logo-img

सीप मेला अवलोकनपछि श्रीलंकन राजदूतले भने- ‘हामीबीच समानता छ’

नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पथिरानाले महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीपमूलक तालिमको अवलोकन गरेका छन् । सीपमूलक तालिमको अवलोकनपछि उनले मानवीय स्रोतलाई आर्थिक क्षेत्रसँग जोड्न महानगरपालिकाले गरेको काम प्रशंसनीय रहेको उल्लेख गर्दै श्रीलंका र नेपालबीच धेरै समानता रहेको बताए ।

‘औपचारिक शिक्षा नपाएका व्यक्तिले सीपमूलक तालिम पाए भने श्रम बजारका लागि योग्य हुन्छन् । यसकारण महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीपमूलक तालिमको धेरै महत्व छ,’ राजदूत पथिरानाले भने, ‘योग्यता परीक्षण प्रणालीबाट सीपलाई प्रमाणीकरण गर्न सकिन्छ । श्रीलंङ्काले यही प्रणालीबाट व्यक्तिको योग्यता निर्धारण गर्ने गरेको छ । निःशुल्क तालिम प्रदान गर्नु अझ महत्वपूर्ण काम हो । नेपाल र श्रीलंकाका बीचमा धेरै समानता छन् ।’   

त्यसक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले  जनअपेक्षा धेरै भएकाले ती अपेक्षालाई प्राथमिकीकरण गरेर कार्यान्वयन गरिरहेको बताए । तालिमका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले  तालिमका विषय छनोटका बारेमा जानकारी गराउँदै मोबाइल बनाउने तालिमलाई उदाहरण दिए । 

‘पहिले सिम कार्ड मात्र चल्ने मोबाइल बनाउनेले अहिलेका प्रविधियुक्त मोबाइल बनाउन थप तालिम लिनुपर्छ । हामीले यस्ता परिवर्तित अवस्थालाई हेरेर कोर्स डिजाइन गरेका छौं,’  उनले भने । व्यावसायिक तालिमको योग्यता निर्धारण गर्ने क्रममा श्रीलंकाको सिकाइबाट सिक्न सकिने महानगरपालिकाका अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरीले बताए । मानवीय स्रोत व्यवस्थापन गर्ने दिशामा सहकार्य गर्न राजदूतले इच्छा राखेको उनले जानकारी दिए । 

सीप मेलाका तालिम संयोजक देवेन्द्र केसीका अनुसार श्रीलंकाले राष्ट्रिय सीप परीक्षण प्रणालीलाई राम्ररी कार्यान्वयन गरेको र महानगरपालिकाले सामुदायिक विद्यालयहरूमा सञ्चालन गरिरहेको शिक्षामा सीप कार्यक्रम र सिपयुक्त जनशक्तिको योग्यता परीक्षण यही मोडेलमा अगाडि बढाउने योजना रहेको सुनाए । 





  • प्रकाशित मिति : जेठ १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया