logo-img

४० लाख लागतमा म्याग्दीको दग्नाममा खेल मैदान निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो ।

४० लाखको लागतमा १ सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताए । ‘व्यवस्थित खेलमैदान बनेपछि विद्यालय परिसर र खेतबारीमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने समस्या हटेको छ’, उनले भने । 

खेलाडीलाई फुर्सदको समयमा ब्यायाम, खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको १५ लाख रुपैयाँ सहयोगमा ढलान गरिएको खेलमैदानमा अपर र मङ्गले राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुण्डी हाइड्रोपावरको १४ लाख रुपैयाँ बजेटमा स्टेज निर्माण भएको अध्यक्ष तिलिजाले बताए । 

गाउँपालिकाबाट विनियोजित ११ लाख बजेटबाट प्याराफिट निर्माण र तारजालीले खेलमैदानको डिलतर्फ घेराबार गरिएको वडाध्यक्ष पविन गर्बुजाले बताए । बाहालवाला र सेवानिवृत्त भारतीय गोर्खा सैनिकहरूको रु पाँच लाख बढी सहयोगमा बास्केटबलको फाइबर बोर्ड जडान भएको छ । 

क्लबका पूर्वअध्यक्ष गुन पुनले खेलमैदान निर्माणका लागि स्थानीय यौमन गर्बुजाले पाँच रोपनी, भक्त र रुकबहादुर गर्बुजका दाजुभाइ, नन्दबहादुर र कुलप्रसाद गर्बुजाका दाजुभाइ एवं विशाल र श्रीलाल गर्बुजाका दाजुभाइका परिवारले गरी पाँच रोपनी बढी जग्गा दान गरेका जानकारी दिए । रासस  





  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया