‘ती दिन, ती पात्र’मा आज राजा दीपेन्द्र वीरविक्रम शाह । राजा वीरेन्द्र र रानी ऐश्वर्यका जेठा छोरा । राजगद्दीका उत्तराधिकारी । उनै युवराज दीपेन्द्रमाथिको एउटा गम्भीर आरोप इतिहासमा दर्ज भएको छ । दरबारभित्रको पारिवारिक जमघटमा गोली हानी राजा–रानीलगायतको हत्या गरेको आरोप उनीमाथि लाग्यो । उनलाई दरबार हत्याकाण्डको एक्लो दोषी ठहर गरियो । हत्याकाण्डमा दोषी मानिएका दीपेन्द्र पनि स्वयं जीवित रहेनन् ।
२३ वर्षअघि जेठको त्यो वीभत्स र संसारलाई नै स्तब्ध पार्ने घटना, अर्को कोतपर्व !
राजा–रानी, युवराज, अधिराजकुमार अधिराजकुमारीसहित राजपरिवारका १० सदस्यको गोली हानी हत्या भएको राजदरबार हत्याकाण्ड आजकै दिन थियो, अर्थात् १९ जेठ । २०५८ । अंग्रेजी तारिख थियो–सन् २००१ जुन १ ।
त्यतिबेला राजगद्दीका एक मात्र उत्तराधिकारी रहेका युवराज दीपेन्द्रले राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन, काका धीरेन्द्र शाह, फुपूहरू शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानेर हत्या गरेको भनियो । त्यसपछि ३० वर्षीय दीपेन्द्रले आफैँमाथि गोली प्रहार गरेको बताइएको छ ।
छाउनी अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई अर्को दिन अर्थात् जेठ २० मा राजगद्दी सुम्पने काम भयो । उनलाई राजा घोषणा गरियो । जतिबेला दीपेन्द्रको मृत्यु भइसकेको थियो । उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो । घटनाको तीन दिनपछि राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरियो । ज्ञानेन्द्र नयाँ राजा घोषित भए । नयाँ राजाले छानबिन गर्न आदेश दिए । छानबिन समितिले लागूपदार्थ र रक्सीले मातेका दीपेन्द्रलाई नै राजदरबार हत्याकाण्डको दोषी ठहर गर्यो ।
दीपेन्द्रलाई हत्यारा भनिए पनि आमरुपमा त्यो अझै स्वीकार्य भने छैन । किनकि, जसरी मदन भण्डारी–जीवराज आश्रितको सडक दुर्घटना र माओवादीको सशस्त्र युद्धको उदय रहस्यमय छ । त्यसै गरी राजदरबार हत्याकाण्ड पनि अझैसम्म सुल्झिन नसकेको एउटा यस्तो हत्याकाण्ड हो, जुन घटनामा राजा वीरेन्द्रको वंश नाश भएको छ । कतिपयले यही घटनालाई राजसंस्था निर्मूलको प्रारम्भ विन्दु मान्दै आएका छन् ।
उक्त हत्याकाण्डको दोषी दीपेन्द्र नै हुन् भने पनि उनले आफ्नै वंश नाश गर्ने निर्णय लिन किन बाध्य भए ? यो प्रश्न हिजो पनि थियो । आज पनि छ । भोलि पनि रहिरहनेछ ।
यसै सन्दर्भमा दीपेन्द्रको प्रेम कहानीको कुरा आउँछ । राजनीतिज्ञ पशुपतिशमशेर राणाकी छोरी देवयानीसँगको प्रेमलाई विवाहमा परिणत गरेर राजदरबारको रानी बनाउने दीपेन्द्रको चाहना थियो । तर, देवयानीसँग बिहे गर्न दीपेन्द्रले राखेको प्रस्तावमा आमा अर्थात् रानी ऐश्वर्य बाधक बनिन् । रानीको निर्णयका अगाडि राजा वीरेन्द्रसहित परिवार नै झुक्यो । यसले राजपरिवारमा किचलो ल्यायो । विवाद उत्कर्षमा पुग्यो । यही कारण दीपेन्द्रले हत्या गरे र आफैँलाई पनि सिध्याए भन्ने गरिन्छ ।
त्यसो त प्रेममा जे पनि हुन सक्छ ।
के थियो, दीपेन्द्र–देवयानी प्रेम गाथा ?
लक्का जवान दीपेन्द्र प्रेमको मामिलामा बढी नै उदार थिए । उनी एकसाथ धेरैसँग प्रेम गर्न पनि भ्याउँथे । ती चाहे विदेशी हुन् वा नेपाली । यही सन्दर्भमा उनको माया बस्यो– देवयानी राणासँग । भयो के भने, दीपेन्द्र बेलायतको इटन कलेज पुगेका थिए, अध्ययनका शीलशीलामा । त्यहीबाट उनले ए लेभल पूरा गरे । त्यतिबेला १८ वर्षका लक्का जवान दीपेन्द्रको भेट बेलायतमै पढिरहेकी देवयानीसँग भयो । भेट प्रेममा परिणत भयो । प्रेम झाँगिँदै गयो । दुवै जना नेपाल फर्किए । देवयानीभन्दा अगाडी नै काठमाडौंकी सुप्रिया शाहसँग पनि प्रेममा थिए,दीपेन्द्र । देवयानीसंग प्रेममा रहेको थाहा पाएपछि सुप्रियाको सातो मात्र गएन,उनले दीपेन्द्रको पनि सातो लिइन । स्थिति यस्तो आयो कि दीपेन्द्रले देवयानी या सुप्रिया रोज्नुपर्ने भयो । बुढानिलकण्ठमा सात कक्षामा पढ्दादेखि नै सुप्रियाको प्रेममा रहेका दीपेन्द्रको जीवनमा देवयानीको आगमन भएपछि उनी दुई फुलका एक माली भए । तर सुप्रियासँग विवाह गर्न आमा अर्थात् रानी ऐश्वर्यले अनुमति नदिएपछि दीपेन्द्र देवयानीसँग विवाह गर्ने निर्णयमा पुगे ।
तर, हरेक प्रेम विवाहमा परिणत हुन्छ नै भन्ने के छ र ! दीपेन्द्रको हकमा पनि यस्तै भयो ।
सुप्रियालाई जस्तै देवयानीलाई पनि रानी ऐश्वर्यले आफ्नी बुहारी र यो देशको रानी बनाउन अस्वीकार गरिन् । दीपेन्द्रले विभिन्न माध्यमबाट आमालाई फकाउन, फुस्ल्याउन खोजे । तर, ऐश्वर्य टसकोमस भइनन् । देवयानीको मामिलामा दीपेन्द्र एकातिर, परिवारका अधिकांश सदस्य अर्कोतिर । कित्ताकाटको स्थिति बन्यो । यसपछि दीपेन्द्रको तनावका दिन सुरु भयो । देवयानीबाहेक अरू कसैसँग विवाह गर्न दीपेन्द्र नचाहने, आमासहित परिवारका केही सदस्यहरू देवयानीलाई दुलही नस्वीकार्ने ।
आखिर किन देवयानीलाई दुलही बनाउन दरबारले अस्वीकार गर्यो त ?
देवयानीको मावली भारतमा थियो । भारतमा सम्बन्ध भएकी केटीसँग दीपेन्द्रको विवाह गराउनुहुन्न भन्ने राजदरबारको बुझाइ थियो । दरबारको गोप्य कुरा भारतसमक्ष नपुगोस् भन्ने बुझाइ महेन्द्रकालिन बुझाइ दरबारमा हाबी भयो ।
राजदरबारमा कार्यरत रहँदा दीपेन्द्रलाई नजिकबाट चिनेका पूर्वसैनिक सचिव तथा रथी विवेककुमार शाहले आफ्नो पुस्तक ‘मैले देखेको दरबार’ मा लालन, पालन र तालिममा अभिभावकले खासै ध्यान नदिँदा दीपेन्द्रले आफूलाई एक्लो महसुस गरेको उल्लेख गरेका छन् । देवयानीसँग विवाह गराउने र विवाह हुन नदिने दुई पक्ष दरबारभित्र पनि सक्रिय रहेको उनको पुस्तकमा उल्लेख छ ।
उनले लेखेका छन्–
दीपेन्द्र सरकारले देवयानीबाहेक अरू जसलाई चाहे पनि विवाह गराइदिन महाराजाधिराज तथा बडामहारानी तयार होइबक्सन्थ्यो । तर, सरकार देवयानीबाहेक अरूसँग विवाह गर्दै नगर्ने अठोटमा पुगिबक्सेको थियो । त्यस बेला देवयानीसँग दीपेन्द्र सरकारको विवाह गराउन निकै ठूलो समूह नै सक्रिय रहेछ, जुन कुरा हामीले धेरै पछि मात्र थाहा पायौँ । देवयानीसँग विवाह गराउन परिवारका सदस्यहरू मात्र होइन, देश–विदेशका विभिन्न समूह पनि योजनाबद्ध रूपमै क्रियाशील रहेछन् । देवयानी भारतको ग्वालियर राजघरानाकी नातेदार भएकाले भारतीय संस्थापन पक्ष तथा नीति निर्माण तहमा रहेका केही पदाधिकारीहरूमा उनलाई नेपालकी बडामहारानी बनाउन पाए राम्रो हुन्थ्यो भन्ने सोचाइ थियो । त्यस्तै, देवयानीनिकट राणा परिवारका साथै युवराजाधिराजका एडिसीहरूको पनि सरकारको विवाह देवयानीसँगै होस् भन्ने चाहना भएको देखिन्छ ।
दीपेन्द्रको कमीकमजोरीमा खेलेर महत्त्वाकाङ्क्षा उकासेकै कारण दरबार हत्याकाण्ड भएको लेखक शाहको निष्कर्ष छ ।
उनले लेखेका छन्–
दीपेन्द्र सरकारलाई ‘ही इज अ गुड लिडर, स्ट्रङ लिडर, दीपेन्द्र सरकार स्ट्रङ किङ हुन सकिबक्सन्छ’ भनेर केही मान्छेले बारबार उक्साउने गरेको हामीले नदेखेका, नसुनेका थिएनौँ । यसप्रकार राजपरिवारभित्रको कलह र विवाद तथा कमी कमजोरीमा खेल्दै युवराजाधिराज दीपेन्द्रको महत्त्वाकाङ्क्षालाई उकासेर लामो तथा सुविचारित षड्यन्त्रअन्तर्गत देशी तथा विदेशी शक्तिले दरबार हत्याकाण्ड गराएका हुन् भन्ने मेरो निष्कर्ष छ ।
हत्या दीपेन्द्रले नै गरे वा षड्यन्त्रको तानाबाना बुनियो ? यो बेग्लै विषय हो । आफूले चाहेको दुवै प्रेममा परिवार बाधक बनिदिएपछि आवेगमा दीपेन्द्रले जे गरे,त्यसले नेपाली राजनीतिको नक्सा नै परिवर्तन गरिदियो ।
राजदरबारमा आमाको अहं र छोराको हठका कारण राजा वीरेन्द्रको वंश नाश मात्र भएन, दीपेन्द्र–देवयानी प्रेम कहानीको पनि पटाक्षेप भयो । दीपेन्द्रले संसार छाडे । देवयानीले भारतको शाही परिवारसँग बिहे गरेर बसिन ।
भन्छन् नि,प्रेममा जे पनि हुन सक्छ ।
दीपेन्द्र–देवयानी प्रेम कहानीमा पनि यस्तै भयो ।
यो पनि :
ती थिए, मदन भण्डारी [भिडियोसहित]
के हो कटवाल काण्ड, सेनापति गलहत्याउने प्रचण्ड प्रयास कसरी भयो असफल ? [भिडियोसहित]
३४ वर्षअघि कसरी ढल्यो राजा महेन्द्रले जग हालेको पञ्चायती व्यवस्था ? [भिडियोसहित]
डा. केआई सिंह : तिलस्मी, सन्की तर जोदाहा प्रधानमन्त्री [भिडियोसहित]
सिंहदरबार कब्जा हान्दा नारायणहिटी गुमाएका राजा ज्ञानेन्द्र [भिडियोसहित]
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।