गत वर्ष भदौ १८ गते (०८०) मकवानपुरकी थाहा नगरपालिकाको–१० की पाँच वर्षीया रेजिशा गोपालीको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचारका लागि पालो कुर्दाकुर्दै मृत्यु भयो । उपचारका लागि पालो कुरेर बस्न घण्टौँ लाइन बस्नुपर्ने र अस्पतालको ओपिडी सेवा दिँउसो १ बजे बन्द हुने भएकाले उनलाई परिवारले इमर्जेन्सीमा पुर्याएका थिए । दुई घण्टासम्म कुर्दा पनि इमर्जेन्सीमा कुनै उपचार नपाएपछि साँझ ७ बजे रेजिशाले हजुरबुबाको काखमा प्राण त्याग गरिन् । रेजिशालाई उच्च ज्वरो आउने, बान्ता हुने भएपछि दिउँसो ५ बजे कान्तिको इमर्जेन्सी कक्ष पुर्याइएको थियो । तर, समयमै उपचार नगर्दा बालिकाको ज्यान गएको आफन्तले जनाएका थिए ।
कान्ति बाल अस्पताल नेपालको केन्द्रीय बाल अस्पतालका रूपमा रहेको छ । यस अस्पतालको अवस्था रेजिशाको मृत्युले पनि उजागर गरिसकेको छ । उनीजस्तै हजारौँ बालबालिका कान्ति बाल अस्पतालमा उपचारका लागि आउने गरेका छन् । कति बालबालिकाले बल्लतल्ल पालो पाएर उपचार पाउँछन् कतिको पालो कुर्दाकुर्दै उपचार नपाएर मृत्यु हुने गरेको छ । पालो नपाएकै कारण कतिपय महँगो शुल्क तरिेर निजी स्वास्थ्य संस्थामा उपचार गराउन बाध्य छन् ।
तत्कालीन सोभियत संघ सरकारको सहयोगमा वि.सं. २०१९ पुस २२ गते कान्ति बाल अस्पतालको स्थापना भएको हो । आमा कान्ति राज्यलक्ष्मीदेवी शाहको नामबाट तत्कालीन राजा महेन्द्रले कान्ति बाल अस्पताल स्थापना गरेका हुन् ।
सन् १९८४ मा तत्कालीन जापानी प्रधानमन्त्री रियोतारो हासिमोतोले भ्रमण गरेपछि प्राप्त जापानी आर्थिक सहयोगबाट अस्पतालको गुणस्तर र भौतिक संरचनामा केही सुधार भएको पाइन्छ । तर, देशभरका बालबालिका उपचारका लागि आउने भएकाले अस्पतालको स्रोतसाधन पर्याप्त हुन सकिरहेको छैन । पछिल्लो समय त अस्पतालको अवस्था कन्तबिजोज नै छ भन्दा अनुचित नहोला !
अन्य विभागमा केही सुधार भएको भए पनि शल्यक्रिया विभागमा भने कुनै परिवर्तन नभएको बताउँछन्, शल्यक्रिया विभागका प्रमुख डा. विजय थापा । १८ वर्षदेखि कान्ति अस्पतालमा काम गर्दै आइरहेका डा. थापा भन्छन्, ‘सर्जरी विभाग शय्या तथा पूर्वाधारका हिसाबले सुरुवातका दिनमा जहाँ थियो, अहिले पनि त्यहीँ नै छ ।’
०५२ सालमा ३० शय्याको सर्जरी विभाग बनाइएको र आजसम्म पनि शय्या संख्यामा कुनै परिवर्तन नभएको डा. थापाको गुनासो छ । भन्छन्, ‘ओपिडीमा करिब एकसयको हाराहारीमा बिरामी आउँछन् । शल्यक्रिया हरेक दिन १५–२० बालबालिकाको हुन्छ । त्यसकारण शय्या र पूर्वाधारको अभावमा शल्यक्रियाका लागि पालो पाउनै मुस्किल पर्छ ।’
उनका अनुसार ०५२ सालमा बनेका दुई अप्रेसन थिएटरको भरमा कान्ति चलिरहेको छ । हाल पालोमा रहेका अधिकांश केस जनरल अप्रेसन गर्नुपर्ने बढी छन् । त्यस्तै, पिसाब, पित्तथैली, हाइड्रोसिललगायत समस्याको अप्रेसनका लागि ६ महिना पालो कुर्नुपर्ने बताउँछन् डा. थापा । ‘कान्तिमा अप्रेसन कक्षको चरम अभावका कारण शल्यक्रिया अपेक्षाअनुसार नभएको हो । बीचमा इमर्जेन्सी परेमा वा समस्या परेमा तत्काल अस्पताल आउन आग्रह गरेका हुन्छौँ,’ उनले भने, ‘सर्जनहरू पर्याप्त छन्, उपकरण र थिएटर उपलब्ध भए लाइनको अवधि घटाउन सकिन्छ ।’
कान्तिमा विभिन्न रोगको शल्यक्रियाका लागि बालबालिका ०८२ असोजसम्म लाइनमा छन् । इमर्जेन्सीबाहेकका शल्यक्रिया गर्न पालोमा राखिएका यी बिरामीको स्वास्थ्यमा आउने जटिलताको कुनै हिसाब नै छैन । पर्याप्त जनशक्ति उपलब्ध भए पनि शल्यक्रियाका लागि अप्रेसन थिएटर र स्थान अभावका कारण अप्रेसनको पालो कुर्नुपरेको अस्पतालले जनाएको छ ।
कान्तिको कन्त बिजोग !
सरकारी अस्पतालमा शल्यक्रियाका लागि बिरामीले चाहेका बेला मिति पाउनु दुर्लभजस्तै छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ६१औँ वार्षिक प्रतिवेदनमा पनि सरकारी अस्पतालमा बिरामीले सेवा लिन लामो समय कुनुपर्ने अवस्था रहेको उल्लेख गरेको छ ।
देशको एक मात्र बाल अस्पताल कान्तिमा जटिल तथा हाइड्रोशिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था रहेको उल्लेख छ । ‘कान्ति बाल अस्पतालमा सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष, जटिल तथा हाइड्रोशिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था छ,’ महालेखाको प्रतिवेदनमा छ ।
विकासोन्मुख राष्ट्रको सरकारी अस्पतालको अवस्था हेर्दा देशका जनताले के महसुस गर्छन् होला, त्यसतर्फ सरकारको ध्यान गएको पाइँदैन । ठूला सरकारी अस्पतालमा शल्यक्रियाका लागि दुई वर्षसम्म पालो कुर्नुपर्ने जनगुनासो बढेपछि ०७९ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक महिनाभित्रमा लाइन घटाउन निर्देशन दिएका थिए । उनले अस्पतालको पालोमा बस्दा देखिने स्वास्थ्य जटिलता कम गर्न एक महिनाभित्र अस्पतालको लाइन नघटाए जिम्मेवार पदाधिकारीलाई कारबाही हुने चेतावनीसमेत दिएका थिए । तर, उनको चेतावनी, चेतावनीमै सीमित रहेको तथ्य कसैबाट पनि लुकेको छैन ।
कान्ति अस्पतालमा बढ्दो चापलाई कम गर्न विस्तारित स्वास्थ्य सेवा (इएचएस) सञ्चालन गर्न आवश्यक रहेको डा. थापा बताउँछन् । ‘यसका लागि एउटा अप्रेसन थिएटरका साथै वार्ड बनाइयो भने शल्यक्रियाका लागि पालो कुर्नुपर्ने समस्या केही हदसम्म कम हुन्छ,’ उनी भन्छन् ।
उनका अनुसार दुई वर्षअघि इएचएस सेवा सञ्चालन हुँदा राम्रो प्रतिक्रिया आएको थियो । यही संरचनालाई थोरै परिमार्जन गरेर इएचएस सेवा सञ्चालनमा आउँदा अस्पताल, चिकित्सक, नर्स, बिरामीलगायत सबैलाई राहत मिल्ने उनको भनाइ छ ।
तत्कालै शल्यक्रिया कक्ष बढाएर सेवा सुरु गर्दासमेत अस्पतालमा अहिले रहेको जनशक्तिले धान्न सक्ने अवस्था रहेको डा. थापा बताउँछन् । ‘तत्कालका लागि शल्यक्रिया कक्ष बढाउने, बेड संख्या विस्तार गर्ने तथा भइरहेको शल्यक्रिया कक्षलाई पुनर्निर्माण गरेमा समस्या हल हुने उनको सुझाब छ ।
यस्तै, कान्ति बाल अस्पतालमा शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने अवस्था घटाउनका लागि विस्तारित स्वास्थ्य सेवा एक विकल्प हुनसक्ने अस्पतालका मेडिकल विभाग प्रमुख डा. प्रकाश जोशी बताउँछन् । शल्यक्रियाको समय कुरिरहेका बिरामीलाई निजी अस्पताल भन्दा सस्तो विकल्प इएचएस सेवा बन्न सक्ने डा. जोशीको बुझाइ छ ।
सरकारी अस्पतालमा शल्यक्रियाका लामो समयसम्म कुर्नुपर्ने समस्याको निराकरणका लागि सरकारले तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका सचिव डा. दीपेन्द्ररमण सिंहको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो । समितिले शल्यक्रियाका लागि लामो समयसम्म कुर्नुपर्ने बाध्यतामा समस्या पहिचानका लागि अस्पतालका वरिष्ठ सर्जनहरूसँग छलफल समेत गरिसकेको जनाइएको छ । गठन गरिएको समितिले कति प्रभावकारी रूपमा काम गर्छ, त्यसको नतिजा आगामी दिनमा अवश्य नै देखिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।