सोलुखुम्बु– सगरमाथाको उचाइ नाप्ने टाेली मंगलबार सोलुखुम्बुको दिङ्बोचे पुगेको छ। चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो ।
नेपाल सरकारले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य गरिरहेको छ। सो कार्यका लागि चार जनाको टोली खुम्बु पुगेको नापी विभागका नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिए।
टोली प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल तेञ्जिङ हिलारी विमानस्थल हुँदै आज लबुचे पुग्नेछन्। टिममा नेपाल माउण्टेन एकेडमीका प्रशिक्षक छिरिङ जाङ्बु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न गएको विभागले जनाएको छ।
नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार टोलीमा रहेका दुईजना सगरमाथा आधारशिविरमा बसेर समन्वय गर्ने र दुईजना सगरमाथाको चुचुरोसम्म पुगेर उचाइ नाप्नेछन्।
सगरमाथाको उचाइ मापनको सम्पूर्ण काम सन् २०१९ मा सम्पन्न गरी आधिकारिक उचाइ सार्वजनिक गरिने नापी विभागले जनाएको छ।
नापी विभागले अहिलेसम्म सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम गरिसकेको छ। यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डङ्गोलको भनाइ छ।
यसको आधिकारिक उचाइ मापनको काम भारत, अमेरिकालगायत विभिन्न राष्ट्रले गरे पनि यसकाे फरक/फरक रिपोर्ट सार्वजनिक भएका छन्। नापी विभागका अनुसार सन् १८५२ मा पहिलोपटक बेलायतले सगरमाथाको उचाइ नापेकाे थियाे।
नेपाल नआई सर्भे अफ इण्डियाबाट नापेका ब्रिटिसले आठ हजार ८४० मिटर उचाइको हिमाल रहेको बताएका थिए। ब्रिटिसहरुले नै सन् १९०४ मा पुनः सगरमाथाकाे उचाइ लिएकाे बताइन्छ।
सन् १९५४ मा भारतीय नापी विभागको टोलीले आठ हजार ८४८ मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेको थियो। सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ आठ हजार ८५० मिटर रहेको दाबी गरेको थियो।
यस्तै नर्वे, अमेरिका र चिनियाँ संस्थाले पनि सगरमाथाको उचाइ नापेको बताइन्छ। नेपालले भने अहिलेसम्म आठ हजार ८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ। अब नेपाली टोलीले यसको उचाइ मापन गरी नेपाल सरकारकारलाई बुझाएको प्रतिवेदन नै आधिकारिक हुने बताइएको छ।
चुचुरो पुग्न कति दिन
दिङ्बोचेबाट आधारशिविर पुग्न मात्र तीन क्याम्प मानिन्छ। दिङ्बोचेमा बसेको पर्यटक भोलिपल्ट करिब चार हजार ३४९ मिटर उचाइमा रहेको लबुचे पुगेर बस्छ।
करिब पाँच हजार १०० मिटर उचाइमा रहेको गोरप्सेप पुगेर बसेको पर्यटक अर्को दिन सगरमाथा आधारशिविर पुग्ने पथप्रदर्शक चुडामणि केसी बताउँछन्। आधार शिविरबाट सगरमाथा पुग्न चार क्याम्प पूरा गर्नुपर्छ।
चार क्याम्प पूरा गर्न एकैपटक सम्भव नहुने आरोही बताउँछन्। पटक/पटक क्याम्प १ पुग्ने, पुनः आधारशिविर झर्ने, पुनः क्याम्प २ पुग्ने आधारशिविर झर्ने काम पटक/पटक गर्दै चुचुरोमा पुग्न सकिने २२औँ पटक सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमानी कायम गरेका आरोही कामीरिता शेर्पाकाे भनाइ छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।