गत वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यका र देशभर डेंगु संक्रमण बढ्ने देखिएको छ । याे वर्ष देशभर गर्मी निकै बढेकाले लामखुट्टे व्यापक रूपमा सक्रिय हुन थालेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को विवरणअनुसार जेठ २८ गतेसम्म काठमाडौं जिल्लामा मात्रै डेंगुका बिरामी एकसय १४ जना पुगेका छन् ।
काठमाडौंमा मात्रै होइन, यतिखेर ललितपुर र भक्तपुरमा पनि डेंगुका संक्रमित देखिन थालेका छन् । इडिसिडीको पछिल्लो विवरणअनुसार हाल ललितपुरमा २४ जना संक्रमित छन् भने भक्तपुरमा २७ जना संक्रमित रहेका छन् ।
हाल देशभरका ७१ वटा जिल्लामा एक हजार १३० जना संक्रमित रहेकोमा काठमाडौंमा सबैभन्दा धेरै संक्रमित रहेका हुन् । हाल काठमाडौं जिल्लाको संक्रमणदर १० प्रतिशतभन्दा बढी रहेको छ भने काठमाडौंपछि सबैभन्दा धेरै संक्रमणदर झापामा छ । झापामा हालसम्म एकसय ११ जना संक्रमित भेटिएका छन् भने संक्रमणदर पनि ९.९ प्रतिशत रहेको छ । यसरी हेर्दा यो वर्ष काठमाडौं उपत्यकामा डेंगुको जोखिम बढ्दै जाने अनुमान गर्न सकिन्छ ।
यतिखेर काठमाडौंमा संक्रमितहरू अस्पताल पुग्नेको संख्या पनि बढ्न थालेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पछिल्लो एक सातायता डेंगुका बिरामीसमेत अस्पतालमा बढेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार डेढ साताअघिसम्म फाट्टफुट्ट आउने डेंगु संक्रमितहरू अहिले दैनिक ३–४ जनासम्म संक्रमित उपचारका लागि पुग्ने गरेका छन् ।
यस्तै, ओपिडी विभागमा सेवा लिन पुग्ने बिरामीको पनि चाप बढिरहेको छ । तर, अस्पताल पुग्ने सबैमा डेंगु मात्रै नभएर भाइरल संक्रमण तथा झाडापखालाका बिरामी समेत हुने अस्पतालले जनाएको छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पछिल्लो केही सातायता काठमाडौंमा डेंगु संक्रमणका बिरामी वृद्धि भएको बताउँछन् । उनी भन्छन्, ‘मनसुनमा विभिन्न रोगको संक्रमण देखिन्छ । बर्खामा लाग्ने कीटजन्य रोगमा मुख्यगरी डेंगु र स्क्रब टाइफस हो ।’
उनका अनुसार नेपालमा पछिल्लो समय वर्षभर नै डेंगुको प्रकोप देखिएको छ । गर्मी र बर्खामा मात्रै डेंगुको प्रकोप देखिने गरेकोमा पछिल्लो समय वर्षभर नै देखिन थालेको हो । यसो हुनुमा जलवायु परिवर्तन अनुसार लामखट्टेले पनि आफ्नो शरीरलाई वातावरण अनुकूल बनाएको चिकित्सकको भनाइ छ ।
सन् २०२३ जनवरी देखि डिसेम्बरसम्म देशभर ५१ हजार २३४ संक्रमित भेटिएका छन् । र, यो समयमा २० जना संक्रमितको मृत्युसमेत भएको छ । सन् २०२२ मा काठमाडौंमा जस्तै गतवर्ष सुनसरी (धरान)मा संक्रमण फैलिएको थियो । अघिल्लो वर्ष सुनसरीमा (१६ हजार १७४ जना संक्रमित) व्यापक रूपमा डेंगु फैलिएको थियो ।
सन् २०२२ मा काठमाडौं उपत्यकामा डेंगुले महामारीकै रूप लिएको थियो । साउनदेखि फैलिएको डेंगु असोज र कात्तिकको दोस्रो हप्तामा तीव्र रूपमा डेंगुका बिरामी भेटिएका थिए । यसबेला ५४ हजार ७८४ जना डेंगुबाट संक्रमित भएका थिए । काठमाडौं जिल्लामा सबैभन्दा धेरै १४ हजार ३७६ जनाभन्दा बढी डेंगुका बिरामी पुष्टि भएका थिए । संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए ।
यो वर्ष काठमाडौंमा डेंगु संक्रमण बढ्ने आकलन
संसारभर डेंगु संक्रमणको प्रवृत्ति हेर्दा एक वर्ष तीव्र रूपमा संक्रमण फैलिएको ठाउँमा एक–दुई वर्षसम्म खासै संक्रमण देखिँदैन । त्यसपछि पुनः संक्रमण फैलिएको देखिने विज्ञहरूले बताउँदै आएका छन् । सोहीअनुरूप हालको संक्रमणदर हेर्दा काठमाडौंमा यो वर्ष डेगु संक्रमण अलिक बढी देखिने अनुमान जनस्वास्थ्यविद्ले गरेका छन् ।
हाल इडिसिडीले काठमाडौंमा स्थानीय सरकारसँगको समन्वयमा डेंगु रोकथामका उपायबारे अन्तरसंवाद गरिरहेको इडिसिडीका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए । संक्रमण फैलिन नदिन बेलैमा रोकथामका उपाय तीव्र रूपमा अवलम्बन गर्न स्थानीय सरकारसँग विभिन्न चरणमा छलफल गरिरहेको उनको भनाइ छ ।
मुख्यगरी एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण पहिलोपटक नेपालमा एक विदेशीमा सन् २००४ मा चितवनमा देखिएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । त्यसयता डेंगु रैथाने रोगजस्तै बनेको छ । हरेक वर्ष बर्खाको समयमा जनस्वास्थ्यको ठूलो समस्याको रूपमा देखा पर्न थालेको छ ।
नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायत जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो । नेपालमा पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि संक्रमण बढ्ने गरेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ, ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगु फैलिन्छ ।
अबको एक महिना संक्रमण बढ्ने हुँदा घरबाहिर निस्कँदा पूरा बाहुला भएको कपडा लगाउन, झुल टाँगेर सुत्न र खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र झ्यालढोकामा जाली हाल्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
यसका साथै घरवरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझबिहान करेसाबारीमा जाँदा, घर बाहिर जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रहसमेत गरेको छ ।
६९ जिल्लामा फैलियाे डेंगु संक्रमण
नेपालमा ६९ वटा जिल्लामा डेंगु संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार सन् २०२४ को सुरुदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा एक हजार १०५ जनामा डेंगु संक्रमण देखिएको छ ।
जसमध्ये सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा डेंगु संक्रमण पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ३८९, कोशी प्रदेशमा २६४ जनामा पुष्टि भएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।
यस्तो छ डेंगु संक्रमणबारे रोचक तथ्य
डेंगु संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट मात्रै डेंगु संक्रमण फैलने अध्ययनहरुले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ ।
डेंगु संक्रमित चारमध्ये एक व्यक्तिलाई निकै नै गाह्रो बनाउने गरेको छ । यसमध्ये सबैमा देखिने एउटा लक्षण भनेको ज्वरो आउने हो । यसबाहेक वान्ता हुने, चिलाउने, विशेषगरी आँखा, मांसपेसी र जोर्नीमा अत्यधिक दुखाइ हुने हुन्छ ।
डेंगु संक्रमित अधिकांश मानिस एक सातामा ठिक भएका छन् । तर, हरेक २० संक्रमितमध्ये एक जनामा भने यसले गम्भीर रुप लिएको छ । यस्ता व्यक्तिमा आन्तरिक रक्तपात, बेहोस र मृत्यु समेत हुने गरेको छ । यसकारण डेंगुबाट बच्ने सबैभन्दा उपयुक्त विधि भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।
डेंगुसम्बन्धी अनौठा तथ्यहरू
– डेंगु भाइरस इजिप्टाइ र एइ अल्बोपिक्टस भाइरसको टोकाइबाट मात्रै सर्छ ।
– एउटा व्यक्ति आफ्नो जीवनकालमा बढीमा चारपटकसम्म मात्रै डेंगुबाट संक्रमित हुन्छ ।
– डेंगु संक्रमणको जोखिमयुक्त ठाउँहरूमा अन्य रोग लाग्ने प्रमुख कारण पनि डेंगु नै हो ।
– हालसम्म जोखिमयुक्त ठाउँका ९ देखि १६ वर्षका बालबालिकालाई मात्रै डेंगु संक्रमणविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ । यस्ता जोखिमयुक्त केही ठाउँ अमेरिकाभित्रैका छन् । यो भ्याक्सिन अमेरिकी घुम्न आउनेहरूका लागि दिइएको छैन ।
– हरेक वर्ष विश्वका ४० करोड मानिस डेंगु संक्रमणबाट प्रभावित हुने गरेका छन् । डेंगु जोखिमयुक्त ठाउँ भ्रमण गरेर फर्किने र बस्ने हरेकजसोलाई यो संक्रमण हुने गरेको तथ्यांक छ ।
बच्ने उपाय
– लामखुट्टेको टोकाइबाट जोखिनु नै डेंगुबाट बच्ने सबैभन्दा भरपर्दो र उपयुक्त उपाय हो । यसबाहेक लामखुट्टेको टोकाइबाट जोगिने केही मलम समेत उपलब्ध छन् ।
– शरीर ढाक्ने गरी कपडा लगाउने ।
– घरमा रहदा र घरबाहिर घुम्दा पनि बालबालिकालाई लामखुट्टेबाट जोगाउने । जसका लागि झ्याल ढोकामा आवश्यक मात्रामा जाली र झुलको प्रयोग गर्ने ।
– हप्ताको एक पटक घर र आसपासको सरसफाइ गर्ने । खाल्डोमा जमेको पानी हटाउने, टायर, भाडा वर्तन, पौडी पोखरी, जस्ता पानी जम्ने सामान हटाउने ।
– यदि तपाई वा तपाइँको परिवारमा कसैलाई डेंगु भएको छ भने सकेसम्म पहिलो एक साता लामखुट्टेको टोकाइबाट बच्नुहोस् । किनकि तपाइँलाई टोकेको लामखुट्टेले पुनः अर्को व्यक्तिलाई टोकेमा संक्रमण सर्न सक्छ ।
गर्मी सुरुसँगै बढ्न थाले डेंगुका बिरामी
डेंगु संक्रमण : ८० प्रतिशतलाई देखिँदैन लक्षण, दोस्रोपटक डेंगु भएमा झनै खतरा
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।