त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भए कसरी उद्धार गर्ने भन्ने सम्बन्धी अभ्यास सम्पन्न भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धी सबै निकायहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
एयरपोर्ट अपरेसन डिपार्टमेन्टको निर्देशक एवं एयरपोर्ट प्रवक्ता सुवास झाले यो अभ्यास अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हरेक दुई वर्षमा सम्पन्न गर्ने बताए । उनले विमानस्थलमा आपत्कालिक अवस्थामा सम्बन्धित विभिन्न निकायले आफ्नो काम प्रभावकारी रूपमा गर्न सक्छन् कि सक्दैनन् भन्ने जाँच गर्नको लागि एयरपोर्ट इमरजेन्सी प्लान अनुसार हुने गरेको पनि बताए ।
उनले भने, ‘हामीले यो तालिका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हरेका दुई वर्षमा पूर्ण कौशल आपत्कालीन अभ्यास (फूल स्केल इमर्जन्सि एक्सर्साइज) गर्नुपर्ने हुन्छ । जसमा विमानस्थलमा आपत्कालिक अवस्थामा कुनै घटना भयो भने, त्यो अवस्थामा हाम्रो विभिन्न निकायले आफ्नो काम प्रभावकारी रूपमा गर्न सक्छन् कि सक्दैनन् भन्ने जाँच गर्नको लागि हाम्रो एयरपोर्ट इमर्जन्सि प्लानमा सबैलाई काम दिइएको छ त्यो अनुसार सबैले काम गर्नु हुन्छ कि नाइँ भनेर जाँच गर्नको लागि पनि यो एउटा काल्पनिक घटनालाई परिकल्पना गरेर त्यसमा कसरी उद्धार गर्ने भनेर तालिम गरेको हो ।’
दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गरेर अभ्यासको आयोजना गरिएको हो । अभ्यासको अवलोकन गर्न पर्यटन मन्त्री हितबहादुर तामाङलगायत अधिकारीहरू उपस्थित थिए ।







फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।