काठमाडौं– नेपाली सेनाले सैनिक आचारसंहिता, २०७६ जारी गरेको छ । जंगी अड्डाले कतिपय अवस्थामा अज्ञानताका कारण अनपेक्षित कार्य हुने गरेको भन्दै नेपाली सेनाको आचारसंहिता जारी गरेको हो । जंगी अड्डाकाअनुसार आचारसंहिताको संग्रह प्रकाशन गरेर हरेक युनिटमा वितरण गरिसकिएको छ ।
‘संगठनको हरेक तहमा कार्यरत सदस्यलाई आफूले गर्न हुने, गर्न नहुने र गर्नैपर्ने कार्यको बारेमा सूसूचित गराउने वैशाख ६ गते शुक्रबारदेखि १३ गतेसम्म साताव्यापी अभियान पनि सुरु गर्ने जंगीअड्डाको तयारी छ ।
आचारसंहितामा सैनिक अधिकारीले गर्नुपर्ने व्यवहार र आचरणबारे व्याख्या गरिएको छ । सामाजिक सञ्जाल प्रयोगको हकमा धार्मिक सहिष्णुतामा खलल पुग्ने विषय पोस्ट गर्न वा लाइक, कमेन्ट वा सेयर गर्न नहुने भनिएको छ ।
सेनाको विषयमा आक्षेप लाग्ने विषयमा पनि लाइक, कमेन्ट वा सेयर गर्न पनि निषेध गरिएको छ । सैनिक अधिकारीलाई सामाजिक सञ्जालमा बर्दीको फोटो पोस्ट गर्न पनि निषेध गरिएको छ ।
आचारसंहिताको सामाजिक सञ्जालको परिधि खण्डमा ‘कुनै राजनीतिक पार्टी वा अन्य कुनै व्यक्तिसँग सम्बन्धित अनावश्यक टिप्पणी गर्न पाइने छैन’ उल्लेख गरिएको छ । कुनै पनि किसिमको उपहार लिने कार्यमा संलग्न नहुन पनि भनिएको छ ।
अन्य किसिमका उपहार मान्य नहुने उल्लेख भए पनि आचारसंहितामा पोस्टिङका क्रममा सैनिक अधिकारीलाई मायाको चिनो दिने परम्परालाई भने यथावत् राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।