राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा भइरहेको यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता नेपाली खेलकुदमा नयाँ इतिहास भएको बताएका छन् ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बुधबार प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले विद्यालय स्तरबाटै खेलकुदको विकास गर्न यू–१५ विद्यालय खेलकुदको थालनी गरिएकोमा यो मानक बन्ने बताए ।
‘नेपाली खेलकुदमा पहिलो पटक १५ वर्षमुनीमा विद्यालयस्तरको प्रतियोगिता आयोजना भइरहेको छ । आ–आफ्नो प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्दै यो पहिलो प्रतियोगितामा आफ्नो नाम राख्न सफल खेलाडीहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र यहाँहरुको नाम इतिहासमा लेखिसकेको छ,’ सदस्य सचिव घिसिङले भने, ‘हामीले खेलकुदको विकासको लागि ग्रासरुट अर्थात विद्यालय स्तरका प्रतियोगितालाई गर्ने भनेको दशकौँ भइसकेको छ । के हामीले यसको सधैं परिभाषा मात्र गरिरहेका छौँरु यसलाई कार्यान्वयन गर्न आफैँले जवाफ खोज्ने बेला भएको छ । यसैको तयारी र कोसिस स्वरुप आज यु–१५ राष्ट्रिय खेलकुदको थालनी भएको छ ।’
यू–१५ विद्यालय खेलकुद नेपाली खेलकुदको जग भएको उनको भनाइ छ । ‘नेपाली खेलकुदको जग विद्यालय खेलकुदलाई प्रभावकारी ढंगले अगाढि बढाउँदै नयाँ प्रतिभाहरुलाई अवसर दिनुपर्छ । त्यसैले यो खेलको आफ्नै महत्व छ । यसको उदेश्य ठूलो छ,’ उनको भनाइ छ ।
घिसिङले नेपाली खेलकुदमा यू–१५ विद्यालय खेलकुदले नेपाली खेलकुदमा नयाँ बेन्चमार्क सेट गर्ने उनको दाबी थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।