logo-img

सत्तारुढ दलहरूबीच समस्या छ, तर एमाले अहिले नै विकल्प खोज्ने पक्षमा छैन : एमाले महासचिव
'प्रधानमन्त्रीलाई आवश्यक परेमा मन्त्री फिर्ता बोलाउन छलफल गर्न सकिन्छ'

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धनमा समस्या देखिएकाे बताएका छन् । सरकारमा सहभागी दलहरूभित्र समस्या देखिए पनि एमाले वर्तमान गठबन्धनकै निरन्तरताको पक्षमा रहेको उनले बताए । 

सरकारमा सहभागी दलहरूभित्र देखिएको विवाद र असन्तुष्टिले गठबन्धनको विषयमा केही आशंका उब्जिएको स्वीकार गर्दै उनले एमाले अहिले नै विकल्प खोज्ने पक्षमा नरहेकाे प्रस्ट पारे । 

उनले प्रधानमन्त्रीलाई आवश्यक परेमा मन्त्री फिर्ता बोलाउने वा नबोलाउन विषयमा छलफल गर्न सकिने बताए । मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा पार्टीभित्र भने छलफल नभएको उनको भनाइ छ ।

एमालेले आयोजना गरेको बजेटमाथिको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमाथि असहमति रहे पनि वर्तमान सरकारको निरन्तरताको पक्षमा रहेको बताए।

यस्ताे छ उनको भनाइ :

यो सत्ता समीकरण बनाउने हामी मुख्य साझेदार हौँ। र, यो समीकरणलाई मिसन ०८४ सम्मलाई निरन्तरता दिन चाहन्छौँ। त्यसैले बीचमा दायाँबायाँ हुने अवस्था छैन। यो बीचमा केही गर्छौं कि भन्न मनसाय छैन। ०८४ सम्म जानको लागि यो सरकारले जनताको अपेक्षा अनुसार मुलुकको संकटलाई समाधान गर्ने हिसाबले प्रभावकारी होस् भन्ने हाम्रो चिन्ता हो।



हामी साझेदार भएकाले प्रचण्ड नेतृत्वको सरकार प्रभावकारी बनोस्, जनताको अपेक्षामा खरो उत्रियो भन्ने चाहेका छौँ। बजेट निर्माणमा त्यो कुरामा चाहिँ ख्याल पुगेन कि ध्यान गएन कि, सत्ता साझेदार दलहरूसँग पर्याप्त परामर्श गरेका भए कमी कम हुन्थ्यो कि भनेका हौँ। यसलाई असहमति मान्नुहुन्छ भने असहमति पनि हो। सुझाव मान्नुहुन्छ भने सुझाव पनि हो।

तर, यो कुरा राखे पनि सरकारको निरन्तरताको पक्षमा रहेकाले बजेटका पक्षमा रहन्छौँ भनेका छौँ। हामी बजेटको विपक्षमा जान्दैनौँ। बजेट आइनै सक्यो। कमी देखिए कार्यान्वयन प्रक्रियामा सुधार गरेर जानुपर्छ भन्ने हाम्रो बुझाइ छ। बजेटमाथिको छलफल र टीकाटिप्पणी सरकारको विरोध होइन। सरकारलाई सफल बनाउन दिएको सुझाव हुन्।



बजेटलाई सबैले अपनत्व दिने आधार तयार गर्ने भूमिका अर्थमन्त्रीले खेल्नुपर्ने हो। सत्तामा रहेका सबै दलहरू खुसी बनाउने आधार तयार पार्नुपर्थ्यो। एक्लै पैरवी गर्ने भन्ने कुरा चाहिँ मिलेर पैरवी गर्दा कार्यान्वयन क्षमता बढ्थ्यो। हामीले रचनात्मक सुझाव दिएका हौँ। सरकारलाई कमजोर बनाउने उद्देश्यले होइन।

यसअघि नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि गठबन्धन दलहरू भित्रको विवादले सरकारलाई असर नगर्ने बताएका थिए । 

सत्ता घटक दलहरूभित्र केही समस्या भए पनि सरकार सुरक्षित रहेको उनकाे दाबी थियाे । मन्त्री फिर्ता बोलाउने विषयमा प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग कुराकानी गरिरहेको उनले बताएका थिए ।

अब छिट्टै नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई समेत सरकारमा ल्याउने उनकाे भनाइ छ । माओवादीबाट मन्त्री फिर्ता बोलाउने विषयमा पार्टीभित्र औपचारिक छलफल नभएको उनले बताएका थिए । 

  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया