logo-img

‘प्रचण्डले मेरो परिवारमा फाटो ल्याए, टीकापुर घटनामा राज्यले क्षतिपूर्तिसहित माफी माग्नुपर्छ’

नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले टीकापुर घटनामा जबरजस्ती थारुहरूलाई दोषी बनाइएको भन्दै उनीहरूलाई राज्यले उचित क्षतिपूर्ति दिएर माफी माग्नुपर्ने बताएका छन् ।

सँगै मञ्चमा आसीन गृहमन्त्री रवि लामिछानेलाई उल्लेख गर्दै चौधरीले भने, ‘टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्ति सहित राज्यले माफी माग्ने बन्दोबस्त गर्नुहोस् । हाम्रो के अपराध थियो ? जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍यायो, त्यो साढे ८ वर्ष जेलको काल कोठरीमा बस्नुपर्ने ?’  

काठमाडौंमा बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवस कार्यक्रममा चौधरीले टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताए । उनले गिरीशचन्द्र लाल नेतृत्वको आयोगमा उक्त विवरण रहेको समेत प्रस्ट पारे ।

‘टीकापुर घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ । टीकापुरको अब नाम भन्ने बेला आएको छ,’ चौधरीले भने ।
यस्तै, चौधरीले आफू र श्रीमती रञ्जिता श्रेष्ठ बीचको सम्बन्धमा समेत फाटो ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल लागेको भन्दै उनलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको भन्दै कटाक्ष गरे ।  

‘दुई–चार महिनादेखि हाम्रो घरमा आगो लगाइदिए यिनीहरूले । लोग्ने–स्वास्नीको बीचमा फाटो ल्याउन लाग्ने राजनीतिक दलले देशको विकास गर्लान् ? कस्तो नैतिकता, हाम्रो प्रधानमन्त्रीको बडा फुर्सद । प्रधानमन्त्रीलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको छ मलाई,’ चौधरीले भने ।  

यस्तै चौधरीले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरू जम्मा भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखद भएको गुनासो गरे । 
‘महाधिवेशन नै नगर्ने पार्टीहरू वैध, पुसको कठ्याङ्ग्रिने जाडोमा जनताहरू आएर गरेको महाधिवेशन अवैध ?’ उनले प्रश्न गरे ।



उनले समानुपातिक निर्वाचन प्रणाली उचित नभएको तर्क पनि गरे । थारुलाई जोगाउनुपर्ने बताएका उनले नजिस्क्याउन पनि चेतावनी दिँदै टीकापुर घटना घुसपैठ नभएर राज्यको सुनियोजित षड्यन्त्र भएको आरोप लगाए ।

उनले जेलमा आफूलाई माओवादी नेताले नै त्यसको पुष्टि गरेको उल्लेख गर्दै भने,  ‘कृष्णबहादुर महराजीले जेलमा भन्नुभएको छ, ‘एक ठाउँमा युद्ध नगरे संविधान जारी हुँदैन थियो रेशमजी, ठाउँको खोजी हुँदै थियो टीकापुर भयो, अच्छा भयो ।’ 



  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया