तनाव हुँदा किन सुकुटे पुग्छन् प्रचण्ड ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा तल्लो तहको एकताबारे शीर्ष नेताहरुबीच छलफल जारी छ ।  यहीबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकस्थित सुकुटे रिसोर्टमा पुगेका छन् । त्यहाँ उनले भोटेकोशीमा र्याफ्टिङ पनि गरेका छन् । 

पार्टी एकताको जिम्मेवारी पाएका प्रचण्ड केही दिनअघि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र केही नेताहरुसँग चन्द्रागिरी हिल्स पुगेका थिए । त्यसपछि पार्टीमा माधव नेपाल समूहले उठाएका माग र विषयलाई लिएर ओली र प्रचण्डबीच पनि मतभेद भएको स्रोत भएको बताउँछ । र, यही कारणले तनावमा भएकाले प्रचण्ड सुकुटे पुगेको उनी निकट एक नेताले बताए ।

त्यसो त तनावमा हुँदा प्रचण्ड सुकुटे पुगेको यो पहिलो पटक होइन । उनी बारम्बार सुकुटे पुगेकाले नै अहिले उनी निकट केही नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सिन्धुपाल्चोकको भोटेकोसीस्थित ‘सुकुटे’ बीचको सम्बन्ध गहिरो रहेको टिप्पणी गर्छन् । हुन पनि दाहाल पटक–पटक ‘रिफ्रेस’ हुन भन्दै सुकुटे जाने गरेका छन् । राजनीतिक दबाब, चाप र थकान महसुस हुनासाथ प्रचण्डले आफैं सुकुटे सम्झने गरेको उनीनिकट स्रोत बताउँछ । 

त्यसो त यसअघि मोहन वैद्यसहितको ठूलो पार्टी हुँदा माओवादीमा अन्तर्विरोध चर्केको बेला, बाबुरामसँगको अन्तरसंघर्षको बेला वा एमाले माओवादी पार्टी एकतामा आएका सामान्य खटपटका बेला नै किन नहोस्, प्रचण्ड सुकुटे पुगेका छन् । बाबुराम र वैद्यले पार्टी छोड्दा पनि प्रचण्ड सुकुटे पुगेका थिए । 

अब त उनले केही महत्वपूर्ण राजनीतिक निर्णय लिनु परेमा सुकुटे जाने गरेको उनी निकटका नेताहरुले नै पनि अनुभूत गर्न थालेका छन् । प्रचण्डका विश्वासपात्र मानिने सिन्धुपाल्चोकका सांसद अग्नि सापकोटा चाहिँ प्रचण्डको सुकुटे यात्रामा सँगै देखिएका हुन्छन् । यसपटक पनि उनी प्रचण्ड परिवारसँग त्यहाँ पुगेका छन् । 

त्यसो त ‘प्रचण्ड’लाई पहिलोपटक सुकुटेसँग उनैले परिचय गराएका थिए । राजधानीबाट धैरै टाढापनि नभएको, वातावरणीय सुन्दरता र टे«किङ्, र्याफ्टिङ, स्विमीङ जस्ता सुविधाका कारण प्रचण्डले सुकुटेलाई रुचाएको उनी बताउँछन् । पार्टी शान्ति प्रक्रियामा आएपछि प्रचण्ड पहिलोपटक सुकुटे गएका थिए । २०६३ सालमा सापकोटाको पहलमा नै सुकुटे पुगेका प्रचण्डले त्यस वर्षको दशैं सापकोटाको घरमा नै मनाएका थिए ।



 

कहिले–कहिले पुगे प्रचण्ड सुकुटे ?



–२०६३ सालको असोज 
–२०६८ असोज ८ 
–२०६९कात्र्तिक ४ 
–२०७२ कार्तिक २६ 
–२०७३ असोज 
–२०७४ वैशाख १२ 
–२०७५ वैशाख
–२०७५ माध 

 

यसअघि प्रचण्डको सुकुटे यात्रापछि जे भयो 

प्रचण्डको सुकुटे यात्रा माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको हो । २०६३ सालको दशैंको पूर्वसन्ध्यामा उनका विश्वासपात्र सापकोटाले उनलाई त्यहाँ पुर्याएपछि उनलाई सुकुटे जानी लत नै बसेको टिप्पणी गर्नेहरु पनि छन् ।

त्यसपछि उनी २०६८ असोज ८ मा सुकुटे पुगेका थिए । प्रचण्ड त्यतिखेर पत्नी सिता दाहाल र केही नेतासँग सुकुटे गएका थिए । ‘रिफ्रेस’को लागि नै भनेर प्रचण्ड २०६९ कात्तिक ४ मा फेरी सुकुटे पुगे । सुकुटेसँग गहिरो प्रेम राखेका प्रचण्ड, त्यतिबेला कुनै राजनीतिक एजेण्डा बोकेर त्यहाँ पुगेका थिएनन् । प्रचण्ड आफूलाई मन पर्ने र मनमा धेरैकुराको शान्ति महसुस हुने भएकाले त्यहाँ जाने गरेको बताउँदै आएका छन् ।

प्रचण्ड २०७२ कार्तिक २६ मा पनि आराम गर्नकै लागि भनेर सुकुटे पुगेका थिए । पार्टीभित्र भएको आन्तरिक छलफलका लागि उनी त्यहाँ पुगेका थिए । २०७३ असोजमा उनी फेरी त्यहाँ पुगे । त्यतिखेर पनि उनी त्यहाँ आफू ‘रिफ्रेस’ हुन मात्र गएको बताए । तर, उनी संविधान संशोधन र तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावबारे पार्टीमा सहमति नभएको तनावमा त्यहाँ पुगेका थिए । त्यस्तै, २०७४ वैशाख १२ गते उनी सुकुटे पुगे । त्यतिखेर उनी निकट नेता अग्नि सापकोटा र झक्कु सुवेदी पनि सँगै थिए । विशेषतः स्थानीय चुनावको पूर्वसन्ध्यामा त्यहाँ पुगेका प्रचण्ड पार्टीबाट क–कसलाई उम्मेद्वार बनाउने भन्नेमा केन्द्रित रहेका थिए । 

त्यतिखेर, उनका अङ्गरक्षक भएर लामो समय काम गरेका हाल सिन्धुपाल्चोक प्रतिनिधि सभा २ प्रदेश सभा ‘क’का सांसद् युवराज दुलाल ‘शरद’ को उम्मेद्वारीको विषयमा केन्द्रित रहेको थियो । चौतारा–साँगाचोक नगरपालिकाको मेयरमा उनको नाम चर्चामा आएपनि अन्ततः उनले मेयरको उम्मेद्वारी छाडेका थिए ।

मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको चुनावमा उनले प्रदेश सभाको उम्मेद्वारी हात पारेका थिए भने विजयी पनि बनेका थिए । पछिल्लो पटक उनी वैशाख २ अर्थात् हिजोमात्र सुकुटे पुगेका थिए । प्रधानमन्त्री ओली राराबाट फर्किएपछि प्रचण्डसँग ‘वान टु वान’ वार्ता गर्ने हल्ला चलिरहँदा उनी सुकुटेतिर सुटुक्क लागेका थिए । खुमलटार स्रोतले आरामका लागि उनी त्यहाँ गएको बताएपनि एमाले माओवादी पार्टी एकताको विषयमा कुरा मिल्न नसक्दा त्यहाँ गएका हुन् कि भनेर अनुमान लगाउन सकिन्छ ।

सुकुटेसँग गहिरो प्रेममा रहेका उनी वैशाख १० गतेसम्ममा सक्ने भनिएको पार्टी एकतालाई दुई दिनका लागि भए पनि विश्राम दिएर सुकुटे गएको विषयलाई अर्थपूर्ण हिसाबमा हेरिएको छ । यसमा उनले अर्का अध्यक्ष केपी ओलीसँग केही असहमति प्रकट गर्न खोजेको हुनसक्ने अनुमान समेत भएका छन् । 

त्यसैले पनि यसपटकको सुकुटे यात्राले प्रचण्डबाट पार्टी एकताबारे केही नयाँ कुरा आउने हो कि भन्ने विश्लेषण बढेको छ ।


  • प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार १९:३९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया