नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रघुजी पन्तले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई चलायमान बनाउन सदस्य राष्ट्र सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनले सार्क सङ्गठन लथालिङ्ग भएको उल्लेख गर्दै यसका महत्वपूर्ण निकाय र संरचनालाई प्रभावकारी बनाउन सार्क सङ्गठनको अध्यक्षका हैसियतले नेपाल सरकारले सक्रियता बढाउनुपर्ने धारणा व्यक्त गरे ।
‘सार्क विश्वविद्यालय नयाँदिल्ली छ, सार्क सचिवालय नेपालमा छ । नेपालले अध्यक्षता गरिरहेको अवस्थामा नेपालले अघि बढ्नुपर्छ । कुनै विवाद आएको अवस्थामा नेपालले हामी सम्मेलन गर्न सक्छौँ भन्न सक्नुपर्छ,’ पन्तले भने ।
साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा गएर आएको र भारतसँग सबै सम्बन्ध राम्रो छ भनेको सन्दर्भमा नेता पन्तले सीमा समस्या यथावत् रहेको बताए । उनले सार्कका समस्या जस्ताको तस्तै रहेका बारेमा प्रधानमन्त्री दाहालले संसदलाई आजै सम्बोधन गरेर भारत भ्रमणबारे जानकारी गराउनुपर्ने मागसमेत गरे ।
‘भारत भ्रमणमा के–के भयो ?नेपाल–भारतबीचको समस्याबारे के–के ठोस कुरा भयो ? यो संसदको विशेषाधिकार हो । यो संसदले जानकारी पाउनुपर्छ । सभामुखले स्पष्ट रुलिङ गर्नुपर्छ,’ सांसद पन्तले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।