काठमाडौं महानगरपलिकाका ४ सय ७३ विद्यालयले छात्रवृत्ति विवरण गरेको प्रमाण पेस गरेका छन् । महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्मअध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थीमध्ये चालू शैक्षिक सत्रका लागि १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक विद्यार्थीलाई वितरण गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था कार्यान्वयन गराउन पटकपटक महानगरले अनुरोध गर्दा ४७३ संस्थागत विद्यालयका १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएको विवरण प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलब्ध गराउन बिहीबार एक सूचनामार्फत पुनः अनुरोध गरेको छ ।
यस अवधिभित्र पनि माग भएको विवरण पेस नगर्ने विद्यालयलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखिकरण गरिने महानगरले चेतावनी दिएको छ ।
यस्तै, महानगरले त्यस्ता विद्यालयमा विद्यार्थी भर्ना नगर्न तथा गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावकलाई सूचित गर्ने तथा रीतपूर्वक छात्रवृत्ति विवरण उपलब्ध नगराउने विद्यालयहरूलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने जारी सूचनामा उल्लेख गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।