logo-img

दोलखाको फिल्म सिटी : संसार लोभ्याउने, स्वर्ग सम्झाउने [भिडियोसहित]

नोबेल पुरस्कार विजेता यासुनारी कावावाताले उपन्यास ‘स्नो कन्ट्री’ मा देश सुन्दर हुने तीन वटा तत्त्व उल्लेख गरे–प्रकृति,संस्कृति र परिवेश । 

लाग्छ–साहित्यकार कावावाताले नेपालको सन्दर्भमा यस्तो लेखेका हुन् । किनकि, नेपाल एउटा यस्तै सुन्दर देश हो ।

के छैन,नेपालमा ! विश्वमा विरलै देख्न पाइने सानो भूगोलमा हिमाल,पहाड र तराईको जैविक विविधता यहीँ छ । आध्यात्मिक सम्पदाको भूमि यही हो । नेपाललाई कसैले क्यानभासजस्तो देश भनेर भन्छ भने उसले ठिक भनिरहेको हुन्छ । 

एक पटक अनुपम सौन्दर्यको भूमि दोलखा पुगौँ । किनकि यहाँ कुरा दोलखाको छ । कुरा दोलखाको मात्र पनि होइन । कुरा हो–प्राकृतिक स्टुडियो जस्तो लाग्ने दोलखाकै डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडाको ।
 
यही थलोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,चलचित्र विकास बोर्डको ‘ड्रिम प्राजेक्ट’ को रूपमा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी अर्थात् फिल्म सिटी निर्माण हुँदै छ ।

समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको यो क्षेत्रमा पर्ने १५ सय रोपनी जग्गा र आसपासको क्षेत्रलाई फिल्म सिटी बनाइँदै छ । लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ किलोमिटरमै पुगिने फिल्म सिटी निर्माणस्थल प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ हो । 



पहाडी प्रकृति र अब यहाँ बन्ने फिल्म सिटीको भौतिक संरचनाको मितेरीले यो क्षेत्र संसारका फिल्मकर्मीहरूको प्रिय गन्तव्य बन्ने छ । २०७४ साल फागुनमा शिलान्यास भइसकेको यो फिल्म सिटी निर्माणका लागि अनुमानित लागत करिब १४ सय करोड हुनेछ । 

यो फिल्म सिटी नेपाली कला र सीपको बेजोड नमुना बन्ने छ । आगन्तुकका लागि सुविधा सम्पन्न होटेल र चिरिच्याट्ट परेका पाहुना घर हुनेछन्,फिल्म सिटीमा । हिमाल,पहाड,तराई अनुभूत गराउने नमुना बस्तीदेखि नेपाल र विश्वका प्रसिद्ध स्मारकहरूको सानो स्वरूपको अवलोकन पनि यही फिल्म सिटीमा गर्न सकिने छ । 



अत्याधुनिक प्रविधिसहितका ‘इन्डोर स्टुडियो’ देखि हेलिप्याडसम्मको सुविधा एकैथलोमा भेटिने छन् । अर्थात् यो फिल्म सिटी नेपाल र बाँकी विश्वलाई एकैथलोमा जोड्ने सेतु बन्नेछ । यो आफैमा सानो संसार हुनेछ ।

स्वदेशी तथा विदेशी लगानीकर्ताहरूसँग हातेमालो गरेर सरकारी–निजी साझेदारीमा लगानी र प्रतिफलमा सहकार्य गर्ने मोडल नेपाल सरकारले अघि बढाएको छ । 

यो फिल्म सिटी आफैमा दूध दिने गाई हो । यसैले यहाँ हुने लगानीको सुनिश्चितता छ भन्न सकिन्छ । 

आँखैअगाडि देखिने गौरीशंकर,गणेशसहित आधा दर्जन हिमालहरू र एकै थलोमा अनेक थरीका लालीगुराँसको रङले नलोभ्भिने संसारमै को होला र ! 
लेकबेसीको सुन्दर पहाडी भूगोलका कारण यो ठाउँ आफैमा गज्जबको सुटिङ स्पट हुँदै हो । 

हिमालबाट बग्दै आएको खोला अनि हिमाल–पहाडको संयोजनले फिल्म सिटीलाई प्राकृतिक रूपमै सुन्दर बनाइदिएको छ । यसैले त भनियो–दोलखा आफैमा प्राकृतिक स्टुडियो हो । 

अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना निर्माणपछि यो ठाउँले सुनमा अझै सुगन्ध थप्ने नै भयो ।  

काठमाडौंबाट दोलखा प्रस्थान गर्दाको करिब एक सय किलोमिटरको भूभाग नै फिल्म सिटीजस्तो लाग्छ । काठमाडौंबाट पूर्वतिर लाग्दा भक्तपुर,काभ्रे र सिन्धुपाल्चोकमा रहेका विविध खालका प्राकृतिक सुन्दरता आफैमा सुटिङ–स्पट हुँदै हुन । यो अन्तर्राष्ट्रियस्तरको फिल्म सिटीमा राष्ट्रिय–अन्तर्राष्ट्रिय फिल्महरू छायाङ्कन हुनेछन् ।

फिल्म सिटीबाट नेपाली चलचित्रकर्मीले उन्नत प्राविधिक ज्ञान बटुल्ने छन् । नेपालको कला–संस्कृतिसँगै सुन्दर दृश्य फिल्ममा समावेश गर्न सहज हुनेछ । 

परिणाम–नेपाली चलचित्रले पनि काँचुली फेर्ने छ । यो थलो स्वदेशी तथा अन्तर्राष्ट्रिय चलचित्र पर्यटनको लोकप्रिय गन्तव्य हुनेछ । 
 
हिमालतिर हेरेर हाँसिरहने उच्च पहाडी स्थानमा रहेको विश्वकै दुर्लभ र नेपालकै पहिलो फिल्म सिटी हुने अवसर छ, यसलाई ।

यो त स्वर्गमा फिल्म सिटी भनेजस्तै भयो–संसारै चकित पार्ने । दोलखाको यो फिल्म सिटीमा हामी चाँडै नै संसारलाई स्वागत गर्नेछौँ ।  

  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया