logo-img

वेस्ट इण्डिजद्वारा न्यूजिल्याण्डलाई १५० रनको लक्ष्य, रदरफोर्डको आक्रामक ब्याटिङ

आइसिसी टी–२० विश्वकप क्रिकेटमा आयोजक वेस्ट इण्डिजले न्यूजिल्याण्डलाई १ सय ५० रनको लक्ष्य दिएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनायो । 

उसका लागि शेर्फेन रदरफोर्डले अर्धशतकीय पारी खेले । ३९ बलको सामना गरेका उनले ६ छक्का र २ चौकासहित अविजित ६८ रनको पारी खेलेका हुन् । टी–२० आईमा रदरफोर्डको यो दोस्रो अर्धशतक हो ।

यस्तै, निकोलस पूरनले १७, अकिल होसेनले १५, आन्द्रे रसेलले १४ र रोमारियो शेफर्डले १३ रन जोडे । वेस्ट इण्डिजले आज निकै खराब सुरुवात गरेको थियो । उसले ७ ओभरमा ३२ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो । त्यो स्थिति हेर्दा वेस्ट इण्डिज सस्तैमा समेटिने अनुमान थियो । तर, रदरफोर्डले आक्रामक ब्याटिङ गर्दै टिमलाई १ सय ४९ रनको स्कोरमा पुर्याए ।  

बलिङमा न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले तीन तथा टिम साउथी र लकी फर्गुसनले दुई/दुई तथा जेम्स नीशम र मिचेल सान्टनरले एक/एक विकेट लिए ।  



समूह ‘सी’ मा रहेको वेस्ट इण्डिजले दुई खेलबाट दुई अंक जोडेको छ । उसले पहिलो र दोस्रो खेलमा क्रमशः पपुवा न्यूगिनी (पिएनजी) र युगान्डालाई हराएको थियो । वेस्ट इण्डिज अहिले चार अंकसहित दोस्रो स्थानमा छ ।



अंकविहीन न्यूजिल्याण्ड पुछारमा छ । ऊ पहिलो जितको खोजीमा छ । न्यूजिल्याण्डले पहिलो खेलमा अफगानिस्तानसँग ८४ रनको फराकिलो हार बेहोरेको थियो ।  

  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया