logo-img

सर्पदंश : वार्षिक चार हजार नेपालीले गुमाउँछन् ज्यान, बच्ने कसरी ?
नेपालका कुन-कुन अस्पतालमा हुन्छ उपचार ?

नेपालमा गर्मी मौसम सुरु भएसँगै सर्पदंशको घटना बढ्ने गरेको पाइन्छ । तराईका २६ जिल्ला र भित्री मधेसका केही जिल्लामा ६ महिना सर्पदंशको अध्यधिक खतरा हुन्छ । बर्सेनि करिब ४० हजार मान्छे सर्पदंशको प्रकोपमा पर्ने नेपालमा प्रायः गर्मी र वर्षाका बेला सर्पदंशका घटना बढी हुने गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पातलका क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुनका अनुसार यो समयमा पानी अत्यधिक पर्ने भएकाले माटोमुनि बसेका सर्प सुक्खा ठाउँको खोजीमा बाहिर निस्कन्छन् । यो बेलामा किसानी गर्ने व्यक्तिहरू पनि खेतबारीमा काम गर्न जान्छन् । सोही बेला सर्पदंशका घटना हुने सम्भावना बढी हुने उनको भनाइ छ । 

‘नेपालमा सन् २०१० मा सर्पसँगसम्बन्धी एक अध्ययन भएको थियो । वार्षिक ३० हजारदेखि ४० हजारसम्म सर्पदंशको घटना हुन्छन्,’ उनले भने, ‘त्यसमध्ये २ हजारदेखि ४ हजार मान्छेले ज्यान गुमाउँछन् भनेर आएको थियो । तर, हाल यथार्थ अध्ययन हुन बाँकी छ ।’

नेपालमा पाइने सर्पहरूमध्ये ८० प्रतिशत विषरहित भएको डा. पुनले बताए । उनका अनुसार २० प्रतिशत सर्पमा मात्रै विष हुन्छ । नेपालमा वर्षको ६ महिना सर्पदंशको समस्या देखिने गरेको पाइएको छ । ‘वैशाखदेखि असोजसम्म प्रकोप हुने महिना हो,’ डा. पुनले भने, ‘६ महिना सर्पदंशको समस्या रहन्छ । सबैभन्दा धेरै समस्या हुने साउन महिना हो ।’

यस्तै, नेपालमा वार्षिक रूपमा २० हजार मानिसलाई सर्पले टोक्ने गरेको पाइएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत विष सूचना केन्द्रका परियोजना प्रमुख डा. राकेश घिमिरेले बताए । उनका अनुसार वार्षिक रुपमा लगभग ३ हजार जनाको सर्पदंशका कारण निधन हुने गरेको पाइएको छ ।
‘हालसालै एउटा अध्ययन भएको थियो, त्यसले २६ हजार ७३९ देखि ३७ हजार ६६१ जना सर्पदंशमा पर्दा रहेछन्,’ उनले भने, ‘लगभग २ हजार ३८६ देखि ३ हजार ३२५ जनाको निधन भएको पाइएको छ ।’

विभिन्न अध्ययन अनुसन्धानले फरक–फरक तथ्यांक देखाएकाले यकिन के कति मानिस सर्पदंशबाट प्रभावित हुन्छन् भन्ने तथ्यांक पाउन मुस्किल देखिएको सरोकारवाला बताउँछन् । 



८० प्रतिशतको बाटोमै निधन

नेपालमा सर्पले टोकेमा ८० प्रतिशत मानिस उपचारका लागि अस्पताल जाँदा बाटोमै निधन हुने गरेको पाइएको छ । यसो हुनुमा स्वास्थ्यकर्मीलाई सर्पदंशको उपचार गर्न सक्ने आत्मविश्वास नभएर रेफर गर्ने प्रवृत्ति मुख्य कारण रहेको डा. पुन बताउँछन् । ‘सर्पदंशको बिरामी आउँदा तालिम नभएकाले उहाँहरूलाई विश्वास नहुँदा रिफर गर्ने चलन बढ्दो छ । रिफर गरिएका सर्पदंशका बिरामी ८० प्रतिशतको बाटोमै निधन हुन्छ,’ उनले भने ।



राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक हेर्दा नेपालमा चैतदेखि कार्तिकसम्म सर्पदंशका घटना बढी हुने गरेको देखिन्छ । अन्य महिनामा सर्पदंशका घटना कम हुने देखिन्छ ।

कसरी सावधान हुने ? 

सर्पदंशबाट बच्नका लागि गर्मी तथा वर्षातको समयमा सावधानी अपनाउन डा. पुन सुझाउँछन् । उनका अनुसार खेतबारीमा जाँदा गमबुटको प्रयोग गर्ने, तराईतिर सुत्दा झुल लगाउनेजस्ता सावधानी अपनाउनुपर्छ । राति टर्च लिएर मात्र बाहिर निस्कने, कतै जानुपर्दा जुत्ता लगाउनेजस्ता सावधानी अपनाउनुपर्ने डा. पुनको सुझाब छ । 

सर्पले टोकेमा के गर्ने ?

डा. पुनका अनुसार सर्पले टोकेपछि कपडा, डोरी र रबरले कसिलो गरी बाँध्ने चलन छ । त्यसरी कसिलोसँग बाँध्न हुँदैन । कसिलो बाँध्दा रक्तसञ्चार नभएर सर्पले टोकेको भागको रक्तकोषिका मर्न सक्छ । यस्तो भएमा अंग नै काट्नुपर्ने अवस्था आउनसक्छ । सर्पले टोकेको ठाउँमा चुस्ने गर्नुहुँदैन । 

सर्पले टोकेको घाउभन्दा माथि कपडाले वा कुनै ब्यान्डेजले हल्का बाँध्नुपर्छ । यसले अत्यधिक रगत बग्नबाट बचाउँछ । सर्पले टोकेको व्यक्तिले कसिलो कपडा लगाएको छ भने खोलिदिनुपर्छ । सर्पदंशको उपचार हुने अस्पतालको जानकारी राख्नुपर्छ । सर्पले टोकेमा बिरामीलाई जतिसक्दो चाँडो अस्पताल लैजाने व्यवस्था मिलाउनुपर्ने डा. पुनका भनाइ छ । 

सक्दो चाँडो अस्पताल पुर्याउने

नेपालमा हुने विषालु सर्प गोमन र करेत हुन् । यी सर्पको टोकाइबाट स्नायु प्रणाली र मुटुमा असर गर्छ । त्यसले गर्दा आँखाको लोतीमा प्यारालाइसिस भएर नचल्ने हुन्छ । मुख, जिब्रो, घाँटी, गर्दन र फोक्सो चलाउने मांसपेशी प्यारालाइसिस हुँदै गएपछि सास फेर्नै नसकेर बिरामीको मृत्यु समेत हुनसक्छ ।

त्यसैले बिरामीलाई जतिसक्दो चाँडो अस्पताल लैजानुपर्ने डा. पुन बताउँछन् । सबै अस्पतालमा सर्पले टोकेको बिरामीको उपचार नहुन सक्छ । त्यसैले सर्पदंशको उपचार हुने अस्पतालको बारेमा थाहा हुनु जरुरी रहेको डा. पुनको भनाइ छ ।

सरकारले क्षेत्रीय अस्पतालहरूमा मात्र सर्पको टोकाइको उपचारको व्यवस्था मिलाएको छ । तर, यो सेवालाई वडा तहका स्वास्थ्य संस्थासम्म पुर्याउन सके सर्पको टोकाइबाट हुने मृत्युलाई धेरै कम गर्न सकिने डा. पुनको बुझाइ छ ।

‘सर्पले टोकेको १० देखि १५ मिनेटभित्रै अस्पताल पुर्याउने अवस्था छ भने सीधै अस्पताल लैजानुपर्छ । तर, दूरीको हिसाबले अस्पताल टाढा छ भने तत्कालै प्राथमिक उपचार गर्नैपर्छ,’ उनी भन्छन्, ‘प्राथमिक उपचार गर्दा जुन अंगमा सर्पले टोकेको छ, त्यो अंगलाई स्थिर राख्नुपर्छ । ब्लड सर्कुलेसन नै रोक्नेगरी बाँध्नु जोखिमपूर्ण हुन्छ ।’

यी हुन् नेपालमा सर्पदंशको उपचार हुने स्वास्थ्य संस्था

१. सर्पदंश उपचार केन्द्र, चारआली
२. नेपाल रेडक्रस उपशाखा, सर्पदंश उपचार केन्द्र, दमक
३. सामुदायिक सर्पदंश उपचार केन्द्र, मैदार, सुरुंगा
४. कोशी अस्पताल, विराटनगर
५. सामुदायिक सर्पदंश उपचार केन्द्र, सिजुवा
६. जिल्ला अस्पताल, रंगेली
७. जिल्ला अस्पताल, सुनसरी
८. बिपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
९. सामुदायिक सर्पदंश उपचार केन्द्र, इटहरी
१०. गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज
११. जिल्ला अस्पताल, सिरहा
१२. जयकाली सर्पदंश उपचार केन्द्र, चौहर्वा
१३. जयकाली सर्पदंश उपचार केन्द्र, बन्दीपुर
१४. जिल्ला अस्पताल, उदयपुर
१५. नं १८ फियगुल्म, भुल्के, गाईघाट
१६. बेल स्रोत ब्यारेक, उदयपुर
१७. आर्मी ब्यारेक, काँडाघारी, उदयपुर
१८. सर्पदंश उपचार केन्द्र, त्रिवेणी
१९. बेल सोट्स ब्यारेक, गाईघाट
२०. प्रादेशिक अस्पताल, जनकपुर
२१. प्राथमिक स्वास्थ्य केन्द्र, सबैला
२२. जिल्ला अस्पताल, महोत्तरी
२३. प्राथमिक स्वास्थ्य केन्द्र, गौशाला
२४. बर्दिबास अस्पताल, बर्दिबास
२५. सामुदायिक सर्पदंश उपचार केन्द्र, गौरीडाँडा
२६. जिल्ला अस्पताल, सिन्धुली
२७. प्राथमिक स्वास्थ्य केन्द्र, सिर्थौली
२८. स्वास्थ्य चौकी, दुधौली
२९. स्वास्थ्य चौकी, हर्साही
३०. प्रहरी तालिम केन्द्र, दुधौली
३१. जिल्ला अस्पताल, मलंगवा, सर्लाही
३२. नेत्रगंज सर्पदंश उपचार केन्द्र, सर्लाही
३३. नवलपुर सर्पदंश उपचार केन्द्र (प्राथमिक स्वास्थ्य केन्द्र)
३४. प्राथमिक स्वास्थ्य केन्द्र, अचालगढी
३५. प्राथमिक स्वास्थ्य केन्द्र, बरथहवा
३६. जिल्ला अस्पताल, गौर, रौतहट
३७. चन्द्रनिगाहपुर अस्पताल, रौतहट
३८. जिल्ला अस्पताल, बारा
३९. प्राथमिक स्वास्थ्य केन्द्र, निजगढ
४०. सर्पदंश व्यवस्थापन केन्द्र, कोलाभी
४१. नारायणी अस्पताल, वीरगञ्ज
४२. पोखरिया अस्पताल, पर्सा
४३. इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु
४४. शुक्रराज ट्रपिकल अस्पताल, टेकु
४५. वीर अस्पताल
४६. कान्ति बालअस्पताल, महाराजगञ्ज
४७. शिक्षण अस्पताल, महाराजगञ्ज
४८. पाटन अस्पताल, ललितपुर
४९. भरतपुर अस्पताल, चितवन
५०. जिल्ला अस्पताल, नवलपरासी
५१. चिसापानी अस्पताल
५२. कालीगण्डकी अस्पताल
५३. मध्यविन्दु सामुदायिक अस्पताल
५४. प्राथमिक स्वास्थ्य केन्द्र, त्रिवेणी
५५. प्राथमिक स्वास्थ्य केन्द्र, दुम्कौली
५६. सहिद मेमोरियल सामुदायिक अस्पताल, चौपट्टा
५७. भीम अस्पताल, भैरहवा
५८. लुम्बिनी अस्पताल, बुटवल
५९. बहादुरगञ्ज अस्पताल, कपिलवस्तु
६०. तौलिहवा अस्पताल, कपिलवस्तु
६१. सर्पदंश उपचार केन्द्र, गोरुसिंगे
६२. रामपुर अस्पताल, पाल्पा
६३. गण्डकी अस्पताल, कास्की
६४. भेरी प्रादेशिक अस्पताल, नेपालगञ्ज
६४. सर्पदंश उपचार केन्द्र, सेनाबार
६६. कर्णाली प्रदेश अस्पताल, सुर्खेत
६७. जिल्ला अस्पताल, गुलरिया
६८. राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर
६९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही
७०. प्राथमिक स्वास्थ्य केन्द्र लमही
७१. सेती प्रादेशिक अस्पताल, धनगढी
७२. टिकापुर अस्पताल, कैलाली
७३. सर्पदंश उपचार केन्द्र, टेघरी
७४. सर्पदंश उपचार केन्द्र, बडेपुरमसुरिया, कैलाली
७५. महाकाली अस्पताल, कञ्चनपुर
७६. श्री २ नं गण, महेन्द्रनगर
७७. सर्पदंश उपचार केन्द्र, भगतपुर
७८. नं २५ फियगुल्म, अर्जुनी, कञ्चनपुर
७९. श्री भवानी बक्सगण, मझगाउँ ब्यारेक
८०. श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र, बेलौरी
८१. बेलडाँगी प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुर
८२. दोधारा प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनपुर
८३. जोगबुटा अस्पताल, डडेलधुरा
८४. जिल्ला अस्पताल, मंगलसेन, अछाम
८५. जिल्ला अस्पताल, मार्तडी, बाजुरा    
८६. जिल्ला अस्पताल, डोटी
८७. सामुदायिक प्रहरी सर्पदंश उपचार केन्द्र, दीपायल

 

  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया