आयोजक वेस्ट इण्डिज आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर एटमा प्रवेश गरेको छ । समूह ‘सी’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा न्यूजिल्याण्डलाई १३ रनले हराउँदै वेस्ट इण्डिज एक खेलअगावै सुपर एटमा प्रवेश गरेको हो ।
वेस्ट इण्डिजले पहिलो र दोस्रो खेलमा क्रमशः पपुवा न्यूगिनी (पिएनजी) र युगान्डालाई हराएको थियो । लगातार दोस्रो हार बेहोरेको न्यूजिल्याण्डको सुपर एट सम्भावना कमजोर बनेको छ ।
तेस्रो खेलमा वेस्ट इण्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।
उसका लागि ग्लेन फिलिप्सले ३३ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४० रन बनाए । यस्तै, फिन एलेनले २६, मिचेल सान्टनरले अविजित २१, डारियल मिचेलले १२, रविचन रवीन्द्र र जेम्स नीशमले १०/१० रन जोडे । वेस्ट इण्डिजका लागि अल्जारी जोसेफले चार, गुडागेश मोतीले तीन, आन्द्रे रसेल र अकिल होसेनले एक/एक विकेट लिए ।
त्यसअघि ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनायो ।
उसका लागि शेर्फेन रदरफोर्डले अर्धशतकीय पारी खेले । ३९ बलको सामना गरेका उनले ६ छक्का र २ चौकासहित अविजित ६८ रनको पारी खेलेका हुन् । टी–२० आईमा रदरफोर्डको यो दोस्रो अर्धशतक हो ।
यस्तै, निकोलस पूरनले १७, अकिल होसेनले १५, आन्द्रे रसेलले १४ र रोमारियो शेफर्डले १३ रन जोडे । वेस्ट इण्डिजले आज निकै खराब सुरुवात गरेको थियो । उसले ७ ओभरमा ३२ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो । त्यो स्थिति हेर्दा वेस्ट इण्डिज सस्तैमा समेटिने अनुमान थियो । तर, रदरफोर्डले आक्रामक ब्याटिङ गर्दै टिमलाई १ सय ४९ रनको स्कोरमा पुर्याए ।
बलिङमा न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले तीन तथा टिम साउथी र लकी फर्गुसनले दुई/दुई तथा जेम्स नीशम र मिचेल सान्टनरले एक/एक विकेट लिए । समूह ‘सी’ मा रहेको वेस्ट इण्डिजले तीन खेलबाट ६ अंक जोडेको छ ।
वेस्ट इण्डिजले पहिलो र दोस्रो खेलमा क्रमशः पपुवा न्यूगिनी (पिएनजी) र युगान्डालाई हराएको थियो । आजको जितपछि वेस्ट इण्डिज तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अंकविहीन न्यूजिल्याण्ड भने पुछारमा छ । उसले पहिलो खेलमा अफगानिस्तानसँग ८४ रनको फराकिलो हार बेहोरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।