logo-img

मेलम्चीको बाँध सार्न सरकारले दियो सैद्धान्तिक स्वीकृति, जेठ महिनाभित्रै काठमाडौंमा पानी बन्द हुने

सरकारले मेलम्ची खानेपानीको मुहान क्षेत्र सार्ने भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानीको बाँध सार्न सैद्धान्तिक स्वीकृति प्रदान दिएको हो । 

मन्त्रिपरिषद बैठकले यसबारे विस्तृत निर्णय भने गरिसकेको छैन । दातृ निकाय एसियाली विकास बैंक र विज्ञहरूको सुझाव लिएर आवश्यक निर्णय गर्ने सरकारको तयारी छ । सरकारले पहिरोको जोखिम नहुने गरी माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा सार्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो । 

२०७८ असार १, साउन १६ र १७ गते बाढीले मेलम्ची खानेपानी परियोजनाको बाँध क्षेत्र पुरेको थियो। बाँध क्षेत्रको काम ९९ प्रतिशत पूरा भइसकेपछि बाढी आएर लाखौँको जनधनको क्षति गरेको थियो । 

पुरानो बाँध क्षेत्र पुरिएपछि एसियाली विकास बैंकले अम्बाथानबाट एक किलोमिटर माथि सर्कथलीमा बाँध सार्न सुझाव दिएको थियो। बाँध पुरिए पनि मुख्य र सहायक सुरुङमा क्षति पुगेको छैन । त्यसैकारण  अहिले अस्थायी रूपमा काठमाडौंमा पानी ल्याइएको छ । 



यस वर्ष माघ १ गतेबाट काठमाडौंमा पानी ल्याइएको थियो । बर्खा लागेसँगै सुरुङमा बालुवा माटो आदि पस्न सक्ने जोखिम देखिएकाले यस वर्ष पनि खानेपानी विकास समितिले सुरुङ बन्द गर्ने तयारी गरेको छ । 

मेलम्चीको पानी जेठ महिनाभित्रै बन्द हुने सम्भावना छ । यसपालि मनसुन चाँडै सुरु हुने प्रक्षेपण गरिएकाले सुरुङ बन्द गर्न लागिएको हो । 

बाँध सार्दा याङ्ग्री र लार्के खोलाको पानी ल्याउन पनि बाधा नपुग्ने गरी सार्ने सरकारको तयारी छ । यसपालिको बजेटमा मेलम्ची खानेपानी परियोजनाका लागि ५० करोड रुपैयाँ विनियोजन भएको छ । 



  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया