logo-img

विशेषज्ञकाे सुझाब : गर्मीयाममा कसरी जोगाउने आँखा ? [भिडियोसहित]
यस्ता छन् मुख्य समस्या र समाधानका उपाय

आँखा हाम्रो शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । आँखाकै कारण संसार देखिने भएकाले शरीरका विभिन्न अंगमध्ये आँखाको महत्व अझै अधिक छ भन्नु अत्युक्ति नहोला । गर्मीको समयमा आँखामा विभिन्नखाले समस्या देखापर्छन् । त्यसमाथि मोबाइल, टिभी, कम्प्युटर, ल्यापटपलगायत ग्याजेट्सको प्रयोग बढ्दो रहेकाले आँखामा झनै बढी समस्या देखापर्छ । 

मौसमअनुसार आँखामा फरक–फरक समस्या देखिने गरेको हुन्छ । हिजोआज देशभर गर्मी बढ्दै गइरहेको अवस्था छ । गर्मी बढेसँगै वायुमण्डलमा प्रदूषण पनि बढ्दै गइरहेको अवस्था छ । यससँगै वायुमण्डलमा बढ्दै गएको प्रदूषण, विश्व तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, अत्यधिक जनघनत्वका कारण बढ्दो फोहोरलगायत कारणले गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन् ।

यो याममा हावा चल्ने, धुलोधुँवाले आँखामा विभिन्नखाले समस्या ल्याउने सम्भावना अत्यधिक रहन्छ । यसैले गर्मीमा आँखाको विशेष ख्याल गर्नुपर्छ । यो समयमा मुख्य रूपमा आँखा सुक्खा हुने, एलर्जी तथा आँखा पाक्ने समस्या देखिन्छन् । 

आँखा पाक्ने समस्या

हाम्रो आँखाको सेतो भागमा झिल्ली हुन्छ । आँखाको ढकनीमा लाग्ने झिल्लीमा संक्रमण भयो भने आँखामा संक्रमण हुन्छ । यसले गर्दा आँखा पाक्ने समस्या आउँछ । मुख्यतः भाइरस र ब्याक्टेरियाको संक्रमणले नै आँखा पाक्छ । 

यसबाहेक अन्य कीटाणुको कारणले पनि आँखा पाक्छ । शरीरको प्रतिरक्षा प्रणालीमा ब्याक्टेरियासँग लड्ने क्षमता कम भयो भने पनि संक्रमण देखिन्छ । 
आँखा पाक्ने रोगलाई सरुवारोगका रूपमा हेरिन्छ । आँखा पाकेका मानिसका आँखामा हेर्दा यो रोग सर्छ भन्ने आममान्यता छ । तर, हेर्दैमा रोग सर्ने होइन । आँखा पाकेको मानिसको आँखाको आँसुबाट यो रोग अर्को मानिसमा सर्छ । 



यस्ता छन् लक्षण

–आँखामा अप्ठेरो महसुस हुन्छ, 
–आँखा रातो हुन्छ, 
–आँखाबाट चिप्रा आउने समस्या हुन्छ,
–आँखाको वरिपरिको ढकनी सुन्निन्छ,
– उज्यालोमा हेर्न गाह्रो हुन्छ



उपचार

आँखामा देखिएको समस्याको उपचार हचुवाका भरमा गर्नुहुँदैन । अनुमानका भरमा जुन पायो त्यही औषधि आँखामा हाल्नुहुँदैन । आँखामा समस्या आएपछि नेत्र विशेषज्ञको सल्लाहअनुसार औषधिको प्रयोग गर्नुपर्छ । हामीले संक्रमण कम गर्नका लागि औषधि दिन्छौँ । आँखाको सरसफाइमा ध्यान दिनुपर्छ । आँखामा लागेको कचेरा सफा गर्नुपर्छ । आँखालाई हातले छुनुहुँदैन । यदि छोइयो भने साबुन पानीले हात धुनुपर्छ । जो व्यक्तिले आँखामा औषधि हाल्छ, उसले पनि हात धुनुपर्छ । बिरामीले प्रयोग गर्ने रुमाल, सुत्ने सिरानी अलग्गै हुनुपर्छ । साना केटाकेटी छन् भने आँखा छोएको हातले तिनलाई छुनुहुँदैन ।

आँखामा एलर्जी

आँखा चिलाउनु एउटा एलर्जी नै हो । यो के कारणले भएको हो भन्ने पत्ता लगाउन विशेष किसिमले परीक्षण नै गर्नुपर्छ । तर, सामान्यतया धुवाँ–धुलो अनि घामको कारणले पनि आँखा चिलाउने गरेको पाइएको छ । 

आँखा चिलाउँदा आँखा रातो हुने, आँखामा आँसु आउनेलगायत समस्या देखापर्छन् । एलर्जीका कारण कतिपय मानिसको आँखाको सेतो भाग नै पहेँलो हुने समस्या हुन्छ । यस्तो भएको खण्डमा पहिला एलर्जी भएको हो होइन, यकिन गर्नुपर्छ । एलर्जी भएको खण्डमा एलर्जीविरुद्धको औषधि खानुपर्छ । एलर्जीको औषधि अलिक लामो समयसम्म पनि खानुपर्ने हुनसक्छ ।

जोगिने उपाय

एलर्जीबाट जोगिन बाहिर धुलोमा हिँड्दा चस्मा लगाउनुपर्छ । आँखाको सुरक्षा गर्नुपर्छ । चिसोले, बरफले आँखा सेक्नुपर्छ । यसले आँखालाई फाइदा गर्छ । राम्रो र ब्रान्डेड चस्मा प्रयोग गर्दा आँखाको सुरक्षा राम्रो हुने समाजमा भ्रम पनि पाइन्छ । तर, साधारण चस्माले पनि आँखाको सुरक्षा गर्छ ।

आँखा पोल्ने समस्या

गर्मी मौसममा आँखा पोल्ने समस्या पनि देखिन सक्छ । आँखामा आँसुको कमी भएमा आँखा पोल्ने समस्या हुन्छ । आँखामा आँसुको कमी भएर आँखा पोल्ने समस्या भयो भने औषधिमार्फत आँसुको मात्रा बढाउन सकिन्छ । आँसुको मात्रा धेरै नै कम भएको खण्डमा र आँसुको मात्रा अलिकति मात्रै कम भएको समयमा प्रयोग गर्ने औषधि भने फरक हुन्छ ।

आँखा पोल्ने कारण अन्य पनि हुन सक्छन् । आँखा पोल्ने समस्या भएको व्यक्ति धुलो र घामबाट जोगिनुपर्छ ।

उपचार

आँखामा बरफले सेक्यो भने फाइदा हुन्छ । चस्मा लगाउनुपर्छ । ओपिडिमा आउने बिरामीको समस्या हेर्दा धेरै प्रतिशत आँखा पोल्ने, चिलाउने, निद्रा नलाग्ने, थकानजस्तो भयो भन्ने गरेका हुन्छन् । यो सबै आँखा सुक्खा भएर हुने हो । 

काठमाडौंको धुवाँ–धुलोको कारणले यस्तो समस्या उत्पन्न हुन्छ । आँखामा कुनै पनि समस्या भएको महसुस भएमा आँखारोग विशेषज्ञकहाँ जानुपर्छ ।

(आँखारोग विशेषज्ञ डा. शैलेश प्रधानसँग गरिएको कुराकानीमा आधारित)

  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया