logo-img

जिउधनको सुरक्षा माग गर्दै पूर्वगृहमन्त्री जोशीका छोरा दीपकले दिए तनहुँ जिप्रकामा निवेदन

पूर्वगृहमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले आफ्नो जिउधनको सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिएका छन् । दीपक गत स्थानीय निर्वाचनका बेला मतदान केन्द्रको अनुगमनका क्रममा एक समूहको सांघातिक आक्रमण परेका थिए । अहिले पुनः जिउधनको खतरा रहेको भन्दै उनले बिहीबार जिल्ला प्रशासन गुहारेका हुन् ।  

दीपक २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तनहुँको व्यास नगरपालिकाका प्रमुख (मेयर) पदमा उम्मेदवार थिए । निर्वाचनमा उनी पराजित भए । व्यास नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद नेपाली कांग्रेसले जितेको थियो । अहिले नगरप्रमुखमा वैकुण्ठनाथ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै छन्।  उनले चुनावी मतगणनामा धाँधली भएको भन्दै मुद्दासमेत हालेका थिए । 

दीपकराजले आफूमाथि खतरा रहेको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराउँदा पनि कुनै सुनुवाइ नभएको निवेदनमा उल्लेख गरेका छन् । उनले निवेदनमा लेखेका छन्,‘ मैले स्थानीय चुनावको मतगणना धाँधली भयो भनेर हालेको मुद्दाको सुनुवाइ अन्तिम चरणमा भएको अवस्था छ । यही असार २ गते व्यास नगरपालिकाको मेयर पदको पुनःमतगणना हुने भनेर पोखरा उच्च अदालतले आदेश दिएको छ ।’ 

अहिले पुनः मतगणनाको समयमा भय–त्रास र धम्कीको अवस्था झनै थपिएको उल्लेख गर्दै उनले निवेदनमा भनेका छन्,‘ स्थानीय तह निर्वाचनको समयमा घटेको गतिविधि दोहोरिन सक्ने अवस्था विद्यमान रहेको हुँदा म र मेरो परिवारको सदस्यको जिउधनको सुरक्षा गरी पूर्ण मतगणना नभइन्जेलसम्म भयरिहत शान्तिपूर्ण वातावरणमा हिँडडुल गर्न पाउने शान्तिसुरक्षाको वातावरण मिलाइपाऊँ ।’

निवेदनमा उनले राष्ट्रिय मानवअधिकार आयोगको मुख्यालय, आयोगकै प्रदेश कार्यालय गण्डकी, हेल्लो सरकार, निर्वाचन आयोग र गण्डकी प्रदेश प्रहरी कार्यालयलाई बोधार्थ दिएका छन् । दीपकराजको निवेदनमाथि जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गरेर पत्र लेखेका छन् । पत्रमा उनलाई शान्ति सुरक्षा प्रयोगार्थ मात्र आवश्यक कारबाही गर्न भनिएको छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया