Mon, 20 May, 2019


अन्तरिक्षमा नेपाल : नानाे स्याटेलाइट 'नेपाली स्याट–१' को सफल प्रक्षेपण
फरकधार / बैशाख ५, २०७६

काठमाडाैं– नेपालले आफ्नै सूक्ष्म भू–उपग्रह (नानाे स्याटेलाइट) प्रक्षेपण गरेको छ । गएराति २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियाबाट नेपाली झन्डासहितको नानाे स्याटेलाइट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा प्रक्षेपण गरिएको हो । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरुले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिएको हो ।

यो स्याटेलाइटको नाम ‘नेपाली स्याट-१’ राखिएको छ । स्याटेलाइट अन्तरिक्षमा पुग्न झन्डै एक महिना लाग्ने नास्टका वैज्ञानिकहरुकाे अनुमान छ । 

याे स्याटेलाइट जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीकाे सहयाेगमा निर्माण भएकाे हाे । क्युसु इन्स्टिच्युटले संयुक्त राष्ट्रसंघको सहकार्यमा ६ वर्षदेखि बर्डस् कार्यक्रमअन्तर्गत आफ्नै भूउपग्रह नहुने मुलुकको क्षमता विकास गर्न सघाइरहेको छ । सोही कार्यक्रमअन्तर्गत नेपाली वैज्ञानिक आवास मास्के र हरिराम श्रेष्ठले जापानमा बसेर नानो स्याटेलाइट बनाएका हुन् ।

१० सेन्टिमिटर लम्बाइ, चौडाइ र उचाइ भएको यो स्याटेलाइटकाे ताैल १३०० ग्राम छ । नानोको आयु बढीमा तीन वर्ष छ । तीन वर्षपछि यो आफैँ जलेर ध्वस्त हुनेछ ।

सजिलै हातमा बोक्न सकिने स्याटेलाइटमा नेपालको झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीको नाम पनि छ । नेपाल सरकारले यसका लागि १ करोड ८२ लाख रुपैयाँ सहयाेग गरेकाे छ । 

नेपाली स्याटेलाइटको प्रक्षेपण पूर्ण सफल भएकाे छ । नानो स्याटेलाइट लन्चिङ सफलता दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत छ । सोहीअनुसार यसकाे यात्रा सफल हुनेमा आफूहरू विश्वस्त रहेको नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा. सुरेशकुमार ढुंगोल बताउँछन् । 

यो स्याटेलाइट जेठको पहिलो वा दोस्रो साता अन्तरिक्षमा रिलिज हुनेछ र यसले अन्तरिक्षबाट तस्वीरसहितका डाटाहरु पठाउनेछ साथै माैसमी सूचना पनि दिन सक्नेछ । 

स्याटेलाइटले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउनेछ ।

केही दिनमै 'नेपाली स्याट-१' लाई नेपालकै पहिलो स्याटेलाइटका रुपमा दर्ता गरिँदै छ । पहिलोपटक प्रक्षेपण गरिएको नानो स्याटेलाइट व्यावसायिक प्रयोजनका लागि नभई ज्ञान र क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण मानिएको छ । 


यो पनि नछुटाउनुहोस्