नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय राजनीतिमा बढेको अस्थिरता र अविश्वासले पुनरुत्थानवादी शक्तिलाई हौसला मिलेको बताएको छ ।
आइतबार काठमाडौंमा पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीले उत्पादनमा ह्रास, लगानी र पूँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिलाई हौसला मिलिरहेको जानकारी दिइएको हो ।
अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टीले यस्तो कुकृत्यबाट भाग्न नमिल्ने बताए । उनले प्रमुख प्रतिपक्षीसहितका दलहरूको बैठकमा सहभागी हुँदा प्रधानमन्त्रीसँग छलफल गरेको समेत बताए ।
प्रदेश सरकारमा सत्ता घटक भएको कारण बैठकमा सहभागी भएको बताउँदै उनले कुनै पनि नेतासँग उठबस गर्नु नौलो नभएको बताए । ‘प्रदेश सरकारका लागि सत्ता घटक भएका कारण प्रमुख प्रतिपक्षीहरूसँग हामी सहभागी भएका हौं । कसैले पनि कुनै नेतासँग पनि उठबस गर्न पाउँछ र हामीले पनि पाउँछौँ । कसैले आत्तिनुपर्ने आवश्यकता छैन । मैले विपक्षीहरूको बैठकमा सहभागी भएको विषयमा प्रधानमन्त्रीसँग फोन वार्तामा जानकारीसमेत गराएको थिएँ,’ नेपालले भने ।
त्यस्तै, अध्यक्ष दाहालले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा चारवटा दस्तावेजहरू प्रस्तुत गर्ने बताए । उनका अनुसार महाधिवेशनमा राजनीतिक प्रतिवेदन, नेपाली विशेषताको समाजवादको कार्य दस्तावेज, संगठनात्मक प्रस्ताव र विधान प्रस्ताव प्रस्तुत हुनेछ ।
दस्तावेजमा पार्टीको ग्रासरुटदेखि माथिल्लो तहबाट समेत सुझाव संकलन भइरहेको बताए । सो अवसरमा पार्टीको दसौँ महाधिवेशनको लोगो समेत सार्वजनिक गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।