प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले किसानले समयमै मलखाद पाउन नसकेका, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको, मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवाबाट नागरिक वञ्चित हुनु परेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरूले विभिन्न मुलुकबाट राजदूत फिर्ता बोलाइएको विषयमा समेत प्रश्न उठाए । सांसद मनबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारणबारे जिज्ञासा राखे । अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न उनले सरकारसँग माग गरे ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८१ को नीति तथा कार्यक्रम र बजेटमा यसलाई समेट्न नसकेको भन्दै सांसद गुरुङले असन्तुष्टि व्यक्त गरे । सांसद मनिषकुमार झाले बेलायत सरकारको सहयोगमा जनकपुर–जयनगर रेल्वेका लागि वैदेही र खजुरामा स्थापना गरिएको कारखानामा इन्जिन थन्क्याइएको उल्लेख गर्दै विभिन्न देशमा बनाइएका ती इन्जिन संरक्षण गरेर सङ्ग्रहालयमा राख्नुपर्ने सुझाव दिए ।
सांसद महेशकुमार बर्तौलाले संविधानले व्यवस्था गरेको मौलिक अधिकारमा स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित नगरिने व्यवस्था भए पनि सङ्घीय अस्पतालमा समेत सामान्य उपचार र शल्यक्रियाका लागि ९ महिनासम्म कुर्नुपर्ने अवस्थाका विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद महेश बस्नेतले इलामको माइ नगरपालिका–४ मा द्वन्द्व व्यवस्थापन गर्न निर्माण गरिएका शिविरको जग्गा संरचना प्रयोगविहीन अवस्थामा रहेकाले त्यसको उचित उपयोग गर्न आग्रह गरे । सांसद माधव सापकोटाले मनसुनको समय आएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद मुक्ताकुमारी यादवले सिरहा–धनुषा जोड्ने कमला नदीको पुल र राजमार्ग निर्माण समयमै सम्पन्न गर्न माग गरिन् । सांसद मेटमणि चौधरीले दाङको राप्ती गाउँपालिका–१ भालुवाङ बजारका बासिन्दा विस्थापित हुनु परेको उल्लेख गर्दै लालपूर्जा भएका स्थानीयवासीलाई जग्गा फिर्ता गर्न माग गरे ।
सांसद मेनकाकुमारी पोखरेलले दाङमा आपराधिक घटना न्यूनीकरण गर्न सुरक्षा निकायको ध्यानाकर्षण गराए । सांसद मैना कार्कीले मध्यपहाडी राजमार्ग निर्माणमा ध्यान दिन सरकारसँग आग्रह गरिन् ।
सांसद रघुजी पन्तले दोहोरो नागरिकता भएका कर्मचारीबारे छानबिन गर्न र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार कारबाही गर्न माग गरे । सांसद रणेन्द्र बराइलीले देशभर भएका जातीय विभेदका घटनाप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद रञ्जुकुमारी झाले शून्य समयमा सांसदहरूले सदनमा राखेका विषयको सरकारले सुनुवाइ नगरेकोमा असन्तुष्टि व्यक्त गरिन् । सांसद राजेन्द्रकुमार केसी र रामकृष्ण यादवले सरकाले विभिन्न देशमा रहेका ११ नेपाली राजदूतलाई एकैपटक फिर्ता बोलाएकाप्रति आपति जनाए ।
सांसद रामकुमार राईले खोटाङको सडकखण्ड निर्माण एवं विस्तारको काम समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद रामनाथ अधिकारीले जनप्रतिनिधिले आफ्नो दलीय र क्षेत्रीय स्वार्थबाट माथि उठेर सिङ्गो देशकै लागि सोच्न सक्नुपर्ने बताए ।
सांसद रामशङ्कर यादवले तराईमा खानेपानीको समस्या हल गर्न र किसानलाई बिउ र मलखाद समयमै उपलब्ध गराउन माग गरे । सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरे । सांसद रूपासोशी चौधरीले किसानलाई आवश्यक मल उपलब्ध गराउन माग गरे ।
सांसद रोशन कार्कीले मन्त्रीहरूले बजेट आफ्नो जिल्लामा मात्र पारेकामा आपत्ति जनाइन् । सांसद लक्ष्मी तिवारीले नेपालगञ्जस्थित विमानस्थलको सुधारको माग गरिन् ।
सांसद लालप्रसाद सावा लिम्बूले झापाको कन्काई नदीमा हुलाकी राजमार्गमा पुल निर्माण थालेको १३ वर्षमा पनि सम्पन्न नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद लालवीर चौधरीले साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानमार्फत किसानलाई मल वितरण गरिनुपर्ने माग गरे । सांसद लेखनाथ दाहालले दीर्घरोगको चुनौतीप्रति सरकारलाई सचेत गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।