको जस्तो लाग्छ । वास्तवमा त्यस्तै हो ? 

हो । कतिपय गीतले मेरो जीवनसँग मेल खाएको छ । पहिलाका गीतहरु आउँदा मेरो जीवन त्यस्तै भयो । सबैलाई थाहा नै छ । रोमान्टिक गीतहरु आए रोमान्टिक हुँदै गइयो । अहिले नाच्ने गीतहरु आए, जीवन पनि त्यस्तै अघि बढिरहेको छ । 

संगीत क्षेत्रमा तपाईंले काम गरेको दशक बितिसक्यो । हरेक गीतहरु हरेक नेपालीका मुखमा झुन्डिएका छन् । हजुरलाई चाहि कुन गीतले अलिक बढी छुन्छ ?

‘यस्तो एउटा कथा रहेछ, संसारमा माया पनि .....’ यो गीतले धेरै छोयो । त्यसपछि एल्बमहरु पनि आए ‘वनमा फूल्यो फूलै फूल’, ‘वसन्त नै बस्न खोज्छ’, ‘म प्यार बेचिदिन्छु’, ‘उकालीमा पनि हजुर’ यस्तै यस्तै गीतहरु थिए । ती गीतहरुले पनि मलाई संगीत उद्योगमा चिनाउन मद्दत पुग्यो । अन्जु पन्त इन्डियन गायिका हो भन्नुहुन्थ्यो त्यो बेला सबैले । त्यसपछि धेरै चलचित्रहरुमा आए गीतहरु । न बिर्सिए तिमीलाई गजलले नामसहित मान्छेसहित फ्रेममा ल्याइदियो विश्वभर नै । त्यसले गजलको विधाका रुपमा कोसेढुंगा साबित भयो । त्यसपछि न बिर्सिए तिमीलाई र  अन्जु पन्त परिपूरक भए । 

तपाईंको पूर्वश्रीमान्सँग पनि लामो समयसम्म सांगीतिक सहकार्य भयो । अहिले भेट हुन्छ कि हुँदैन ? अहिलेको पारिवारिक सम्बन्ध कस्तो छ ?

पूर्वश्रीमानसँग भेट हुँदैन । धेरै वर्ष भयो भेट नभएको । र अहिले मेरो जीवनमा नसोचेको कुराहरु भयो । विवाह भन्ने ठिक होइन भन्ने कुरालाई गलत साबित थिर कोइरालाले गर्नुभएको छ । उहाँको हृदयभरीको मायाले मलाई परिवर्तन गरायो । उहाँलाई म पलपल सम्झिन्छु । 

अहिले हामी छोरी, छोरा र म सँगै बस्छौँ । मेरो बच्चाहरु सारै मिलेका छन् । ज्ञानी र सहयोगी पनि छन् । मेरो जीवनमा एउटा आशीर्वाद हो । नसोचेको कुरा भएको छ । मेरो छोरी अहिले मण्डला थ्रिएटरमा अभिनय सिक्दै छिन् । धेरै राम्रो ब्यानरबाट फिल्मको अफर आए पनि गरेकी छैन । फिल्म त सिकेर मात्र गर्छु भनेर सिकिरहेकी छिन् । उसको मिहिनेत, लगनशीलता र धैर्यता सबै कुराले लाग्छ भोलि राम्रै हुन्छ भन्ने लाग्छ । भएन भने पनि सिक्दै गर्दा केही फरक परेन । भोलि गएर जे बन्छिन् । मेरो तर्फबाट जहिले पनि आर्शिवाद छ, माया छ ।  

संगीत क्षेत्रमा तपाईंको योगदान त छँदै छ, तर सरकारले पनि केही गरोस् जस्तो लाग्दैन ? 

सरकारप्रतिका बारेमा मैले पहिले पनि भनिसकें । नेपाल सानो देश हो, थोरै परिवार छन् । तर खुशी र सुखी हुनुपर्ने सबै उल्टो भइरहेको छ । एयरपोर्टमा पुग्दा पनि कस्तो नमज्जा लाग्छ, पीडा हुन्छ । पढाइमा एप्लस ल्याउँदा पनि किन त्यसको मूल्यांकन हुँदैन् ? प्रमाण पत्र, सम्मान पत्र दिएर मात्र हुदैँन् नि । कलाकारहरु भनेको देशको सम्पत्ति हो । सम्पत्तिहरु बाहिर जानु, लोभ हुनु राम्रो होइन् । त्यसलाई जोगाउन जान्नुपर्छ । 

एउटा गीतको कति पारिश्रमिक लिनुहुन्छ ? भन्न मिल्छ ?

कतिपय ठाँउमा मलाई पछिल्लो समयमा एउटा आरोप आइलाग्यो । अन्जु पन्तले एकलाख, डेढलाख लियो, पैसा खाइदियो भनियो । तर मलाई सीमित पैसा मात्र आउँछ । कति गीत त निःशुल्क पनि गरिदिएको छु । तर निःशुल्क गर्यो भने त्यस्तै बानी बस्ने र अन्य कलाकारलाई असर गर्ने रहेछ । बोली, विचार, व्यवहार र व्यवसायिकतामा अलिकति कडा हुनैपर्छ । हामीले हाम्रो गुणस्तर र मर्यादा राख्नुपर्छ । जुन स्थानमा म आज छु त्यसको आदर पनि गर्नुपर्छ । वास्तवमा मैले लिने पारिश्रमिक भनेको ५० हजार रुपैयाँको हाराहारी हो ।

नेपाली सांगीतिक क्षेत्रमा धेरै कलाकारहरु आइरहेका छन् । उहाँहरुलाई के भन्न चाहनुहुन्छ ?

नव कलाकारहरुलाई मेरो धेरै माया र आशीर्वाद छ । उनीहरु मेरा छोराछोरीसरह नै हुन् । कतिपयले धेरै प्रगति पनि गरिरहनुभएको छ । अहिले कस्तो राम्रो समय पनि आयो किनभने आफ्नो हातमा नै मिडिया छ । कसैले केही नगरे पनि केही छैन भन्ने समय छ । साँच्चिकै क्षमता भएको आवाजलाई र व्यक्तिहरुका लागि असल दिन पनि छ । धेरै शुभकामना । अझ मिहिनेत गरेर यो देशको नाम राख्न आग्रह गर्दछु । 

  • प्रकाशित मिति : जेठ १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया