निर्यातभन्दा आयात १५ गुणा बढी !

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो ८ महिनामा निर्यातभन्दा आयात १५ गुणाले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म नेपालमा ९ खर्ब ४९ अर्ब ११ करोडको आयात हुँदा ६१ अर्ब २२ करोडको मात्रै निर्यात भयो । 

रिपोर्टअनुसार पहिलो ८ महिनामा १४.६ प्रतिशतले निर्यात वृद्धि भयो भने, आयात २३.८ प्रतिशतले बढेको छ । यो गत वर्षको भन्दा धेरै हो । गत वर्षको सोही अवधिमा निर्यात १०.८ प्रतिशतले बढ्दा आयात २२ प्रतिशतले बढेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२.० प्रतिशत, चीनबाट भएको आयात ३७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २०.८ प्रतिशतले बढेको छ । प्रतिशतका आधारमा भारततर्फ २६.३ प्रतिशत र अन्य मुलुकतर्फ १.३ प्रतिशतले निर्यात वृद्धि भएको छ । यस्तै, चीनबाट २७.६ प्रतिशत आयात कमी आएको छ । 

विशेषगरी वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, जुटका सामान, ऊनी गलैँचा, दाललगायत वस्तुको निर्यात बढेको छ भने अलैँची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, तयारी पोसाक, रोजिनलगायत वस्तुको निर्यात घटेको छ । 

यस्तै नेपालले भारतबाट गरेको आयातमा २२ प्रतिशतले र चीनबाट गरेको आयातमा ३७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयातमा २०.८ प्रतिशतले बढेको छ ।
 
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोसाक, एम.एस. बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, विद्युतीय सामग्रीलगायत वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायत वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ । 

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयबाहेकका ठूला भन्सार नाकाबाट  बाहिरिने निर्यातमा वृद्धि भएको छ । 



सोही अवधिमा निर्यात–आयात अनुपात ६.५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.० प्रतिशत रहेको थियो । यो अवधिमा कुल वस्तु व्यापार घाटा २४.५ प्रतिशतले विस्तार भई ८८७ अर्ब ८८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।
 



  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १५:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया