उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आज निरीक्षण गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका बाबजुद उत्कृष्ट कार्यसम्पादन गर्दै आएका ट्राफिक प्रहरीलाई पनि प्रविधिको उपयोगले थप सहज बनाउने बताए । उनले प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन र आफ्नो कामप्रति जवाफदेही हुन निर्देशन दिए ।
गृहमन्त्री लामिछानेले ट्राफिक प्रहरीले प्रचलित कानुन कार्यान्वयनमा कडारूपमा प्रस्तुत हुनुपर्ने बताए । ‘ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन, एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले ट्राफिक जाँचलाई अझ प्रभावकारी बनाइ लागुपदार्थ सेवन (लापसे), मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोला,’ उनले भने ।
कार्यसम्पादनका क्रममा फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवं बालबालिकालाई विशेष ध्यान दिन पनि उहाँले आग्रह गरे । गृहमन्त्री लामिछानेले प्रतिकूल अवस्थाका बाबजुद सडकमा खटिँदा ट्राफिक प्रहरीले भोग्नुपरेका शारीरिक र मानसिक समस्या सम्बोधनका लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उल्लेख गरे ।
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले ट्राफिक प्रहरीले भोग्नुपरेका समस्या निराकरणका लागि मन्त्रालय सदैव कटिबद्ध रहेको बताए । ट्राफिक प्रहरीले सडकमा खटिँदा विभिन्न समस्या झेल्दै कार्य गर्दै आइरहेकामा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा थप सहजता ल्याउन सकिने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।