आइसिसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘सी’ बाट सुपर एटमा पुग्ने दुवै टिमको टुंगो लागेको छ । वेस्टइन्डिज यसअघि नै तीन खेल जित्दै सुपर एटमा पुगी सक्दा शुक्रबार भएको खेलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ७ विकेटको जित निकाल्दै अफगानिस्तानले पनि सुपर एटमा स्थान पक्का गर्न सफल भयो । योसँगै न्युजिल्याण्ड, युगान्डा र पीएनजी प्रतियोगिताबाट बाहिर भएका छन् ।
अफगानिस्तान र वेस्टइन्डिज दुवै टिमले समान तीन–तीन जित निकाल्दा रनरेटका आधामा अफगानिस्तान शीर्ष स्थानमा रहेको छ । अब यी दुईको समूह चरणको अन्तिम खेलबाट पहिलो र दोस्रो टिमको टुंगो लाग्ने छ ।
अफगानिस्तानले शुक्रबार पीएनजीलाई ७ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको पिएनजीले १९.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो । किप्लिन डोरिगाले सर्वाीधक २७ रन बनाउँदा एले नओले १३ रन जोडे । यस्तै ओपनर टोनी उराले ११ रन बनाउँदा अरूले दोहोरो अंकमा स्कोर गरेनन् । तीन खेलाडीले खाता खोल्न असफल रहे ।
अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट लिँदा नभिन उल हकले २ विकेट हात पारेका थिए । नुर अहमदले एक विकेट लिँदा पीएनजीका चार खेलाडी रनआउट भए । ९६ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानको सुरुआत भने खराब रहेको थियो । ८ रन हुँदा इब्राहिम जर्दान खाता नै नखोली आउट भएका थिए । त्यसपछि २२ रन हुँदा अर्का ओपनर रमनुल्लाह गुर्वाज ७ बलमा ११ रन बनाएर आउट भए ।
गुलावद्दिन नइब र अज्मतुल्लाह ओमरजाइले पारि सम्हालेका थिए । ८.४ ओरभमा ५५ रन बनेका बेला अज्मतुल्लाह १३ रन बनाएर आउट भए । गुलावदिन र मोहम्मद नावीले अन्त्यमा अफगानिस्तानलाई जिताए । गुलावदिनले ३६ बलमा ४९रनको नटआउट पारि खेल्दा दुई छक्का र चार चौका प्रहार गरे । यसै गरी नावीले २३ बलमा १६ रनको नटआउट पारि खेल्दा एक चौका प्रहार गरेका थिए ।
पिएनजीका एले नाओ, सिमो कामेरा र नोर्मान भानुआले एक एक विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।