logo-img

प्रचण्डको दाबी : पार्टीभित्र प्रत्यक्ष निर्वाचन हुन्छ, मनोनयन प्रणाली अन्त्य गर्छौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रको विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताएका छन् । 

अनेरास्ववियू (क्रान्तिकारी) को चौथो पूर्ण बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताए । ‘विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।’ उनले नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने बताए । 

‘हामी कमजोर छैनौँ, पार्टीको जनमत बढ्दैछ । पार्टी क्रमशः बलियो हुँदै गएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी एकताबद्ध हुँदा धेरै कुरा जित्न सकिन्छ, त्यसैले उच्च मनोबलका साथ जनतासँग एकाकार भएर काम गर्नु हाम्रो जिम्मेवारी हो ।’

पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुति निकै शक्तिशाली भएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालले विश्वलाई शक्तिशाली सन्देश दिएको बताए ।

माओवादी निर्णायक शक्ति भएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने, ‘कतिलाई लाग्छ– माओवादीले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँछ कि ! तर, यथार्थ त्यस्तो हुँदैन, हेर्दै जानुहोला माओवादी नै निर्णायक हुन्छ । हामी नै राजनीतिको केन्द्रमा रहन्छौं ।’  





  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया