सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुससँग राष्ट्रपति डोनाल्ड ट्रम्पकाे साँठगाँठबारेकाे बहुप्रतीक्षित छानबिन प्रतिवेदनकाे मुख्य भाग बिहीबार जारी भएकाे छ । ४४८ पृष्ठकाे रिपाेर्टमा ट्रम्पकाे चुनावी टिमकाे रुससँगकाे साँठगाँठ बारे क्लिन चिट दिएकाे छ ।
ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाँठ भएको भन्नेबारे कुनै प्रमाण नभेटिएको मुलरले बताएका छन्, तर न्याय प्रक्रियामा अवरोध पुर्याउने काम भएकाे थियो वा थिएन भन्ने खुला प्रश्न प्रतिवेदनले छाडिदिएको छ।
महान्याधिवक्ता विलियम बारले न्यायिक प्रक्रियामा बाधा पुर्याउने आराेपबारे ट्रम्पसँग जाेडिएका १० वटा मामिलाकाे अध्ययन गरेका थिए । पत्रकार सम्मेलनमा बोल्दै विलियम बारले ट्रम्पको चुनावी अभियान र रुसबीच कुनै साठगाँठ भएको नपाइएकोमा जोड दिए।
भनिएकाे छ ‘१७ महिनाकाे अनुसन्धान, ५०० प्रमाण, ५०० तलासी वारेन्ट, १४ लाख पेजकाे अनुसन्धान र राष्ट्रपतिकाे अभूतपूर्व सहयाेगपछि यसमा कुनै अपराधिक गल्ति छैन् ।’
मुलरले भनेका छन्, ‘प्रतिवेदनले राष्ट्रपतिले न अपराध गरेको फेला पारेको छ न उनलाई सफाइ नै दिएको छ।’
ट्रम्पले एक ट्विट गर्दै लेखेका छन् ‘न कुनै साँठगाँठ, न कुनै बाधा, खेल खत्तम ।’
— Donald J. Trump (@realDonaldTrump) April 18, 2019
अनुसन्धानकर्ता राेबर्टले करिब दुई वर्ष लगाएर अनुसन्धान गरी रिपाेर्ट तयार गरेका थिए ।
तर राष्ट्रपति ट्रम्पले पटक-पटक अनुसन्धान रोक्न खाेजेकाे र अनुसन्धानकर्ता रोबर्ट मुलरलाई हटाउन चाहेको देखिएको छ। अनुसन्धानले आफ्नो कार्यकालको अन्त्य गराउन सक्ने ट्रम्पको विश्वास रहेको पनि प्रतिवेदनले खुलासा गरेको छ।
रिपाेर्टमा लेखिएकाे छ ‘ट्रम्पले मुलरलाई पदबाट हटाउन २०१७ काे जुनमा ह्वाइट हाउसका पूर्व वकिल डन म्याकगनसँग सम्पर्क गरेका थिए ।’
डेमोक्र्याटहरूले मुलर प्रतिवेदनले राष्ट्रपति ट्रम्पको व्यवहारमाथि गम्भीर आरोप लगाएकाे बताएका छन्।
हाउस अफ रेप्रेजेन्टेटिभ्सको गुप्तचर समितिका प्रमुख एडम स्किफले राष्ट्रपति बेइमान, आचरणहीन, अनैतिक र देशभक्त नभएको बताए । न्यायको पक्षमा नभई ट्रम्पको पक्षमा काम गरेको भन्दै डेमोक्र्याटहरूले महान्यायाधिवक्ता बारको पनि कडा आलोचना गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।