logo-img

निजी गुठीमा धनी श्रीरामचन्द्र मन्दिरसँगै छैन जग्गाको अभिलेख

दाताले निजी गुठी राखेर सञ्चालन गर्नेमा नेपालकै धनी मन्दिरमध्येमा पर्छ श्रीरामचन्द्र मन्दिर । काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको जग्गा कहाँ–कहाँ कति छ भन्ने अद्यावधिक अभिलेख निजी गुठी सञ्चालकसँग नै नरहेको पाइएको छ । निजी गुठी सञ्चालकको समिति त छ । तर, समितिसँग गुठीको नाममा कहाँ–कहाँ कति कति जग्गा छ भन्ने अभिलेख नै छैन ।

उक्त निजी गुठीका सञ्चालकले समितिको लाल ढड्डामा अभिलेख भएको बताए पनि लामो समयदेखि खोजी गर्दा पनि उपलब्ध भने हुन सकेको छैन । मन्दिरका नाममा काठमाडौंको बत्तीसपुतली, हाँडीगाउँ, साँखु र नाङ्लेभारेलगायत विभिन्न स्थानमा ३ सय ७३ रोपनी जग्गा भए पनि गुठीको आयस्ता भने नआएको श्रीरामचन्द्र मन्दिर निजी गुठी सञ्चालक समितिका सचिव केशवध्वज राणा बताउँछन् । 



मन्दिरका नाममा रहेको ३७३ रोपनी जग्गामध्ये वर्षमा करिब ७० रोपनी जग्गाको मात्र तिरो उठ्ने गरेको उनले सुनाए । वार्षिक करिब ५० जना जति मोही मात्र जग्गाको कुत बुझाउन गुठीमा आउने गरेका छन् । 

नआउनेलाई तिरो तिराउन गुठीले कुनै पहल गरेको छैन । गुठी संस्थानले तोकेको दरअनुसार नै निजी गुठीले कुत लिने गरेको सचिव राणाले बताए । धेरै मोही कुत तिर्न नआउँदा मन्दिरको व्यवस्थापनमा समस्या हुने गरेको छ । मन्दिरको नाममा रहेको जग्गा उपभोग गर्ने सबैले तिरो तिरे अहिले भन्दा राम्रोसँग मन्दिर सञ्चालन गर्न सकिने भए पनि यसमा सरोकार निकायको ध्यान जान सकेको छैन ।

महानगरपालिका–९ का अध्यक्ष रामजी भण्डारी मन्दिरको पूर्वाधार निर्माणमा स्थानीय सरकारले पनि सहयोग गरेको बताउँछन् । मन्दिर क्षेत्रमा शौचालयको समस्या देखेपछि वडाले शौचालय निर्माण गरिदिएको उनको भनाइ छ । मन्दिरका नाममा रहेको तिरो नउठेको सन्दर्भमा स्थानीय सरकारलाई कुनै जानकारी नआएको सुनाउँदै अध्यक्ष भण्डारीले त्यस्तो जानकारी आएमा सक्ने सहयोग गरिने प्रतिबद्धता जनाए ।  

निजी गुठीले श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं सम्वद्र्धन समितिलाई केही वर्षदेखि रामनवमीको अवसर पारेर वार्षिक १ लाख ५० हजार रुपैयाँ मात्र दिने गरेको छ । मन्दिरमा नित्य एवं नैमित्तिक पूजा आजा, मर्मतसम्भार, सरसफाइलगायत काम समितिले नै गर्दै आएको छ ।



वि.सं १९२८ मा मन्दिर स्थापना गर्नु हुने कम्याण्डिङ कर्णेल सनकसिंह टण्डन लाहुरी क्षत्रीले राख्नुभएको दानपत्रको व्यहोरामा नित्य, नैमित्तिक पूजा गरी बिग्रे, भत्केको मर्मत गर्न जग्गा राखिएको उल्लेख छ । दानपत्रमा टण्डन परिवारको एकोद्दिष्ट र पार्वण श्राद्ध गर्न पनि जग्गाको आयस्ता उपयोग गरिने उल्लेख छ । यसको संरक्षणका लागि टण्डनले आफ्नो शेषपछि छोरीपट्टिका नाति महेन्द्रध्वज राणालाई अख्तियारी दिएको दानपत्रमा उल्लेख छ । हाल महेन्द्रध्वजका सन्तति नै यो निजी गुठीको सदस्यका रूपमा रहेका छन् । तिनैमध्येबाट गुठी सञ्चालक समितिको गठन हुने गरेको छ ।

जीर्णोद्वारमा गुठी सञ्चालकको बेवास्ता



आयस्ता नउठ्दा २०४८ सालअघि मन्दिर जीर्ण बनेको थियो । स्थानीयवासीको सक्रियतामा श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं सम्वद्र्धन समिति गठन गरी अहिलेको स्वरुप दिइएको सदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिए । अहिले यो मन्दिर नेपालकै स्वच्छ, सफा र आकर्षक मन्दिरका रूपमा स्थापित भएको छ । स्थानीयवासीका तर्फबाट छानिएका समितिका पदाधिकारी एवं सदस्यले मन्दिर क्षेत्रमा सञ्चालन गरिने विभिन्न कर्मको शुल्क तोकेर उठाएको पैसाले नै हाल मन्दिरको काम हुने गरेको छ । 

वि.सं २०४८ मा जीर्ण मन्दिरलाई उद्धार गर्न गुठीको आयस्ता उपयोग हुन सकेन । व्यक्ति–व्यक्तिबाट चन्दादान सङ्कलन गरी मन्दिर जीर्णोद्धार गरिएको उनले सुनाए । दाताबाट लिएर गरिएको खर्चको प्रत्येक वर्षको हिसाबकिताब राखिएको समितिले जनाएको छ । समितिले जीर्णोद्धार गरेर मन्दिरलाई आकर्षकरूपमा स्थापित गरेपछि यहाँ भक्तजनको आकर्षण बढेको थियो । विवाह, व्रतबन्ध, लाखबत्तीलगायत धार्मिक कर्म गर्न आउनेबाट समितिले शुल्क लिएर मन्दिर व्यवस्थापन र पूजाआजामा खर्च गर्दै आएको छ । 

मन्दिरमा भक्तजनको आकर्षण बढेकै बेला १२ वैशाख २०७२ को भूकम्पले क्षति गर्‍यो । भूकम्पले भएको क्षतिपछिको पुनःनिर्माणमा मन्दिरका नाममा रहेको जग्गाको आयस्ता उपयोग हुन सकेन ।

पुनःनिर्माणमा उपयोग हुन सकेन मन्दिरको आयस्ता

समितिकै पहलमा दाताबाट सहयोग सङ्कलन गरी राजधानीका सांस्कृतिक सम्पदामध्ये बत्तीसपुतलीको श्रीरामचन्द्र मन्दिर पहिलोपटक पुनःनिर्माण भएको थियो । यसबाट जनताको सहयोगबाटै सांस्कृतिक सम्पदा पुनःनिर्माण हुनसक्छ भन्ने सन्देशसमेत प्रवाह भएको थियो । भूकम्पपछिको पुनःनिर्माणको हिसाबकिताबसमेत समितिले सुरक्षितसाथ राखेको छ । 

दाताले जुन प्रयोजनका लागि निजी गुठी स्थापना गरेर मन्दिरका नाममा जग्गा राखेका थिए । त्यसमा खर्च हुन सकेको छैन । उदारमना दाताको सहयोगबाट नै मन्दिरको जीर्णोद्धार, पुनर्निर्माण एवं नित्य, नैमित्तिक कर्मसमेत सम्पादन हुन थालेको छ । यसबाट गुठीको अवधारणा नै गलत हो कि भन्ने सन्देश प्रवाह हुन थालेको छ ।

गुठीका नाममा रहेको केही जग्गा सर्वोच्च अदालतको आदेशमा सट्टापट्टा भएको निजी गुठीका सचिव राणाले सुनाए । सर्वोच्च अदालतले जिल्लाभर गुठीको जग्गा सट्टापट्टा गर्न सकिने गरी आदेश दिएपछि बत्तीसपुतली र हाँडीगाउँका जग्गा रैकर गरी साँखु र नाङ्लेभारेका जग्गा श्रीरामचन्द्र मन्दिर निजी गुठीका नाममा राखिएको उनले जानकारी दिए । 

सट्टापट्टा गरिएका जग्गा कमाइ रहेका मोहीले अहिलेसम्म तिरो भने बुझाउन आएका छैनन् । साँखु एवं नाङ्लेभारेका धेरै मोहीले तिरो नतिरेको मन्दिरको निजी गुठी कार्यालयले जनाएको छ । अदालतको आदेशअनुसार करिब ३० रोपनी जग्गा सट्टापट्टा भएको थियो । सट्टापट्टा भएको जग्गाको अभिलेखसमेत गुठी कार्यालयसँग छैन ।

हाल साबिक नगर्दा तिरो तिर्नेलाई समस्या

श्रीरामचन्द्र मन्दिर निजी गुठीमा तिरो तिर्न आएका काठमाडौँ महानगरपालिका–७ पनेकु टोलका सागर सिग्देल हजुरबाका पालामा गुठीको १२ आना जग्गा खरिद गरी उपभोग गरेकामा अहिले सडकले लिएर आठ आनामात्र बाँकी हुँदा पनि सडकमा परेको चार आनाको पनि तिरो तिर्नुपरेको गुनासो गर्छन् । निजी गुठीले भने जग्गाको हाल साविक गर्न नसक्दा यस्तो समस्या देखिने गरेको जनाएको छ । १२ आना जग्गाको वार्षिक १ हजार ७ सय तिरो तिर्ने गरेको सिग्देलले जानकारी दिए । 

बत्तीसपुतलीमा रहेको द्वारिका होटलमा श्रीरामचन्द्र मन्दिर निजी गुठीको करिब ११ रोपनी जग्गा छ । गुठीका तीन कित्ताका जग्गा होटलमा रहेको जनाइएको छ । पहिलो कित्तामा नौ रोपनी १५ आना, अरू दुई कित्तामा क्रमश: १० र १३ आनाजग्गा रहेको छ । 

उक्त होटलले भने गुठीले तोकेको तिरो समयमै बुझाउँदै आएको छ । सो होटलले आर्थिक वर्ष २०७५/७६ सालमा एकमुस्ट १२ लाख तिरो तिरेको थियो । त्योभन्दा अगाडि वार्षिक ७ हजार तिरो तिर्ने गरेकामा गुठीले तिरो बढाउन अनुरोध गरेपछि विगतमा तिरी सकेको बाहेक थप १२ लाख रुपैयाँ दिएको थियो । सो आर्थिक वर्षपछि उक्त होटलले वार्षिक १ लाखका दरले तिरो तिर्दै आएको निजी गुठीका सचिव राणाले जानकारी दिए ।  

निजी गुठीको जग्गा किनबेच रोक्काले समस्या

वि.सं २०६५ देखि निजी गुठी जग्गा बेचबिखन रोक्का हुँदा मोहीलाई समस्या भएको छ । यसबाट मोहीले गर्जो टार्न पाएका छैनन् । अदालतको आदेशमा १५ वर्षदेखि निजी गुठी जग्गा बेचबिखनमा रोक लगाइएको हो । यो व्यवस्था छिटो हटाउन मोहीले माग गर्दै आएको स्थानीयवासीका तर्फबाट मन्दिरको संरक्षण गर्न गठित समितिका सदस्य सचिव टण्डन बताउँछन् ।  

बत्तीसपुतली थुम्कोमा तीन रोपनी चार आनामा मन्दिर क्षेत्र फैलिएको छ । सडकबाट ९० फिट उचाइमा मन्दिर स्थापित छ । पशुपति क्षेत्रको नजिक रहेको र भौगोलिक रुपमा समेत आकर्षक स्थानमा मन्दिर रहेको यहाँ धार्मिक पर्यटन प्रवर्द्धनको सम्भावना बलियो छ ।

मन्दिरमा राम, सीता, भरत, लक्ष्मण र शत्रुघ्नको पूर्णकदको मूर्ति ढुङ्गामा कुँदेर स्थापना गरिएको छ । बाहिरी भागमा हनुमानको पूर्णकदको मूर्ति छ । मन्दिर वरपर शिवालय छ । देवी, गणेशलगायत मूर्ति पनि मन्दिर क्षेत्रमा स्थापित छ । नेपालमा राजकीय गुम्बज शैलीमा निर्माण गरिएको थोरै मन्दिरमध्येमा यो पनि पर्छ ।

यहाँ प्राप्त पुरातात्त्विक अवशेषबाट बत्तीसपुतली ऐतिहासिक र पुरातात्विक महत्व भएको प्राचीनस्थल हो भन्छन्, संस्कृतिविद्समेत रहेका समितिका सदस्यसचिव टण्डन । तर, यो विषय प्रमाणित भने नभएको उनले सुनाए । बत्तीसपुतली नाम रहनुमा विभिन्न किंवदन्ती सुनिने गरेको छ ।

एक यस्तो किंवदन्तीअनुसार अहिले श्रीरामचन्द्रको भव्य मन्दिर भएको स्थानमा स्वर्गबाट ३२ वटी अप्सरा पुतलीका रूपमा आएर एक/एक महत्वपूर्ण कुरा सुनाएर गएका थिए । यसैले यो ठाउँलाई बत्तीसपुतली भनिएको हो भन्ने स्थानीय बुढापाकाको भनाइ छ । वि.सं १९५३ को अभिलेखमा पहिलोपटक बत्तीसपुतली नाम लेखिएको विषय नयराज पन्तले रूपरेखा अङ्क १५७ को लेखमा उल्लेख गरेका छन् ।

गुठी राखिएका सबै जग्गाको आयस्ता उठाउन सके श्रीरामचन्द्र मन्दिरलाई अझै आकर्षकरूपमा स्थापित गर्न सकिने सम्भावना छ । तर, पनि आफ्नै जग्गा कहाँ कसले कुनरूपमा उपभोग गरिरहेका छन् भन्ने बारेमा मन्दिरको निजी गुठी नै अन्योलमा देखिन्छ । यसको खोजी गरी मन्दिरको गुठीका नाममा उपयोगमा ल्याउनुपर्ने धेरैको सुझाव छ । रासस

  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार १२:३३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया