logo-img

सरकारले गाँजाखेती गर्न अनुमति दिने तयारी गरेपछि के भन्छन् नीति निर्माता र विज्ञ ?

आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल भएको छ । शुक्रबार भएको उक्त छलफलमा सहभागीले गाँजाको व्यावसायिक उत्पादन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । 

बजेटमा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा समितिले छलफल चलाएको थियो । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुतिमा गाँजाबाट निर्मित ब्याग बोकेको प्रसङ्ग उठाउँदै भने, ‘गाँजा उत्पादन जताततै छ । मैले बोकेको ब्यागको पनि चर्चा भयो । यसका उत्पादन प्रयोग भइ नै रहेका छन् । यसको प्रयोगबाट कुलतमा फसेका पनि छन् । सचेत भएर गाँजालाई वैधानिकता दिने गरी कानुनी व्यवस्था गर्नुपर्छ । फेरि व्यवस्थित गर्न नसके ठूलै प्रकोप निम्तिन्छ ।’ 

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले कुन भौगोलिक क्षेत्रमा कस्तो गाँजा खेती गर्ने भन्नेबारेमा अध्ययन भइरहेको बताए । ‘यससम्बन्धी अध्ययन भइरहेको छ । छिट्टै प्रतिवेदन सार्वजनिक हुन्छ । गाँजा खेतीको सम्भावना छ । तर, यसले सामाजिक परिवेशमा पार्ने प्रभाव र बजारको पनि अध्ययन हुनुपर्छ,’ उनले भने ।

कृषि मन्त्रालयका सचिव डा. दिपककुमार खरालले गाँजाको व्यावसायिक खेतीको सम्भाव्यता अध्ययन गर्न लागुऔषध (नियन्त्रण) ऐन, २०३३ संशोधन हुनुपर्ने धारणा राखे । ‘कानुनी सहजीकरण नभएसम्म हुँदैन । बाँझो जमिनमा यसको खेती गर्न सकिन्छ । खेतीसम्बन्धी बोर्ड नै गठन गरेर जान सकिन्छ’, डा. खरालले भने । 

पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजाको व्यावसायिक खेतीमा किसान केन्द्रित बनाउनुपर्ने बताए । ‘खेतीका लागि कुनै व्यक्ति वा संस्थालाई नभइ किसानलाई नै प्रोत्साहन गर्नुपर्छ । गाँजाले अर्थतन्त्रमा योगदान दिन सक्छ’, उनले भने ।



स्वास्थ्य सेवा विभागअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. प्रदीप केसीले गाँजाका बारेमा आयुर्वेदमा थुप्रै अध्ययन भइसकेको भन्दै औषधीय गुणको चर्चा गरे । मानसिक अस्पतालका डा अनन्त अधिकारीले गाँजाको औषधीय गुण भएपनि यसले नकरात्मक असरसमेत पार्न सक्दै भन्दै सचेत रहन अनुरोध गरे । 

काठमाडौं विश्वविद्यालयका अनुसन्धानकर्ता प्रा.डा. पन्ना थापाले नेपालमा विभिन्न प्रकारका गाँजाहरू पाइने र वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति दिनुपर्नेमा जोड दिइन् । ‘अनुसन्धानमा दुखाइ कम गर्ने, छारे रोग, डिप्रेसन, एन्जाइटी, क्यान्सर थेरापीलगायतमा गाँजाको उपयोग हुने देखिएको छ । गाँजामा औषधीय गुणसँगै यसको रेसाबाट लुगा, कस्मेटिक, खाद्यपदार्थमा पनि प्रयोग हुन्छ,’ उनले भनिन् । किसानलाई लक्षित गरेर गाँजा खेतीका लागि अन्तराष्ट्रिय मापदण्डसँग मिल्ने गरी उत्पादनमा जोड दिनुपर्ने डा. थापाको भनाइ छ ।



उपयुक्त कानुन निर्माण गर्नुपर्ने, निगरानी तथा नियमनमा जोड दिनुपर्ने, खेतीका लागि वास्तविक किसानलाई प्रोत्साहन गर्नुपर्नेलगायत विषयमा केन्द्रित बैठकमा सांसदहरूले प्राथमिकतामा राखेर विधेयक छिटो ल्याउनुपर्ने बताए । बैठकमा गाँजा खेतीको औषधि प्रयोजनको लागि यसको उत्पादन, प्रशोधन, बिक्री वितरणसँग सम्बन्धित विषयमा कानूनी वातावरण तयार गरी वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल भएको थियो । रासस

  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया