logo-img

धार्मिक शास्त्रमा नै परिवर्तन नगरेसम्म जातीय विभेद अन्त्य हुँदैन : डा. भट्टराई
'मेरो नाम बाबुराम कामी भन्नुस् भनेर संसदमा नै भनेको थिएँ'

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताएका छन् । जातीय विभेद अन्त्यको लडाइँ लामो भएको उनको भनाइ छ । जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा मात्र नभएर यसमा धार्मिक शास्त्रको पनि आड रहेको उनको दाबी छ । उनले भने, ‘धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन, दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन सम्भव छैन ।’

बिहीबार दिउँसो पत्नी हिसिला यमीसहित फिल्म ‘पुजार सार्की’ हेरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । जातीय विभेद अन्त्यका लागि राज्यले गर्ने पहलमा धर्मगुरुहरूले नै साथ दिनुपर्ने उनले बताए । ‘म आफैँले पनि मेरो नाम बाबुराम कामी भन्नुस् भनेर संसदमा नै भनेको थिएँ, यो फिल्मको पुजारीले पनि आफ्नो नाम पुजार सार्की लेख्नुभएको छ । यस्तो समस्यामा एक व्यक्तिले नाम मात्र लेखेर हुँदैन, राज्य र धर्मगुरुहरूले नै साथ दिनुपर्छ,’ उनले भने ।

के भनेका थिए संसदमा ?

डा.भट्टराईले चार वर्षअघि ०७७ जेठ १७ मा संसदमा सम्बाेधन गर्दै दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना नाम थर परिवर्तन गर्न प्रस्ताव गरेका थिए । ‘तपाईं हामी सबैले दलित नाम राखिदिउँ न । जस्तै बाबुराम भट्टराई कामी लेख्दिउँँ,'उनले भनेका थिए । एउटा विश्वकर्मा लेखौँ । सबैले गरौँ ।' 

दलित भन्ने शब्द प्रयोग गर्ने वा नगर्नेबारे छलफल हुन सक्ने बताउँदै डा.भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम गर्ने वर्गलाई दलित भनेर हेपिएको र श्रम, सीप भएको वर्गलाई हेपेपछि देशको विकास हुन नसक्ने बताएका थिए । त्यसबेला उनकाे उक्त भनाइलाई​ लिएर विभिन्न टीकाटिप्प्णी भएका थिए ।

त्यतिबेला रुकुममा प्रेम सम्बन्धका कारण नवराज विकलगायत युवाहरूकाे हत्या भएकाे थियाे । साे प्रसंग उल्लेख गर्दै उनले भनेका थिए, 'रुकुममा जे भयो परिकल्पना पनि गर्न सकिन्न । त्यत्रो क्रान्तिको आधार इलाकामा यस्तो प्रतिक्रान्तिकारी हर्कत हुन्छ भने यसरी सामाजिक न्याय हुँदैन ।’



‘म त यसैका निम्ति जिन्दगीभर लागिराखेको मान्छे हुँ । फिल्म हेर्दा भावुक भएँ, कतिपय प्रसंग आफैँसँग पनि मिलेको पाएँ,'बिहीबार उनले भने, 'यो लामो लडाइँ हो । जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदै छ, यसमा धार्मिक शास्त्रको पनि आड रहेको छ ।’

दोस्रोपटक फिल्म हेर्न पुगेकी हिसिलाले राजनीतिकर्मीले फिल्मको पात्र मेघराजले लिएको जस्तै विचारको अडान लिनुपर्ने बताइन् । ‘प्रधानमन्त्री प्रचण्ड ‘मेघराज’ जस्तो हुनुपर्ने तर के भइदिनुभयो हामीलाई थाहै छ,’ उनले भनिन् ।



फिल्मका लेखक विकास सुवेदीले पूर्ण रूपमा कम्युनिष्ट आन्दोलनमा रहेकाहरूकै कथा नभए तापनि कहीँ न कहीँ उनीहरूबाट नै प्रभावित पात्रहरू यो फिल्ममा रहेको बताए ।

  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया