पाल्पाका निजी विद्यालय सरकारीमा गाभियाे

पाल्पा - पूर्वखोला गाउँपालिका क्षेत्रभित्र सञ्चालित बोर्डिङ स्कुल सरकारीमा गाभिएकाे छ। गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभेको हो।

गाउँपालिकाले सबै विद्यार्थीलाई समान शिक्षा दिने उद्देश्यले निजी विद्यालय सरकारीमा गाभेकाे बताएकाे छ । 

गाउँपालिकाका अनुसार रिङ्नेरहस्थित पूर्वखोला बोर्डिङ स्कुल सामुदायिक विद्यालय उद्धबुद्ध माध्यमिक विद्यालयमा, वीरकोटस्थित जोनन बोर्डिङ स्कुल गणपति माविमा, जल्पामा रहेको सरस्वती बोर्डिङ् स्कुल सरस्वती माविमा, जल्पामै रहेको माउन्ट भ्यू बार्डिङ स्कुल शम्भु माविमा र देवीनगरमा रहेको चिराग बोर्डिङ स्कुल मातृभूमि माविमा गाभिएका छन्।

गाभिएका बोर्डिङमा ५ सय ८५ जना विद्यार्थी अध्ययनरत थिए। त्यस्तै सबै निजी स्कुलमा शिक्षक तथा कर्मचारी गरी ५३ जना कार्यरत थिए। ती कर्मचारी र शिक्षकको तलबभत्ता जुन–जुन सामुदायिक विद्यालयमा गाभिएका छन् तिनैले बेहोर्ने गाउँपालिकाका सूचना अधिकृत माेहन ढकालले बताए ।

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले पाँचवटा बोर्डिङ स्कुलको जग्गा, भवन र फर्निचरको मूल्य दुई करोड १५ लाख ४६ हजार निर्धारण गरिएको बताए।

अब ती सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने बताइएकाे छ । पाँच वर्षभित्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने र शिक्षामा एकरुपता ल्याउने कार्ययोजना गाउँपालिकाकाे छ । 





  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार ७:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया