स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफूसँग भएको स्रोत, साधन, क्षमता र प्रविधिलाई अधिकतम उपयोग गरेर सेवा प्रदान गरेको बताएका छन् ।
आज अस्पतालको निरीक्षण तथा अनुगमन गर्दै उनले देशभरिबाट क्यान्सर अस्पतालमा उपचारमा आउने बिरामीलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नुपर्ने बताए । ‘क्यान्सरका बिरामी यहाँ उपचार गर्न आउनुहुन्छ, अस्पतालमा कुनै प्रकारको विभेद गरियो भन्ने मैले सुनेको छैन,’ मन्त्री यादवले भने, ‘बिरामी दिनदिनै बढिरहेको छ । बिरामी बढेपछि शय्या बढाउनुपर्छ । तर, जनशक्ति छैन भने त्यो बिरामीलाई हेरचाह कसले गर्ने ?’
मन्त्री यादवले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विषयमा प्रधानमन्त्रीसँग पनि छलफल भएको जनाउँदै उनले यसबारेमा प्रधानमन्त्री पनि सकारात्मक भएको बताए ।
मन्त्री यादवले सुर्तीजन्य पदार्थबाट लिएको कर स्वास्थ्य मन्त्रालय र क्यान्सर अस्पतालको भएको उल्लेख गरे । उनले यस अस्पताललाई एक हजार शय्याको अस्पताल बनाउने लक्ष्यमा आफ्नो र मन्त्रालयको साथ र सहयोग रहने जानकारी दिए ।
सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालको परिचय, उद्देश्य, अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालमा उपचार गर्न आउने बिरामीको सङ्ख्याको बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए ।
कार्यक्रममा चितवन–१ का सांसद हरि ढकाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, अस्पतालका अध्यक्ष तथा विभागीय प्रमुखको सहभागिता रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।