के लोडसेडिङ गर्न चलखेल भएकै हो ?

काठमाडौं– चैतको अन्तिम सोमबार विद्युत् प्राधिकरणमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गर्ने तत्व सलबलाएको खुलासा गरे । ‘जो मान्छे लोडसेडिङ गर्न अहोरात्र लागिरहेका थिए, लोडसेडिङका कारक भइरहेका थिए । आज तिनै मानिसको गाइडेन्समा धेरै कुरा भइरहेका छन् । तिनै मान्छे सलबलाइरहेका छन् ।’ उनको यो अभिव्यक्तिले धेरैका मनमा शंका उब्जायो– अब फेरि लोडसेडिङ सुरु हुने पो हो कि ? 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी लोडसेडिङको सम्भावना नरहेको दाबी गर्छन् । ‘अब बिल्कुलै लोडसेडिङ हुने अवस्था छैन,’ फरकधारको जिज्ञासामा अधिकारीले भने, ‘त्यसको मतलब फेरि हामी सुतेरै बस्यौँ, हामीले अनुगमन गरेनौँ, इमानदारीतर्फ उद्यत  भएनौँ भने, अगाडिका दिन अँध्यारा छन् । अहिलेकै स्पिरिट, अहिलेजस्तै उत्साह रहिरह्यो भने लोडसेडिङको अवस्था आउँदैन ।’

अधिकारीले गत वैसाखदेखि चैत मसान्तसम्म निजी क्षेत्रबाट स्थापना भएका ७ परियोजनाबाट ४१ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए । उनले भने, ‘चालू आर्थिक वर्षको अन्त्यसम्ममा २ सय ३४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ । यसले हाम्रो माग धान्न पक्कै सहयोग गर्छ ।’ 

विद्युत् प्राधिकरणको आफ्नै लगानीमा दुई परियोजनामा काम भइरहेको र यो पनि चालू वर्षको अन्त्यमा राष्ट्रिय प्रणालीमा जोडिने अधिकारीले दाबी गरे । अहिले प्राधिकरणकै लगानीमा अप्पर त्रिशूली ३ ‘ए’ ६० मेगावाट क्षमताको र कुलेखानी तेस्रो जलासययुक्त आयोजना १४ मेगावाट क्षमतामा निर्माण भइरहेको छ । ‘यसरी निजी क्षेत्रको १ सय ६० र प्राधिकरणकै ७४ मेगावाट यसै आर्थिक वर्षको अन्त्यमा थपिने हुनाले पनि लोडसेडिङको सम्भावना छैन,’ उनले भने । 

अधिकारीले अहिले सुक्खा मौसमको समयमा पनि खोलामा प्रशस्त पानी भएकाले पनि लोडसेडिङको सम्भावना नै नभएको दाबी गरे । केही दिनअघिसम्म पनि विद्युत् खेर गइरहेको प्रसंग उल्लेख गर्दै उनले अहिले खोलामा प्रशस्त पानी भएकाले विद्युत् बढी भएको बताए ।
 
‘अस्ति राति हाम्रो मागभन्दा ४ सय मेगावाट विद्युत् बढी भयो,’ अधिकारीले भने, ‘यसो हुनुको कारण बुझ्दा यसपटक हिउँदमा पनि खोलामा प्रशस्त पानी भएको जवाफ पाएँ,’ उनले भने, ‘योपटकको मौसम निकै अचम्मको भयो, पानी परेर खहरे खोला मात्रै बढेर छोटो समयका लागि पानी प्रशस्त भएको होइन रहेछ, अहिले हिउँ पनि बढी परेको र तापक्रम बढी भएर हिउँ पग्लेकाले खोलामा पानी भरिएको रहेछ ।’ सुक्खा मौसममा पनि खोलामा प्रशस्त पानी हुनुले पनि तत्कालै लोडसेडिङको शंका पनि नगर्न उनलेआग्रह गरे । 



उनले विद्युत्को व्यवस्थापनमा आफूहरू लागेको बताउँदै इनर्जी बैंकिङको धारणा यसैका लागि ल्याइएको बताए । ‘नेपालमा हिउँदमा विद्युत्को माग बढी, पूर्ति कम र बर्खामा माग कम र पूर्ति बढी हुन्छ । उता, भारतमा भने यसको ठीक उल्टो हुन्छ,’ उनले भने, ‘त्यसैले बर्खामा विद्युत् भारतमा दिने र हिउँदमा विद्युत् आयात गरेर म्यानेज गर्ने योजना बनाएका छौँ ।’

अर्काे आर्थिक वर्ष विद्युत् उत्पादनमा कोसेढुंगा



नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता अधिकारीले आगामी आर्थिक वर्ष विद्युत् उत्पादनको हिसाबले कासेढुंगा हुने बताएका छन् । उनले भने, ‘नेपालकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ४ सय ५६ मेगावाटसहित करिब ११ सय ५० मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ, त्यसैले आगामी वर्ष जलविद्युत्को क्षेत्रमा कोसेढुंगा बन्नेछ ।’

प्राधिकरणसँग विद्युत् सम्झौता गरेर निर्माण चरणमै रहेका निजी क्षेत्रको संख्या करिब ३ हजार मेगावाटको हाराहारीमा रहेको उनले जानकारी गराए । 

सन् २०२६–२७ बाट विद्युत् आयात बन्द

नेपाल अबको ८ वर्षभित्रमा विद्युत्मा पूर्ण निर्भर हुने अधिकारीले जानकारी दिए । २०२६÷२७ सम्ममा अहिले भइरहेको विद्युत् आयात बन्द हुने उनको दाबी थियो । ‘विभिन्न अध्ययनले ८ वर्षमा हामी पूर्ण रूपमा आत्मनिर्भर हुने देखाएको छ,’ उनले भने । 

अहिले बन्दै गरेका आयोजनाको अवस्था अध्ययन गर्दा ८ वर्षपछि एक मेगावाट पनि विद्युत् आयात गर्नु नपर्ने उनले दाबी गरे । त्यतिवेला आफ्नै आयोजनामा भर पर्न सकिने उनले प्रस्ट पारे । 


  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १४:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया