logo-img

नयाँ बजेटले राेक्न सक्ला युवा पलायन ?

उद्यमशीलतालाई प्रवर्द्धन गरेर बेरोजगार युवाको जमातलाई देशभित्र रोक्न नसक्ने हो भने सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा केबल कागजमा मात्र सीमित रहने खतरा छ । हरेक वर्ष अथाह विप्रेषण भित्रिन्छ र मुलुकको अर्थतन्त्र धानिन्छ भनेर सन्तोष मान्न सकिँदैन । पारिवारिक विग्रह र विखण्डन एकातिर छ भने परिवारकै आयको स्रोत रहेको मुख्य व्यक्तिको अगभंग मात्र हैन, अवसान नै पनि मूल्यबाट आँक्न नसकिने क्षति हो भन्ने नीति निर्माताहरुले बुझ्न जरुरी छ । 

हरेक वर्ष थपिने श्रमशक्तिलाई उत्पादन बढाउन र उद्यमशीलतामा लगाउन सरकारले ध्यान नपुर्याए बेरोजगारीकै कारण बिदेसिने युवाको संख्या झनै बढ्ने देखिन्छ । पछिल्ला समय रोजगारी सिर्जना र बेरोजगारी न्यूनीकरण गर्न सरकार र राजनितिक नेतृत्व उद्यम र उद्यमशीलता विकासमा आवश्यक वातावरण बनाउन लाग्नुपर्ने स्वर आमजनमानसबाट उठ्न थालेका छन् । 



बजेट निर्माणको पूर्वसन्ध्यामा काठमाडौँमा उद्यमशील कंग्रेसले गरेका ‘उद्यमशीलता, उद्यमी र बजेट’ विषयक छलफलमा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सरकार र दृढ इच्छाशक्तिले मात्रै उद्यम र उद्यमशीलताको प्रवद्धन गर्न सकिने बताए । ससाना पुँजीको प्रयोगले ठूलो सफलता दिलाउने र त्यसरी साना पुँजी परिचालन गरी स्थानीय उत्पादनलाई बजार पुर्याउन सबै सरोकारवाला लाग्नुपर्ने पूर्वमन्त्री रिजालको धारणा छ । ‘राजनीतिक नेतृत्वले उद्यममैत्री वातावरण बनाउन तथा नीतिगत व्यवस्था गर्न लाग्नुपर्छ’ नेता रिजाल भन्छन् । नीति कार्यक्रम र बजेट व्यवसायमैत्री बनेर मात्रै नहुने त्यसको कार्यान्वयनमा दृढ हुनुपर्ने उनको भनाइ थियो ।
    
कुनै पनि मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक युवाको योगदान नै हरेक देशको विकास र प्रगतिमा प्रमुख हुने गरेको छ । युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकासबाटै राष्ट्रले विकास निर्माण तथा समृद्धिमा प्रगति हासिल गरेको देखिन्छ ।
    
नेपालका सन्दर्भमा युवा जनसांख्यिक लाभांशबाट फाइदा लिई आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तन गराई समृद्धिका युगमा प्रवेश गर्न सक्ने ठूलो अवसर छ । नेपालमा युवा उमेर समूह कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी छ । 

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार १५ देखि ४० वर्ष उमेर समूहका युवाको जनसंख्या ४२.५ प्रतिशत छ । जनसंख्याको सर्वाधिक सक्रिय, ऊर्जावान् र गतिशील समूहको फाइदा नेपाललाई व्यापक रहे पनि यसको सोचेअनुरूप उत्पादन र उत्पादनशीलतामा लगाउन नसकेकाले आर्थिक र सामाजिक रुपान्तरणमा अपेक्षाकृत परिवर्तन भने देखिएको छैन । 
    
विकास र समृद्धिको संवाहक युवालाई प्रत्यक्ष उत्पादनमा जोड्न राज्यले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने दखिन्छ । युवालाई उत्पादनमा जोड्न मुख्य औजारको रुपमा उद्यमशीलतालाई लिन सकिन्छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकको समृद्धिमा उद्यमशील युवाको प्रमुख भूमिका हुन्छ । 

उद्यमशीलता नवीनतम व्यवसायको तयारी गर्ने इच्छाशक्ति र सिर्जनशीलता हो । नवीनतम व्यवसायका लागि अनुसन्धान, व्यवसायको स्थापना तथा व्यवसाय सञ्चालनको इच्छाशक्ति र सिर्जनशील क्षमता हुनुलाई उद्यमशीलता मान्न सकिन्छ । अर्थशास्त्री तथा उद्यमशीलता तथा नवप्रवर्तन अनुसन्धानका पिता मानिने जोसेफ सुम्पिटरले उद्यमीहरूलाई परिवर्तनका संवाहकका रूपमा हेरेका छन् । उनले उद्यमीहरूलाई सामान्यतया अरूले नदेखेका अवसरहरूको खोजी गर्ने व्यक्तिका रुपमा आफ्नो अवधारणामा प्रस्तुत गरेका छन् । 

उद्यमशीलताको विकासले नागरिकलाई व्यवसायप्रति आकर्षित गराई जोखिम लिन र आर्थिक क्रियाकलापमा आबद्ध गराउँछ । मुलुकको आर्थिक र सामाजिक परिवर्तनका लागि स्थानीयस्तरदेखि नै उत्पादन र उत्पादकत्व बढाउन तथा रोजगारी सिर्जना गरी सबल अर्थतन्त्र बनाउन युवामाझ उद्यमशीलताको विकास गर्नु आजको आवश्यकता हो भन्नेमा धेरै अर्थशास्त्री सहमत देखिन्छन् । 



मुलुकमा युवा बेरोजागारीको समस्या दिनदिनै बढ्दो छ । विभिन्न समयमा विभिन्न निकायले सार्वजनिक गर्ने विवरणमा यसको झलक देखिन्छ । स्वशमै रोजगारी सिर्जना हुन नसकेर लाखौँ युवा कामकै खोजीमा बिदेसिनुपर्ने बाध्यता छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आवको १० महिनामा मात्र साढे छ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । अघिल्लो महिना (वैशाख)मा मात्रै कुल ७० हजार छ सय ३७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । 

यसरी युवा जनशक्ति बिदेसिनुको मूल कारण मुलुकभित्रै रोजगारीको अवसर नपाउनु नै हो । रोजगारीका अलावा गुणस्तरीय शिक्षाकै लागिसमेत बिदेसिनुपर्ने अवस्था छ । उच्च शिक्षा हासिलपछि पनि सोचेअनुरुप रोजगारी नपाइने बाध्यताले युवा शक्ति अन्य मुलुकमा पसिना बगाउन बाध्य छन् ।



उद्यमशीलता र औद्योगिक विकासका निमित्त सरकारले यसअघि पनि विभिन्न कार्यक्रम र योजना अगाडि नसारेका भने होइनन्, तर सोचेअनुरुप उपलब्धि हासिल गर्न सकेको छैन । उत्पादन र रोजगारीका सम्बन्धमा यसअघिका नीति तथा कार्यक्रम र बजेटमा समेत परेका थिए । तर, त्यसको प्रतिफल के भयो भनि हेर्नुपर्ने आवाज उठ्न थालेका छन् । 

सरकारले सार्वजनिक गरेको आव २०८०/८१ को बजेटमा आएका युवा लक्षित केही कार्यक्रमले भने युवा पिँढीमा अलिकति भए पनि आशा जगाउने देखिन्छ । सरकारले आफ्नो बजेट वक्तव्यमा युवालाई मुलुकभित्रै आर्थिक गतिविधिमा लाग्न प्रोत्साहित गर्ने, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गराउने, लगानीमैत्री वातावरण बनाई निजी क्षेत्रको मनोबल उँचो बनाउन आएका कार्यक्रमलाई सकारात्मक रुपमा हेरिएको छ ।

सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यको उद्देश्य र प्राथमिकतामै अर्थमन्त्री पुनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने, निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्ने तथा लगानीमैत्री वातावरण बनाउँदै कृषि, ऊर्जा, सूचना प्रविधि र पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ उल्लेख गरेका छन् ।

युवालाई सिर्जनशील बनाई उत्पादनमा जोड्न सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्न खोजेको देखिन्छ ।  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले युवालाई व्यवसायमा आकर्षित गराई जोखिम बहन गर्न र आर्थिक क्रियाकलापमा सिर्जनशील बनाउन सरकारले प्रतिवद्ध रहेको र बजेट उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिको क्षेत्रलाई केन्द्रमा राखेर बनेको बताउँछन् । 

सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यको पाँच रुपान्तरणकारी क्षेत्रमध्ये उद्यमशीलता र औद्योगिक विकास गर्ने विषयलाई प्राथमिकताका साथ उल्लेख गरेको छ । अर्थमन्त्री सरकारले उत्पादन र रोजगारीलाई केन्द्रमा राखेर बजेट बनाएको र युवा पुस्ताले यसको परिणामदिने गरी कार्यक्रममा सहभागी हुनुपर्ने बताउँछन् । सरकार युवालाई उत्पादनमा जोड्दै अगाडि बढ्न प्रतिबद्ध रहेको उनको भनाइ छ । आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसँग आबद्ध गराउन उद्यमशीलता अनुकूल वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पुनको भनाइ छ । 

बजेटमा संघ, प्रदेश र स्थानीय तह, निजी क्षेत्र, सहकारी तथा समुदायको साझेदारीमा सञ्चालन हुने उत्पादन र रोजकारी कार्यक्रममार्फत कृषिको उत्पादन र उत्पादकत्व बढाउन, कृषिमा आधारित उद्योगको विकास र विस्तार गर्न, ग्रामीण पर्यटन प्रवद्र्धन गर्न तथा सूचना प्रविधिमा आधारित उद्यम स्थापना र सञ्चालन गर्न प्रोत्साहन गरिने उल्लेख छ । बजेटले युवा पुस्ताले अपेक्षा गरे अनुरुप ज्ञान, सीप, नवप्रवर्तन र उद्यमशीलता बढाउन सरकारले आवश्यक वातावरण बनाउन जोड दिएको छ ।  

त्यस्तै युवाको उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न प्रत्येक प्रदेशमा ‘बिजिनेस इन्क्युवेसन सेन्टर’ सञ्चालन गरिने र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने बजेटमा उल्लेख छ । युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्याइने मन्त्री पुनले बताए । 

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सरकारले ‘हिमाल समृद्धि’ कार्यक्रमअन्तर्गत हिमाली क्षेत्रमा भेडा, च्याङ्ग्रा, चौंरीलगायतका पशुपालन र स्याउ, ओखर र जडीबुटीका फार्म सञ्चालन गर्ने र कर्णाली प्रदेशमा कृषि र वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख छ । 
एक लाख ‘रिटर्नी’लाई स्वरोजगार
    
वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीमार्फत उद्यमशीलता प्रवद्र्धन गर्न रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरी कम्तीमा एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने बजेट वक्तव्यमा उल्लेख छ । यसले विदेशमा सीप सिकेर फर्केकाको ज्ञानलाई प्रयोग गरी आफ्नै देशमा उत्पादन र रोजगारी सिर्जना गर्न खोजेको देखिन्छ ।

जनशक्तिलाई आकर्षित गरी उद्यमशीलता विकास गर्न तथा उद्यममा युवा सहभागिता बढाउन मन्त्री पुनले ‘स्टार्ट अप’ र नवप्रवर्तनका लागि इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना गरिने वजेट वक्तव्यमा उल्लेख छ । त्यस्तै स्टार्ट अप उद्यमीलाई सहजीकरण र नियमन गर्न स्टार्ट अप बार्ड गठन गरिने र उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न रु एक अर्बको नेपाल स्टार्ट अप कोष खडा गरेको बजेट भाषणमा उल्लेख छ । 

सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत आउने युवा लक्षित कार्यक्रमले स्वदेशमा उत्पादन बढाउन युवाको सहभागिता बढाउने र रोजगारीका लागि विदेशमा जानेलाई देशभित्रै रोक्ने बताइरहँदा र विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको अवस्थामै पनि त्यसले सोचेअनुरुप नतिजा देखाउन सकेको छैन । यसमा युवा पंक्तिको आत्मबल बढ्न सकेको छैन । 

दिनदिनै विमानस्थलमा देखिने भिडले सरकारले ल्याएका कार्यक्रमको सफलता वा असफलता आफैँ झल्किरहेको चित्रण हुन्छ । ललितपुरस्थित एक कलेजमा स्नातक प्रथम वर्षमा अध्ययन गर्दै गरेका रमेश नेपाल आफू विदेश जाने तयारी गरिरहेको र बाहिर गएर ज्ञान, सीप र पुँजी जुटाएर मात्रै स्वदेश फर्कने बताउँछन् । ‘नियमित पठनपाठनमै समस्या छ, न समयमै परीक्षा हुन्छ, न समयमा परीक्षाफल प्रकाशित हुन्छ, पढाइ सकेर न रोजगारीको अवसर पाइन्छ,’ उनी भन्छन् । 

त्यसो भन्दै गर्दा देशभित्र पनि केही युवाले केही नगरेका भने होइनन् । कतिपयले त समाजमा उदाहरणीय काम नै गरेको पनि छन् । वैदेसिक रोजगारीबाट फर्केर त्यहाँको सीपको प्रयोगले यहाँका युवालाई रोजगारी दिन सक्ने उदाहरण बनेका पनि धेरै छन् । उनी भन्छन्, ‘पाँच वर्ष खाडीमा बसेर काम गरियो, आफ्नै देश फर्कदा खाली हात थियो, अहिले दुई वर्ष भयो आफ्नै होटेल छ, परिवारसँगै बसेको छु । आफैँ साहु बनेर काम गरिरहेको छु ।  सरकारले लागानी सुरक्षित हुने वातावरण बनाइदिए अझै यो व्यवसाय बढाउने योजना छ ।'

ठिमीमा खाजाघर चलाउँदै आएका राम थापामगर आफ्नो अनुभव सोचनीय छ । उनी भन्छन्, 'एउटी छोरी ११ मा पढ्छिन् र छोरो एक वर्षको भयो, अब दुई वर्षपछि छोरीलाई नेपालमै बस्ने बनाउन भने मुस्किल रहेको उनी बताउँछन् । आफन्त र छिमेकमा सगैँका उमेरका साथीहरु प्रायः सबै अब कुन मुलुक जाने होला भनेर सोच्न थालिसकेकाले आफ्नै छोरीमा समेत त्यो सोच आएकाले आफू चिन्तामा पर्ने गरेको उनी बताउँछन् । राज्यले यस्ता युवालाई मुलुकमै गुणस्तरीय शिक्षा र रोजगारीको  वातावरण बनाइदिनुपर्ने उनको माग छ । 

त्यस्तै कृषि, साना उद्योग, विज्ञान तथा प्रविधिको क्षेत्रमा युवाहरुले कामको थालनी गरेका पनि छन् । यस्ता कामलाई प्रोत्साहन मिले बेरोजगार युवा त्यस्ता काममा आकर्षित हुन सक्छन् । मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा उद्यमशीलताको अद्वितीय भूमिका हुनेमा दुईमत छैन । 

  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया