logo-img

नेकपा एस : केन्द्रीय नेता जोगाउन स्वतः महाधिवेशन प्रतिनिधि !

नेकपा एकीकृत समाजवादीको दसौँ महाधिवेशन आगामी असार १६ देखि २० मा काठमाडौंमा हुँदै छ । अहिले महाधिवेशन तयारीका लागि विभिन्न बैठक चलिरहेका छन् । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकायका नेता स्वतः प्रतिनिधि हुनेगरी प्रस्ताव गर्ने निर्णय गरेको छ । यसअघिको केन्द्रीय परिषद् बैठकले केन्द्रीय नेताहरू तलैबाटै प्रतिनिधि चुनिएर आउनुपर्ने निर्णय गरेको थियो । 

यसो गर्दा कतिपय केन्द्रीय नेता वडा तहमा नै हार्ने देखिएपछि केन्द्रीय परिषद् बैठकको निर्णयलाई उल्ट्याउँदै उनीहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने गरी प्रस्ताव गर्ने निर्णय भएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यसबारे निर्णय भइनसकेको अहिले प्रस्ताव मात्र गरिएको बताए । 

यो प्रस्ताव महाधिवेशनको हलबाट पारित भएपछि लागू हुने खतिवडाको भनाइ छ । उनका अनुसार प्रस्ताव पारित भए तीनवटा केन्द्रीय आयोगका सदस्यहरू पनि स्वतः प्रतिनिधि हुनेछन् । खतिवडाले भने, ‘व्यवहारिक रूपमा व्यवस्थापनका समस्याहरूलाई समेत मध्यनजर गरी आयोजक केन्द्रीय कमिटी सदस्यहरू प्रतिनिधि बन्ने परम्परा विधिगत मान्यता र कार्यकर्ताको सुझावलाई दृष्टिगत गरी पार्टी यो निर्णयमा पुगेको हो ।’  

अरूका हकमा विभिन्न कलस्टर र निर्वाचन क्षेत्रबाट चुनिएर आउने व्यवस्था कायमै रहेको पनि बताए । जसमा आम कार्यकर्ता १२५ बराबर १ जना प्रतिनिधि चुनिनेछन् । त्यसमा दलित, युवा महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको खतिवडाले बताए । 

केन्द्रीय तहका नेताहरु तलबाट निर्वाचित भएर आउन नसक्ने भएकाले अघिल्लो निर्णयबाट नेताहरू पछि हटेको भन्दै पार्टीभित्रै असन्तुष्टि सुरु भएको छ । 

यसअघि नेपाली कांग्रेसको महाधिवेशनमा पनि केन्द्रीय नेता जोगाउनका लागि उनीहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाइएको थियो । महासमिति बैठकले सबै नेता वडा तहदेखि नै चुनिएर आउनुपर्ने प्रस्ताव पारित गरेको थियो । तर, महासमिति बैठकको निर्णयलाई केन्द्रीय समितिले उल्ट्याएको थियो । 





  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया